ताजा अपडेट »

चुपचाप चुपचाप...

प्रसङ्ग : पत्रकार महासंघ, पाल्पा शाखाको ११ औं अधिवेशन

विहीबार, ०३ जेठ २०८१, १७ : १४
348 Shares
विहीबार, ०३ जेठ २०८१
348 Shares

शरीरलाई खासै सञ्चो थिएन । तैपनि नेपाल पत्रकार महासंघ, पाल्पा शाखाका सचिव यज्ञमूर्ति तिमिल्सेनाले शाखाको ११ औं अधिवेशनमा तानसेन आउनु पर्ने निम्तो दिएपछि नजान मनले मानेन । बैसाख महिनाको अन्तिम दिन ३१ गते, सोमबार बुटवलबाट बस चढेर कार्यक्रम हुने समय सोध्दा त सवा १२ बजे भन्ने थाहा लाग्यो । मोटर गोलपार्क, सिद्धबाबा, दोभान, झुम्सा, केराबारी, जोरधारा हुँदै गौडेपुल नजिकै छिनभरका लागि रोकियो ।

११ बज्दै गर्दा म होलाङ्दीमा झरें । एसआरडीसी नेपालको अफिसमा पसेर चोपालाल गिरी दाइसँग एकछिन सहकारीका बारेमा छलफल भयो । दाइले यो वर्ष सहकारीलाई गतिशील बनाएर लैजान घरदैलो र टोलटोलमा सहकारी शिक्षा दिने निर्णय भएको र मसँग पनि सहयोगको अपेक्षा गरे । सहकारीको नयाँ विनियम बनाएर तिनाउ गाउँपालिकाबाट स्वीकृति लिएको पनि सुनाए । केहीवेरको भलाकुसारीपछि  डिभिजन वन कार्यालयतिर पुगें । रामचन्द्र लामा, संजोग बस्नेत, यम सागर र वरिष्ठ डभिजनल वन अधिकृत नारायण सरसँग पनि भेट भयो । डढेलोबाट मुक्ति पाउन सकिएकोमा लामो सास तान्दै थिए । बैसाख अन्तिमतिरको पानीले डढेलो रोकेकोमा सबै खुसी देखिन्थे ।

पत्रकार यज्ञमूर्तिको फोन आयो–दाइ कता हो र ढिला हुन थाल्यो नि ? त्यतिबेला सवा १२ बज्दै थियो । वन अफिसका साथी मनोजले पत्रकार महासंघको कार्यालय नजिकै मलाई छाडिए दिए भटभटेमा । म त्यहाँ पुग्दा पत्रकार साथीहरु जम्मा हुँदै थिए ।  प्रमुख अतिथि बन्न आइपुगेका रहेछन् शाखाका संस्थापक सभापति मेघराज शर्मा । साथीहरुले भुटुवा भुटेका पनि रहेछन् । भुटुवासँग चिउरा रन्काइयो । हल्का डढेको कारण भुटुवाको खास स्वादमा फरक भेटियो ।  कलम चलाउने पत्रकारहरुले डाडु चलाउँदा खासै भर नपाएको हुन सक्ने मेरो ठम्याई रह्यो ।

पौने एक बजे कार्यक्रमले औपचारिकता पायो । शाखा सभापति रिखीराम रानाको अध्यक्षताबाट सुरु भएको आसन ग्रहणको लिष्ट कर्णालीमा नून थाप्नेहरुभन्दा कम भेटिनँ । आसनग्रहण त कूर्चिमा बसेपछि हुन्थ्यो तर नामै लिएर भन्नु पर्ने पुरानो हाम्रो रोगको पुनरावृत्ति पत्रकार महासंघ, पाल्पामा पनि नछुटेको देख्दा उदास लाग्यो । परिवर्तन चाहने पत्रकारहरु परिवर्तनको नाममा रुमलिएको देख्दा अचम्म लाग्यो ।

बोल्ने वक्ताहरुले अतिथिको नामै लिएर, अनेक विशेषण लगाएर बोलेको सुन्दा त मलाई झनै वाक्क लाग्यो । कति गुलाम गर्छन् ? कति तारिफ गर्छन है ? कामको प्रशंसा गर्ने बानी बसालौं । ब्यक्तिको भजनकीर्तन गर्ने बानी राम्रो हुँदै होइन । यस्तो व्यवहारले पत्रकारहरुको वृत्तिविकास सम्भव हुँदैन । एकले अर्कालाई चिनिएकै छ । जानिएकै छ । बरु काम के भइरहेको छ, कामको अवस्था के छ ? पेसाप्रतिको क्रियाशीलता कस्तो छ, पत्रकारिता किन धराममा परिरहेको छ भन्ने कुराको छलफल गर्ने, अन्तरक्रिया गर्ने र देखिएका समस्या एवम् चुनौतीहरुको समाधानका लागि कसले के गर्ने भन्ने विषयमा घनिभूत छलफल हुन सकेमा पाल्पाको पत्रकारिताले उचाइँ छुन सक्ने थियो ।

महासंघका कोषाध्यक्षले हिसाव किताव सुनाए । सचिवले सांगठनिक प्रतिवेदन बाचन गरे । केही सुझाव छ कि भनेर सोधे । फ्लोर ओपेन गरे गोविन्द दाइले । एक जनाले जिज्ञासा राखे अनि ताली पिटेर दुबै प्रतिवेदन पास भएको घोषणा भयो । सधैं अरुलाई प्रश्न सोधेर र्याकर्याकती पार्ने पत्रकारहरुले आफनो महासंघमा त प्रश्नै गर्न रुचाएनन् । मैले दुईवटा अनुमान गरें– कि सबै कुरा बुझेर हुन सक्छ वा कि कुरै नबुझेर प्रश्न नगरिएका हुन सक्छन् । चुपचाप चुपचाप प्रतिवेदन पास भए । सायद नेपाली पत्रकारिताको इतिहासमा यति छिटो र गतिलो तरिकाले प्रतिवेदन पास भएको यो नै पहिलो हुन सक्छ !

अधिवेशनमा त पत्रकार र पत्रकारिताका विषयमा सघन छलफल हुन सकेको भए हुने थियो । पाल्पामा यतिबेला एउटा दैनिक र एउटा अर्धसाप्ताहिक पत्रिका छ । सात वटा साप्ताहिक, एक पाक्षिक र दुईवटा त्रैमासिक पत्रिकाहरु जिउँदै छन् । कसरी चलेका होलान्, गतिले चलेका होलान् कि धिकिरधिकिर ? चुपचाप । जगदीशले हल्का कुरा उठाथे । उनका कुरा कसले सुने होलान् र ध्यानपूर्वक । हुन त अधिवेशनमा पत्रकारका कुरा सुन्नेहरु कसैलाई नि बोलाएकै थिएनन् । आफै भन्ने, आफै सुन्नेहरुको बगालमात्र थियो ।

कान्तिपुरका माधवले धक फुकाएर बोलेका थिए । उपसम्पादक भइसकेका उनका कुरा सुन्दा आफूहरु अब स्टीङ्गर बन्नुपर्ने बाध्यता आउँदै गरेको कुराले भावुक बनायो । लोकसेवा लड्ने उमेर गएको, व्यापार व्यवसाय गर्न पैसा नभएको, लोर्के जोबान पत्रकारितामा बिताएर अब कता जाने भन्ने प्रश्नले पत्रकारितामा नयाँ आउने पुस्तालाई के सन्देश देला ? कान्तिपुरे साथीहरुको हालत यस्तो छ भने अरुको हालत पाल्पामा कस्तो होला । रेडियो कसरी बजे होलान् । टीभी कसरी चले होलान् ? विचरा पत्रकारिता भन्ने दिन आउला छिट्टै लाग्छ । चौतारीका कृष्ण कार्की, मिलन विकले आफूहरु पत्रकारितामा लागि रहँदा स्थानीय सरकारले पत्रकारहरु र पत्रकारितालाई बचाउलान् भन्दा भीख माग्न आउनेहरुको दर्जामा राखेको ठूलो गुनासो गरे । पत्रकारहरु एक आपसमा मिल्न नसक्दा क्षति पुगेको रोइलो सुनाए ।

घडीले साढे दुई बज्दासम्म महासंघका पूर्वसभापति भगवान भण्डारी आएनन् । सबैले उनकै प्रतिक्षा गरिरहेका थिए । प्रेस स्वतन्त्रता सेनानी हुने अवसर यसपालि पाल्पाबाट गोविन्द र झपेन्द्र गहिरेले पाएका थिए ।  अतिथिहरु भकाभक बोलिरहेका थिए । म भने एकाहोरो भाषण सुन्न पट्यार लागेर महासंघको भवनबाट तानसेन बजार हेरि रहें । महासंघले वर्तमानमा काम गरेकै छ । भविष्यमा गर्नेछ । हिजोपनि गरेकै थियो । यो नै मेरो निचोड रह्यो । समय मिलाएर केही थान पुरस्कार बाँड्लान् । भवनमा ट्रस थप्लान । तर थप्नुपर्ने पत्रकार साथीहरुको पेसागत ज्ञान, सीप र क्षमता नै हो ।

प्रमुख अतिथि, विशिष्ट अतिथिहरुका भाषण रसिलै थिए । तर गन्तव्य पहिल्याउन नसक्ने गनथनका खासै तुुक देखिनँ मैले । अधिवेशनको सुरुआत् भएको छ । जेठ २६ गते निर्वाचिनको दिन केन्द्रले तोकेकै छ । संगठनको संख्या अनुसार निर्वाचनमा भाग लिने कुरा कमै हुन्छ । सबैलाई इतिहासको बिरासतमा रमाउँदै अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पद चाहिने छन् । भविष्यमा पत्रकार र पत्रकारिता पेसालाई दीगो र बलियो बनाउन मेरो संगठन वा मेरा यी यी योजना र कार्यक्रम रहने छन् भन्नेहरु कमै हुने छन् ।

अन्तिममा अनिल लिगल, रीमा सोमै र नेत्र गैरेले पकाएको मासु, पुलाउले पेट डम्फ्याएर बटौलीतिर लागियो गुराँस आत्रेयसँगै कारमा सरररर ।

 

 

 

 

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार