गुराँस आत्रेय
नेपाल कम्युनिष्ट पार्टी स्थापनासँगै पाल्पामा वि.स.२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीको विभिन्न चरण हुँदै अहिले नेकपा (एमाले) पाल्पाको दशौं अधिवेशन यही जेठ ११ र १२ गते तानसेनमा हुँदैछ । २०५१ सालदेखि अनवरत पाल्पामा पहिलो पार्टीको रुपमा स्थापित नेकपा एमाले पाल्पाको अधिवेशन एमाले समर्थकलाई मात्रै नभएर विपक्षीको पनि चासोको विषय बनेको छ ।
व्यवस्था परिवर्तनको बेला आन्दोलनको प्रयाय बनेको नेकपा एमाले अहिले अवस्था परिवर्तनको लागि विकासको प्रयाय बन्दै छ । स्वाभावैले आन्दोलन र विकास फरक कुरा हो । समय, परिस्थिती र जनताको अपेक्षा अनुसारको नेता चयन गर्न अधिवेशनको आयोजना गरिन्छ । सोही काममा अव्बल भएकालेनै नेकपा एमालेले चौतर्फी घेरावन्दीका बीच पनि पाल्पामा पहिलो पार्टी बनाउँदै एकल नेतृत्वमा जिल्ला समन्वय समिती निमार्ण गरेको छ । अधिकाशं कार्यकर्ताको आवाज एमालेमा सांगठनिक अराजकता हटाएर एक ढिक्का बनाउन सके दशवटै पालिका जित्न अप्ठेरो छैन । २०७९ सालको स्थानीय निर्वाचनमा पराजित पालिकामा एक हजार भन्दा कम वा दूई चार सयको अन्तरमा एमाले पराजित भएको तथ्यले पनि यो भनाईलाई पुष्टी गर्दछ । ७५ वर्ष पुरानो पार्टी भएकाले पनि यसमा सबै प्रकारका सदस्यहरु समेटिएका छन् ।
स्थापना कालदेखि काम गरेका सदस्य र अहिले नयाँ जनआन्दोलन समेत नदेखेका युवा पङ्तीको भावना समेटेर नेतृत्व गर्ने नेता चयन गर्नु मुख्य जिम्मेवारी यस अधिवेशनको छ । एमालेका कार्यकताहरु जन्मदेखि मृत्युसम्म समुदायको भलाईमा सहयोग गरिरहेका छन् । एमाले प्रत्येक टोलटोलमा, किसानमा, महिलामा, युवामा, विद्यार्थीमा संगठित भएर काम गरिरहेको छ । पार्टीलाई यो स्थानसम्म ल्याउन हजारौ कार्यकर्ताले जेल र यातना, निर्वासन र भूमिगत जीवन, बेपत्ता र शहीद बनेका छन् । अग्रज तथा जनताको सम्मान, विश्वास र भरोसालाई अझ बलियो बनाउँदै अविचलित र अथक रुपमा पार्टी अगाडि बढाउने नेतृत्वको खोजीमा छन् अहिले एमाले पाल्पाका कार्यकर्ता ।
स्वार्थपूर्ण पार्टी विभाजन, सरकारबाट षड्यन्त्रपूर्वक विस्थापन, घेराबन्दी र गठबन्धन गरी सबै शक्ती नेकपा (एमाले) लाई समाप्त पार्ने षड्यन्त्र लाग्दा समेत लोकप्रीय मतमा देशमै पहिलो पार्टी बनेको नेकपा (एमाले) अहिले तुलनात्मक रुपमा अनकुल परिस्थितिमा आइपुगेको छ । ‘पुराना पार्टी काम छैन’ भन्दै धमिलो पानीमा माछा मार्न आएका केही नयाँ नामधारीहरु आफ्नो कर्म अनुसार काण्डै–काण्डमा रुमल्लिएका छन् । जनताले अहिले पनि ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ देश परिवर्तनमा नेकपा (एमाले)को विकल्प नभएको उपनिवार्चनमा मत मार्फत इलाम र वझाङमा पुष्टी गरेका छन् । यद्यपि, आज पनि एमालेका सामुन्ने चुनौतिहरु गम्भीर नै छन् ।
निर्णायक राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई स्थापित गर्ने र त्यही राष्ट्रिय शक्तिको अगुवाइमा राजनीतिक स्थायित्व, सुशासन, राष्ट्रिय हित र स्वाभिमानको प्रत्ययाभुति गर्दै समृद्धि र समाजवादको आधार निर्माण गर्ने दुई मुख्य अभिभारा एमाले सामु छन् । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरांै, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको नेकपा एमाले भर्खरै विधान महाधिवेशनबाट आजका वैचारिक, सङ्गठनात्मक र राजनीतिक विषयहरुमा स्पष्ट मार्गदशर्न गरेको छ । अधिवेशनले नेपाली क्रान्तिको मार्गदशक सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवादको औचित्य, सान्दर्भभिकता र महत्वलाई पुष्टि गरÞको छ ।
२०६२÷६३ को परिवर्तन र नेपालको संविधानको घोषणापछिको नयाँ परिवेशमा नेपाली क्रान्तिको चरण, चरित्र र विशेषताको वस्तुनिष्ठ विश्लेषण गरÞेको छ । राजनीतिक प्रणालीमा ठूलो परिवर्तन भएको भए पनि नेपाली समाजको सामाजिक–आर्थिक रुपान्तरणको काम भने बाँकी नै रहेको र नयाँ उत्पादक शक्ति अनुकुलको उत्पादन सम्बन्ध विकास हुन नसकेको निष्कर्ष निकालेको छ । यसै निष्कर्षका आधारमा जनताको बहुदलीय जनवादी कार्यक्रमका अभिभारा पूरा भइनसकेको, अब कार्यक्रमको मुख्य जोड समाजवादको आधार निर्माण गर्नु रहेको र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको कार्यक्रम पनि भन्न सकिने निचोड निकाल्यो । शान्तिपुर्णबाटो, लोकतान्त्रिक विधि र संवैधानिक माध्यमबाट प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्दै राष्ट्रिय पुँजि निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने कार्यदिशा अधिवेशनले तय गरÞेको छ । एमाले पाल्पाका नेता कार्यकर्ताहरु यसै विचार र कार्यक्रम अनुसार काम गर्ने नेता चयनमा लागेका छन् ।
पार्टी निर्माण आफैमा साध्य होइन । यो सामाजिक–आर्थिक रुपान्तरण र समाजवादको आधार निर्माण गर्ने लक्ष्य प्राप्तिको साधन हो । सङ्गठन भित्रका स्वार्थप्रेरित अन्तरविरोध, गुटबन्दी र अस्वस्थताको समाधानका लागि वैचारिक र सङ्गठनात्मक दुबै विधि अवलम्बन गर्नुपर्छ । जनताको दुख ः सुखमा साथ दिने, जनतालाई समस्या पर्दा अग्रपङ्तीमा उभिएर स्वयंसेवा गर्ने र जनसरोकारका विषयलाई लिएर आवश्यक दबाब सिर्जना गर्ने, जनपरिचालन गर्ने र आवश्यकता अुनसार आन्दोलन गर्ने एमालेको असल परम्परामा पछिल्लो समय कमी आएको छ । यसले जनतासँगको सम्बन्धलाई कमजोर बनाउन सक्छ । यसलाई सच्याउने नेतृत्व चयन गर्ने अधिवेशनले हो ।
भुमिगत कालमा एमाले पाल्पाको नेतृत्व धेरैले गर्नुभयो । २००६ सालमा पार्टी स्थापनासँगै लुम्बिनी प्रदेशमै पहिलो पटक पाल्पामा मृगेन्द्र ध्वज जोशीको पहलमा चिनियालाल ब्रजाचार्य सचिव रहेको श्यामलाल रतनसहित ३ सदस्यीय सेल गठन भएको थियो । पार्टी र विभिन्न मोर्चामा रहेर पाल्पामा कम्युनिष्ट पार्टीको बिस्तारको लागि कमलराज रेग्मी, सिद्धिनाथ ज्ञवालीको भूमिका अग्रपङ्क्तिमा छ साथै प्रेम प्रकाश नेपाल, जगत बहादुर जोशी, वियार राई, रतनलाल ब्राम्हण, मधु गुरु, विष्णु प्रभात, सोवियत लाल ब्रजाचार्य, विनय कसजु लगायत लामो पङ्क्ति रहेको छ । २०४६ साल पछिको नेकपा एमाले पाल्पाको जिल्ला अधिवेशनबाट तत्कालिन सचिव वा पार्टी प्रमुख र पछि बहुपदमा अध्यक्षभई पाल्पाको नेतृत्व गर्नेमा झपेन्द्र बहादुर जिसी, दलबहादुर राना, धनेन्द्रराज घिमिरे, राधाकृष्ण कंडेल, यादव बहादुर रायमाझी र नारायण आचार्य हुन् विचमा लामो समय कार्यबहाक पार्टी प्रमुख हुनेमा दयाराज बस्याल र देवी प्रसाद बस्याल रहेको दस्तावेजमा पाइन्छ ।
यही नेतृत्वको सूचीमा नाम थप्ने गरी अहिले दशौं अधिवेशनबाट अध्यक्ष बन्ने लाईनमा मुख्य गरी हालका सचिव रामजी पोखरेल र निर्वतमान सचिव ओम बहादुर घर्ती अघिल्लो दौडमा रहेको देखिन्छ । पूर्व अध्यक्ष देवि प्रसाद बस्याल, जिल्ला समन्वय समिती प्रमुख टंक खनाल, वर्तमान उपाध्यक्ष देविलाल लामिछाने लगायतका नेताहरु पनि अहिले पार्टीको कुनै पदमा नभएकाले अध्यक्षमा प्रतिस्पर्धी बन्न सक्ने देखिन्छ । कार्यकर्ता विभिन्न नाममा तरगिंत भएपनि नेताहरुको आ–आफ्नै कार्यशैली र क्षमता रहेकाले कार्यकर्ताको रोजाई फरकफरक रहेको छ । पार्टीमा पहिले जस्तो दुई लाईन अहिले नभएकाले सहमतीमा अध्यक्ष चयन हुने सम्भावना प्रवल देखिन्छ । अन्यथा निर्वाचन भएमा पनि गुटको नभई व्यक्तिको आकांक्षा अनुसार निर्वाचन हुने र निर्वाचनपछि स्थायी गुट नरहने कार्यकर्ताको अपेक्षा छ ।
जनवादलाई विश्वास गरेको पार्टीमा नेतृत्व चयनको निर्वाचन सामान्य प्रकृया रहेपनि निर्वाचन पश्चात परिणाम स्वीकार गर्न नसक्ने र निरन्तर गुटबन्दिमा लागिरहने क्रम एमालेको पार्टी विभाजन पछि रोकिएको छ । अहिले अन्यत्र जिल्लामा भएका अधिवेशनका निर्वाचनमा पनि केन्द्रिय नेताको समीकरण नभई स्थानीय आकांक्षी बीचको प्रतिस्पर्धा भएकाले परिणाम सहर्ष स्वीकार गरेको देखिन्छ ।
प्रतिक्रिया