माघ २८,
ग्लोबल आवाज
बुटवल । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले ज्ञानसहितको शिक्षा विद्यार्थीलाई आवश्यक रहेको औल्याएका छन् । उनले शिक्षालाई सबैको पुहँचमा पुग्ने र व्यवहारिक बनाउन आवश्यक रहेको बताउँदै विद्यालय परिसर भित्र 'तँ' शब्दको प्रयोगमा प्रतिबन्ध गर्नु अनुकरणीय कार्य रहेको जोड दिए ।
मंगलबार रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको रामापुर माध्यमिक विद्यालयको ५६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै भट्टराईले सरकारी विद्यालयलाई स्तरीकृत गर्न शिक्षक , विद्यार्थी , अभिभावकको सक्रियताको आवश्यकता रहेको बताए । उनले रामापुर माविलाई मोडेल स्कुलका रुपमा लैजान आफूले सक्दो सहयोग गर्ने जिकिर गरे । सो अवसरमा प्रदेश ५ का सांसद तथा नेकपाका सचेतक भुमिश्वर ढकालले सैनामैना नगरपालिकाकै पुरानो विद्यालयका रुपमा परिचित रामापुर माध्यमिक विद्यालयलाई शुभकामना दिँदै समाजमा रहेका विकृति , विसङ्गति विस्तापन गर्न विद्यालयको महत्वपूर्ण भुमिका रहने बताए । उनले कार्यक्रममा बोल्दै वैदेशिक रोजगार हटाउने र स्वदेशमा रोजगारी सिर्जना गरि विकास निर्माणमा युवा पुस्तालाई लगाउन जरुरि रहेको बताँउदै जलविद्युत बेच्नका लागि विदेशी बजार खोज्ने बेला आएको बताए । त्यस्तै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले विद्यालयको गुणस्तर सुधारका लागि विशेष योजना सहित नगरपालिका अगाडि बढेको बताए । कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गेका थिए ।
विद्यालयमा रहेका विभिन्न अक्षयकोष विद्यालयका विभिन्न विधामा अब्बल विद्यार्थीहरुलाई वितरण गर्नुका साथै उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक महत्त्व झल्कने प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन ज्ञवालीको सभापतित्व र काशिराम पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय इकाई रुपन्देहीका सभापति एकराज वि.क , प्रमुख जिल्ला अधिकारी रुपन्देहीका मानदेव पन्थ, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना , शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख दिपेन्द्र ढकाल , नेपाली काङ्ग्रेस जिल्ला उपसभापति फणिन्द्र शर्मा लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया