ताजा अपडेट »

पार्टी स्ट्रेन्थ र गठबन्धन

सोमबार, ३१ बैशाख २०८१, ०७ : ४३
140 Shares
सोमबार, ३१ बैशाख २०८१
140 Shares

महेन्द्र बहादुर सिंह

मुलुकको राजनीतिमा गठबन्धनको जे जस्तो प्रभाव रहेतापनि त्यसको आधारमा गठबन्धनमा आवद्ध कुनै अमुक पार्टीको स्ट्रेन्थ र हैसियत थाहा लाग्दैन । किनकी गठबन्धनले पार्टीगत होईन सामूहिक हैसियत इङ्गित गर्दछ । दलहरू एकअर्काको बैसाखी बनेका हुन्छन् । त्यसैले गठबन्धनमा आवद्ध दलहरूको हैसियत भनेको बैसाखी जस्तै हो । गठबन्धनबाट हटेको वा हटाईएको अवस्थामा, बैसाखी छुटेको अवस्थामा लागू पदार्थ सेवन गर्न नपाउँदा दुर्व्यसनीहरूमा हुने छटपटी जस्तै दलहरू छटपटीन्छन् । कँन्फिडेंस  गुमेको कन्फ्युजनको अवस्थामा पुग्दछन् । त्यो अवस्थाबाट मुक्त हुन् निश्चय पनि समय लाग्दछ । तब सम्ममा धेरै खेप्नु पर्ने हुन्छ । त्यही त हो गठबन्धनको दुष्परिणाम ।

नेपाली कांग्रेस अहिले त्यस्तै अवस्थाबाट गुज्रिरहेको छ । चारैतिरबाट गठबन्धनको नयाँ पुराना बैसाखीहरूबाट भईरहेको आरोप घोचपेचको सामना गररिरहेको छ । गठबन्धनमा अहिले आबद्ध दलहरूको पनि भोलिको अवस्था त्यस्तै नै हुने निश्चित छ । गठबन्धन टुटेको अवस्थामा वा हटेको अवस्थामा आबद्ध दलहरूमा छटपटी त हुने नै छ । त्यसो हुनु दलहरूको हैसियत क्षीण हुनु हो । संविधान निर्दिष्ट प्रतिस्पर्धात्मक दलीय अवधारणा धरापमा पर्नु हो । किनकी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्दतिको निर्धारित गन्तव्यमा पुग्ने माध्यम दलीय प्रतिस्पर्धा हो । गठबन्धनको निरन्तरता होईन । दलीय प्रतिस्पर्धाबाट दलहरूमा पूनर्ताजगीको संचार हुन्छ । दलहरूमा समयसापेक्ष उर्जा थपिन्छ । परिणामतः दलहरू स्वस्थ, सशक्त र परिमार्जित सोचका साथ प्रशंसनीय ढंगमा क्रियाशील रहन्छन् ।  हुनत गठबन्धन भत्किएर संयुक्त सरकारको अवस्थामा राजनीति पुगेको छ । तैपनि नेताहरूमा गठबन्धनको रन्को अझै बाँकी छ।

अब उप्रान्त निर्वाचनमा गठबन्धनलाई तिलाञ्जली दिएको नेपाली कांग्रेसको निर्णयले मूलतः सत्तासीन माओवादीको मन मस्तिष्कलाई निकै घोच्यो, रन्थनीयो । कुरो सही हो किनकी पार्टी स्ट्रेन्थको लागि गठबन्धन अतिआवश्यक छ । गठबन्धनबाट हट्नु, सरकारमा नरहनु भनेको राष्ट्रिय राजनीतिमा माओवादी केन्द्र घस्रिने अवस्थामा पुग्नु हो । कमरेड दाहाल सडकमा नाङ्गो बजारिनु हो । पार्टी सशक्तिकरण सत्तासीन माओवादीको मुख्य टारगेट हो । किनकी मुलुकको राजनीतिमा दलीय हैसियतमा टिक्न गाह्रो छ । दलीय छवी र विश्वसनीयता छताछुल्ल छ । यथार्थमा नेपाली कांग्रेस, ऐमाले, रास्वपा, राप्रपा लगाएत अन्य केही पार्टीहरूको लागि चुनावी गठबन्धन, सत्तारोहण गठबन्धन प्राथमिकताको विषय हुनु हुँदैन । तिकडम र अस्थिरताबाट राजनीतिलाई मुक्त गर्न आगामी निर्वाचन पूर्व अहिलेको अवस्थामा माओवादी केन्द्र बाहेकको संयुक्त सरकार नै कांग्रेस, ऐमाले, रास्वपा, राप्रपा लगाएतका दलहरूको प्राथमिकताको विषय हुनु पर्दछ।

पार्टी स्ट्रेन्थको निम्ति माओवादी केन्द्रको लागि गठबन्धन अपरिहार्य छ । त्यसैले सरकारबाट ओर्लनु पार्टी हितमा नहुने स्पष्ट बुझेका दाहालले कत्ति पनि समय खेर नफाली ऐमालेको बैसाखीमा संयुक्त सरकारको नेतृत्व गर्न पुग्यो । सरकारमा टिकि रहन र अन्य पार्टीका नेताहरूलाई आफ्नो प्यादा बनाउन भ्यायसम्म अझ केही समय माओवादी केन्द्रले राजनीतिलाई धमिल्याउँदै यस्तै नीति र चलखेललाई निरन्तरता दिईरहने निश्चित छ । कांग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी) मिलेर सरकार गठनको तयारीमा लागेको उडन्ते हल्ला चलाएर जसपा टुक्र्याउन, अस्थिरता पैदा गर्न दाहाल सफल भएको उहाँकै अभिव्यक्तिले पुष्टी गर्दछ। ‘तपाईहरू दुविधामा नबस्नु होला । अनेक गरिन्छ तर पूरै  लगिन्छ । त्यो अनेक गर्ने भित्र हिजो अस्तिका घटनाहरू पनि हुन्।’ यो अभिव्यक्ति हो प्रधानमन्त्री दाहालको ।

वचनले मात्र होईन मन र कर्मले देश र जनताको सुख, शान्ति र समृद्धि चाहने हो । अस्थिरता र तिकडमबाट राष्ट्रिय राजनीतिलाई मुक्त गर्ने हो । संविधान निर्दिष्ट दलीय प्रतिस्पर्धात्मक  अवधारणाको भावनानुरूप अक्षरशः पालना गर्ने हो भने सर्वप्रथम मूलतः नेपाली कांग्रेस र ऐमालेले आफूले आफैसँग कम्प्रोमाईज गर्नु पर्दछ । आत्मालोचना गर्नु पर्दछ । चुनावी र सत्तारोहणको गठबन्धन विरूद्ध दृढ सङ्कल्पित हुनु पर्दछ । दलहरूको दलीय स्टाटस, संरचना, मर्यादा र प्रतिष्ठा मर्दन नहुने गरि आवश्यकतानुसार दलहरूसँगको समझदारीमा स्थिरता र समृद्धिको पोलिटिकल कोर्सलाई अघि बढाउन सक्नु पर्दछ । यही नै हो वर्तमान राष्ट्रिय राजनीतिको आवश्यकता ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।