जब कोखमा प्राण दियौ
तब न खाना खायौं
न निद्रा पायौं
न आराम पायौ
आफूले रातो माटो र कमेरे ढुङ्गा चपाएर पनि
घर परिवारलाई खाना पकाएरै खुवायौ ।
फेरि गर्भको मैदानमा
म युद्ध र आन्दोलन
मच्चाउथे
तब तिमी मुस्कुराउदै
मिठो स्पर्शले मलाई शान्त बनायौ र
आफू भरिपूर्ण भएर
अघायौं अनि मातृप्रेमको सकारात्मक उर्जा फैलायौं ।
हो, मेरी आमा तिमी
कहिले देउराली चढ्यौ
कहिले बेसी झर्यौं
घाँस दाउरा सबै–सबै गर्यौं
तर, कतैं देखिनौं बधाई भन्ने आफन्तहरु
भेटिनौं कोही डाक्टर र नर्सहरु
खाइनौं कहिल्यैं काजु, बदाम र ओखरहरु
बस् आफ्नो प्राणलाई
दाउमा राखेर
आफूभित्र मलाई
सुरक्षित राख्यौ
यो सुन्दर संसार
देखाउन
तर, आमा,
कता–कता म डराइरहेछु
यो बाहिरी रङ्गमञ्चको
दुनियाँमा म तिम्रो
कोखमा जस्तै
सुरक्षित हुन सकूलाँ या
नसकूलाँ
जे होस, आमा
तिमी जन्मियौं र
म जन्मिएँ
अर्को धर्ती जन्माउन ।
धन्यवाद ।
प्रतिक्रिया