मुक्तक, छोटो कविता हो । कविताको लघुतम रुप नै मुक्तक हो । साहित्यमा चोटिलो प्रहार गर्नका लागि मुक्तकको साथ लिइएको पाइन्छ । मुक्तकले कहिलेकाँही मान्छेलाई जुरुक्कै उचाल्छ । कहिलेभने थचक्कै पार्न बेर लाउन्न । मुक्तक साहित्यिक चट्नी हो ।
लुम्बिनी विश्वविद्यालयको सभाहलबाट बाहिर निस्किै गर्दा शनिवार ‘आधा जून’ मुक्तकसङ्ग्रह हातमा पर्यो । मुक्तक भनेपछि हुरुक्कै हुने यो मनुवालाई भोकमा भोजनसरि भइगयो । घरमा आइपछि ‘आधा जून’ हेरेको हे¥यै गरें । ‘आधा जून’ पूर्णजून किन बनेन भनेर मेरो मनमा अनेक प्रश्न उब्जे ।
देश खाएर शेष पल्टेकी मुक्तककारको श्रीसम्पत्ति नै रहेछ–आधा जून । उनले मुक्तकमार्फत हरेक विषय,प्रसङ्गमा कुरा उठाएकी छिन् । धेरै ठाउँमा राज्य सञ्चालकहरुलाई सचेत बनाएकी छिन् भने नेताहरुलाई चोटिलो व्यङ्ग कसेकी छिन् । मायाप्रेम र विछोडका प्रसंगमात्र होइन आफू देशबाहिर हिड्दा आफ्नै मुटु निचोरेर लेखिएका उनका केही मुक्तकहरुले मनै चसक्क पार्छन् यतिबेला ।
मुक्तककार हुन् कमला भण्डारी,ढकाल । उनकै संग्रहले मलाई उनीसँग परिचित गरायो । चिनजान गराउन बाध्य पा¥यो । रचनाले आफूलाई चिनाउनु हजारगुना राम्रो हुँदोरहेछ, अनुहार र नाताले चिन्नुभन्दा । कमलाका मुक्तक पढेपछि सबै अब्बल मुक्तकहरु नै छन् भन्दिनँ । यसो भन्नु पाठकहरुलाई ढाँटेजस्तो हुन सक्छ । सबैका रचना सबै नै अब्बल हुन्छन् भन्ठानू पनि न्यायसँगत नहुन सक्ला । संग्रहका मुक्तकहरुमध्ये धेरै मुक्तकले मन छुन्छन् । मनमा झटारो हान्छन् । केहीले स्नेह प्रकट गर्छन् । केही मुक्तकले मुकाबिला गर्न सिकाउँछन् जीवन र जगतसँग ।
अँध्यारोको पुजारी सानो दियो नै सर्व लाग्छ
मनभित्र सन्तोष होस् हरेक दिन पर्व लाग्छ
तिम्रो विरासतको महल जय होस् तिमीलाई नै,
मलाई आफ्नो सङ्घर्षको झुपडी गर्व लाग्छ ।
यो मुक्तकले जीवनमा धेरै कुराको ज्ञान दिएको पाइन्छ । मान्छे असन्तोषी बन्दै गएकोबेला मनमा सन्तोषको सानो आशा पलाउनु पर्वसरि खुसी आएको महसुस् हुँदोरहेछ । संघर्षको झुपडी मान्छेलाई गर्व लाग्दोेरहेछ कहिलेकाँही । परदेशको जीवन भोगीसकेकी कमलालाई संघर्षले माथि उठाएको रहेछ ।
यतै राखेर तपन, शीतलपन पठाएकी छु
कागजको टुक्रामा गरेर जतन पठाएकी छु
अरु केके पठायौ परदेशबाट नसोध्नू प्रिय
थोरै गन्थनसँगै झिकेर धड्कन पठाएकी छु ।
सायद,ससाना छोराहरु र श्रीमानसँगै घरका अन्य सदस्यहरुलाई छाडेर इजरायल उड्नुपर्दा कमलाका मनमा हुण्डरी खेलेकै थिए होलान् । आफ्नो श्रीमानलाई परदेशबाट थोरै गन्थनसँग नेपालमा धड्कन पठाउँदा कमलाको मन केहीक्षणका लागि सन्तोष भएको हुँदो हो । तैपनि परदेशीका मन, कसरी बुझ्दो हो ? यो मुक्तकले मनै सिरिङ्ग बनाउँछ ।
कसैले जिन्दगीको यात्रालाई बाँसुरी बनायो
समयले दुःख–सुखलाई बुझ्न जरुरी बनायो
जसको जस्तो कला छ,प्रदर्शन गर्ने हो उस्तै
हेर्नुुस् ,फलामले फलाम कुटेर खुकुरी बनायो ।
आफूलाई चोट आफन्तले नै हुन् दिने । नत्र फलामलाई पिटेर फलामले नै कसरी खुकुरी बनाउन सक्थ्यो र ? आखिर जीवन बजाउन जानेमा बाँसुरीजस्तै मिठासपूर्ण बज्छभने नजाने गन्दा नालीजस्तै जाम हुनुपर्ने बाध्यकारी अवस्था नआउला भन्न सकिन्न ।
शब्दमा भेटिन्छ,भाषा र लयमा भेटिन्छ
टुक्य्राउँछ कि बैरीले सधैं भयमा भेटिन्छ
राखेका छौं देशको तस्वीर प्रेमले छातीमा
मेरो देश हरेक नेपालीको हृदयमा भेटिन्छ ।
साँचिक्कै यो मुक्तक बडो वजनदार छ । यसले राष्ट्रियताप्रति वफादार बनाउन सिकाएको छ । राष्ट्रप्रति भक्तिभावपूर्ण जागरण ल्याएको छ । देशको तस्वीर मनमा,छातीमा राख्न सिकाएको छ । हरेक नेपालीले मन, मुटु र हृदयमा देशलाई सजाउन र अटाउन सिकाएको छ । कमला यो मुक्तकमा दमदाररुपले प्रस्तुत भएकी छिन् । उनको कलम यो मुक्तकमा तिखारिएको छ ।
कमलाको ‘आधा जून’ मुक्तकसंग्रह नेपाल मुक्तक प्रतिष्ठान, कोरिया शाखाले २०८० को फागुन महिनामा प्रकाशन गरेको थियो । एउटा कविताको एक रुपैयाँ मूल्य तोकिएको रहेछ । चिटिक्क साइजमा छापिएको उक्त संग्रहमा मुक्तककार रुद्र ज्ञवालीले कमलालाई मुक्तकका सैद्धान्तिक सौन्दर्य कायम राख्न सक्षम भएको लेखेका छन् ।
प्रतिक्रिया