महेन्द्र बहादुर सिंह
प्रसङ्ग सक्षम युवा नेताहरूलाई परस्पर भिडाउने द्वन्दात्मक राजनीतिको हो। सत्तामा रहेका नरहेका सबै दलहरूमा सबल युवा नेताहरू क्रियाशील छन्। तैपनि तिनीहरूको सक्षमता, लोकप्रियतालाई लटपटाइ दिने, ओझेलमा पारिदिने र कसै गरी पनि आफ्नो हात केही नलाग्ने भएमा प्रत्यक्ष परोक्ष आफ्नो हाँक, हैकम, वर्चस्व यथावत रहने गरि तिनीहरूलाई फ्रन्ट लाईनमा ल्याउने कुनीतिको खेलमा शिर्ष नेतृत्व लागि परेका छन्। मूलतः नेपाली कांग्रेसको महामन्त्री द्वयसँग नेतृत्वले यस्तै खेल खेलिरहेको पार्टी भित्र बाहिर सबैलाई थाहा भएको उदाङ्गो विषय हो।
पार्टी भित्र मात्र होईन वर्तमान राष्ट्रीय राजनीतिमा पनि तीन टिकट महाविकट त्रय नेता देउवा, ओली र दाहालको सतरन्जी खेलको भुँमरीमा आशा गर्न योग्य, सक्षम युवा नेताहरू अल्झिएका छन् । तिनीहरू राजनीतिक अजिंगरको तनाईमा परेका छन्। विशेषतः सत्तासीन दलका जनचर्चित युवा नेताहरूलाई विपक्षी दलका बहुचर्चित युवा नेताहरूसँग भिडाउने र ती सत्तापक्ष युवा नेताहरूबाट नै विपक्षी दलको खास गरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सक्दो खेदो गर्ने माहोल पैदा गर्ने राजनीतिमा सत्तापक्ष षड्यन्त्री शिर्ष नेताहरू लागि परेका छन्।
वास्तवमा सक्षम युवा नेताहरूको बढ्दो लोकप्रियता र उर्लिँदो जनसमर्थन विरूद्ध स्लो प्वाइजनको कुनीति प्रयोग गर्दै तिनीहरूलाई पेरालाईज गर्नु र राजनीतिमा यथावत आफ्नो पकड बनाई राख्नु सत्तापक्ष दुई ठूला दल र शिर्ष नेताहरूको मुख्य ध्येय हो। प्रसङ्गवश सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेको नाम मुछीएपछि प्रधानमन्त्री दाहालले कांग्रेसमाथि प्रतिशोधको ठाडो आरोप लगाउँदै यो केसमा रविजीलाई अनुसन्धान गर्ने कुनै ठाउँनै छैन। यो राजनीतिक पूर्वाग्रह मात्र हो भन्नु पोलिटिकल पावर प्लेको नोटेबल प्रदर्शन हो।
भारी जनसमर्थन प्राप्त गर्दै राजनीतिको उचाईमा उक्लि रहेको दल तथा युवा नेताहरूलाई येनकेन प्रकारेण कोलेप्स गराउने सिलसिला लामो समयदेखि चल्दै आएको सर्वविदित छ। तर विडम्बना राजनीतिमा सक्रिय युवा जमात र नेताहरू त्यसतर्फ दीर्घकालिक सजग एवं सचेत रहेनन्। उल्टै ती शिर्ष नेताहरू जस्ले युवा नेताहरूलाई झोला थमाइ आफ्नो अधि पछि हिडाउन चाहन्छन् तिनै नेताहरूको प्यादा बनेर राजनीतिमा सक्रिय रहन थाले । जनतादेखि टाढा शिर्ष नेतृत्वको काखा हुँदै आशिर्वादको राजनीतिमै गर्व गर्न थाले र लोभ लालच दलाली बिचौलियाको मार्गमा हिँडे । तापनि युवा नेतृत्व तथा पुस्तान्तरणको विषय उठान र बिसानको गलफती निरन्तर चलिनै रह्यो।
समीकरण बदलिएपछि रवि लाई प्रधानमन्त्री बनाउने अफर गरेर कांग्रेसबाट पहिलो कोसिस भयो भनेर प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरू समक्ष एउटा राजनीतिक पत्ता फाले । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदै गर्दा त्यही पत्तामा टेकेर राष्ट्रीय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले पनि आफूहरूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दाबी गर्दै सक्कली र नक्कली कांग्रेसको पनि जिकिर गरे । वाग्ले जस्तो स्वच्छ सक्षम विद्धत व्यक्तित्वले कतिपय विषयहरूमा आफूलाई रिजर्भ राख्नु पर्ने, साईलेन्ट राख्नु पर्ने हो तर त्यसो गरेनन् । आफ्नो घाँटी दाहालको घाँटीसँग जोडेर राखे ।
उदाउँदो, विश्वास र भरोसा गर्न लायक चर्चित युवा नेताहरू पनि समय परिस्थिती र स्वार्थ अनुरुप घाँटी जोडाइको, विद्धेषको राजनीतिमा उद्यत रहेपछि पुस्तान्तरण एवं युवा नेतृत्व कसरी सम्भव हुन्छ ? अन्ततः उही नाम्लो उही कुम्लो।
प्रतिक्रिया