बुटवल । मानव अधिवकार तथा शान्ति समाज रुपन्देहीले ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार बुटवलमा अन्तरसंवाद गरेको छ । ‘मर्यादित एवम् व्यवसायिक पत्रकारिता, केन्द्रविन्दुमा श्रमजीवि पत्रकारको सुरक्षा’–भन्ने मूल नारासहित आयोजित अन्तरसंवादमा सहभागीहरुले स्वतन्त्र प्रेस भएमात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे ।
शान्ति समाजका केन्द्रीय सदस्य डि.पी. खनालले मुलुकमा बलियो र स्वतन्त्र प्रेस भएमात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे । राजनीतिक दलहरुले आफू सत्तामा रहँदा र प्रतिपक्षमा रहँदा पत्रकार तथा प्रेसमाथि गर्ने व्यवहार फरक हुने गरेको धारणा व्यक्त गर्दै खनालले बलियो लोकतन्त्रका लागि सदाबहार एउटै धारणा कायम हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले मुलुकको राजनीतिक आन्दोलन तथा परिवर्तनहरुमा मिडियाले खेलेको भूमिकालाई राजनीतिक दलहरुले भुल्न नहुने उल्लेख गरे । जनताको अधिकार र लोकतन्त्रलाई स्थापित गर्ने आधार नै प्रेस स्वतन्त्रताबाट सुरु हुने उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, प्रेस चौतारी रुपन्देहीका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ, शान्ति समाजका कोषाध्यक्ष लिलाधर लुइटेल लगायतले बोल्दै मुलुकको रक्षा र जनताको अधिकारका लागि स्वतन्त्र प्रेस आवश्यक रहेकोमा जोड दिए । कुनै पनि व्यक्ति वा राज्यशक्तिको दाबाब र प्रभाव प्रेसमाथि हुनु गलत भएको उनीहरुले धारणा व्यक्त गरे । शान्ति समाज रुपन्देहीका सचिव कृष्ण पाण्डेको सञ्चालन तथा सभापति कपिल ज्ञवालीको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया