ताजा अपडेट »

वधशालाले पूरा हुँदै बुटवल बासीको स्वस्थ मासु खाने सपना

शुक्रबार, २१ बैशाख २०८१, ११ : १०
60 Shares
शुक्रबार, २१ बैशाख २०८१
60 Shares

बुटवल । बुटवल उपमहानगरपालिका १० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा आधुनिक पशु वधशाला निर्माण गरिएको छ । बुटवल उपमहानगरपालिकाले २१ करोड  खर्च गरेर स्थापना गरेको यो व्यवस्थित बधशालामा एकै दिन हजार बढी खसी बोका बध गर्न मिल्ने सुविधा रहेको छ ।

चरण क्षेत्र, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण गरिएका छन् । यसका साथै दुई वटा चिस्यान सुविधासहितका ट्रक, पशु स्वास्थ्य, मासु जाँच र गुणस्तर प्रमाणीकरण ल्याबको व्यवस्था समेत वधशालामा गरिएको छ ।

यसरी स्थापना गरी सञ्चालनमा आएको बधशालामा यहाँका मासु व्यवसायीहरुले जान नमानेपछि स्वस्थ मासु खाने बुटवल बासीको सपना समेत अझै पूरा हुन सकेको छैन । बुटवल र यस आसपासका उपभोक्ताले वधशालाको आवश्यकता २०५५ सालमा नै महसुस गरि माग गर्दै आए पनि त्यसको साढे दुई दशकपछि वधशालाले पूर्णता पाए पनि कार्यन्वयनको विषयमा मासु व्यवसायीहरुले असहमति जनाउँदै जान नमानेपछि उपभोक्ता समेत यसको मारमा परेका छन् ।

स्वस्थकर वधशाला निर्माण गरेर सञ्चालनमा ल्याए पनि मासु व्यवसायीले वधशालाबाट मासु लिन र नगर क्षेत्रमा मासु वध नगर्न इन्कार गरेपछि उपमहानगरपालिकाले पटक–पटक छलफल र सहमतिको प्रयास गरे पनि हालसम्म कुनै निष्कर्श आएको छैन । उपमहानगरको आग्रहलाई खुलेयाम अवज्ञा गर्दै नियमन निकायको ताकेता नमान्ने व्यवसायीहरूलाई जरिवाना र कारबाहीभन्दा पनि सहमतिबाट अघि बढ्न पहल जारी रहेको नगर प्रमुख खेलराज पाण्डेय बताउँछन् ।

बुटवलको पशु वधशाला सञ्चालन उपमहानगरले ठेक्काबाट मुक्तिनाथ लाइभ स्टक बैंकलाई जिम्मा दिएको छ । यसै विषयमा असहमती जनाउँदै यहाँका व्यवसयाीहरुले बधशाला जान अस्वीकार गर्दै आएका छन् ।

यहाँका व्यवसायीहरु आवद्ध बुटवल मासु उत्पादन तथा प्रशोधन कम्पनीले वार्षिक ४७ लाख ३० हजार उपमहानगरपालिकालाई बुझाउने गरी वधशाला सञ्चालन गर्न दिने सहमति एक वर्षअघि भएको थियो । सहमती अनुसार उपमहानगरपालिकाको बैंक खातामा १ करोड ९० लाख रूपैयाँको जमानत समेत पेश गरिसकेका थिए । अन्तिममा उपमहानगरले नै प्रक्रिया नमिलेको भन्दै व्यवसायीहरुसँगको सम्झौता तोडेर नयाँ टेन्डर आह्वान गरेपछि यहाँका व्यवसायीहरु रुष्ट बनेका हुन् ।

०७९ फागुन २७ गते उपमहानगरपालिका प्रतिनिधि सहितको बैठकले पनि वधशाला सञ्चालन बुटवल मासु उत्पादन तथा प्रशोधन कम्पनीलाई दिने सहमति भएको भयो । ‘त्यो बैठकमा मेयर खेलराज पाण्डेय, हेफरका विज्ञ र हामी पनि थियौं । हामीले वार्षिक ४७ लाख बुझाउने सहमति पनि भयो । यो सहमति कार्यपालिका बैठकबाट पारित गर्ने निर्णय भएको थियो’, बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्ण पौडेलले भने ।

तर, उपमहानगरपालिकाले उक्त सहमति अनुसार वधशाला प्रालिलाई दिन कानुनी अड्चन रहेको बतायो र नयाँ वधशाला सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गर्यो । बोलपत्र मुक्तिनाथ लाइभस्टकले पायो । उसले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रूपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने गरी सहमती भयो । ५ वर्षका लागि गरिएको सम्झौताअनुसार अब हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुनेगरी मुक्तिनाथले बधशाला सञ्चालन गर्ने छ । यद्यपी यहाँका व्यवसायीहरु भने त्यहाँ जान अस्वीकार गर्दै आएका छन् । मासु व्यवसायीहरू मिलेर खोलेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई उपमहानगरपालिकाले ‘यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगे’पछि सहमति रद्द गरेको बताएपछि व्यवसायीहरू अहिले उक्त पशु वधशालामा जान तयार नभएका हुन् ।

‘चारवटा उत्पादक समूह र एउटा व्यवसायी समूह मिलेर बनेको यो संयुक्त कम्पनी हो । प्रालिमा प्रदेशका १२ वटै जिल्लाका ७ हजारभन्दा बढी पशुपालक किसान, महिला किसान सहकारी समूह र  मासु व्यवसायी आबद्ध भएका छन्,’ मासु व्यवसायी संघ रूपन्देहीका पूर्व अध्यक्ष समेत रहेका कृष्ण पौडेलले भने, ‘उपमहानगरपालिकाले सहमति तोडेर नयाँ कम्पनीलाई सञ्चालन जिम्मा दिएपछि हामी त्यहाँ नजाने भएका हौँ ।’ वधशालामा आबद्ध किसानहरूबाटै पशुहरू ल्याउने सहमति प्रालिले गरेको गरेको र प्रालिका अनुसार १२ वटै जिल्लामा ४० हजार महिला उद्यमी खसी बोका उत्पादनमा लागेको समेत उनले बताए ।

बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पनि पारित गरिसकेको छ । विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।वधशालामा व्यवसायीलाई आकर्षित गर्न उपमहानगरपालिकाले मासु पसल सुधारमा आर्थिक अनुदानदेखि मासु व्यवसायीका सन्तानको छात्रवृत्ति, वधशालाको मासु प्रयोग गर्ने व्यवसायीलाई २५ प्रतिशतसम्मको राजश्वमा छुट तथा मासु व्यवसायीको मुनाफाको सुनिश्चितता सम्मको योजना सार्वजनिक गरेको छ । यद्यपी यहाँका मासु व्यवसायीहरुले भने यसप्रति कुनै चासो व्यक्त गरेका छैनन् । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल सबै व्यवसायीहरूलाई समेट्ने गरी आफूहरू अघि बढेको बताउछिन् । उनले वधशाला सञ्चालन कार्यविधिबाट व्यवसायीको व्यवसायमा कुनै असर नपर्ने स्पष्ट पार्दै उपमहानगरको विधिमा सबै आउनुपर्ने बताइन् ।

वधशाला सञ्चालनको जिम्मा पाएको कम्पनी भने व्यवसायीहरुले साथ दिनेमा ढुक्क छ । कम्पनीका कार्यकारी प्रमुख उमेश आचार्यले वधशाला शुरू भएको बताए । अहिले वधशालामा पशु वध गर्न केही व्यवसायीहरू आएको बताउँदै विस्तारै व्यवसायहरू आउनेमा आफूहरू ढुक्क रहेको बताए । ‘दैनिक पाँच वटासम्म वध भएका छन् । व्यवसायी र उपमहानगरपालिकासँग छलफल भइरहेको छ । व्यवसायीहरू आउनुहुनेछ’, उनले भने । शुरुमा व्यवसायीहरूले ल्याएको खसी बोका वध गरिदिने र वध गरेको शुल्कमात्र कम्पनीले लिने भनिए पनि व्यवसायीहरूकै माग अनुसार कम्पनीले नै खसी बोका खरिद गरि वध गर्ने गरेको उनले बताए ।

‘हामीकहाँ वध गर्न ल्याए वध गरिदिन्छौँ । कतिपयले वध गरेकै लान खोज्नुहुन्छ । त्यो व्यवस्थापन पनि हामीले गरेका छौँ’, उनले भने ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।