बुटवलबाट हिड्दा विहानको सवा सात बजिरहेको थियो । दिन शुक्रवार । महिना बैसाख । साल २०८१ नै । कपिलवस्तुको चार नम्बरमा पुग्दा खाजासँगै हामी चियाको चुस्कीमा थियौं । एकछिन त्यतै भुलियो । तर धानखोला नपुग्दै सडक जाम परेको थाहा पाइयो । जामका बेलामा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनमगरसँग भेट हुने अवसर मिल्यो ।
कालो शिसाबाट ..
मैले झण्डावाल मोटर देखेर नजिकै गएपछि झ्यालको कालो शिसा खुल्यो । खै ! त मन्त्रीज्यू भनेर सोधें । नवनियुक्त मन्त्रीज्यूले मै त हुँ मन्त्री भने । ए ! दीपेन्द्र दाइ पो भनेर मैले उनलाई भनें । उनलाई मैले चिनेको थिएँ तर उनले मलाई चिन्ने कुरा भएन । एकछिन परिचय गरेपछि उनले टाउको हल्लाएर विदा भए । करिव तीनघण्टा जाम भएपछि हामीहरु चार नम्बरको खाजाले जनतन धानियौं । खाना खाँदा दिउँसोको दुई बजिसकेको थियो बड्डाँडामा । मीठो खाना खाइयो । बोडीको तरकारीको स्वादले खुबै लोभ्यायो । कुखुराको झोलको के बयान गरुँ र ? सरुमारानी गाउँपालिकाको प्रशासनिक भवन नजिकै रहेको उक्त होटलको चहलपहल राम्रै देखियो । गाउँपालिका अध्यक्ष खडकबहादुर विकसँग भेट्ने अवसर जुरेन ।
त्यहाँ पुग्नु अघि हामीले बांगेसालमा रहेको नर्सरीमा श्रीखण्ड, टिम्बुरका बारेमा खुवै छलफल गरेका थियौं । त्यहाँका नर्सरी नाइकेले हामीलाई खुबै राम्रो तरिकाले जानकारी गराएका थिए । वरिष्ठ वन अधिकृत रामध्यान शाहले हामीलाई थप जानकारी गराएका थिए । प्युठानमा श्रीखण्डको व्यवसायिक खेती हुन थालेको रहेछ । त्यो कुरा सुनेपछि हामीले नौलो अनुभव गरेका थियौं ।
मर्दा यही काठले जलाउनू ..
खासगरेर प्युठानका माधवरसिंह खत्रीले आफू भारतबाट नेपाल छुट्टीमा घर फर्किदा २०२५/२०२६ सालतिर २ वटा बेर्ना ल्याएका रहेछन् । उनले घरपरिवारलाई अरु केही नभने पनि मर्दा यही काठले जलाउनू भनेका रहेछन् । घरपरिवारले माधवरसिंह मर्दा सिङ्गै रुखको काठले उनको लास जलाएका रहेछन् । यो कुरा २०६४ सालको हो । वनस्पति विभागबाट प्रमाणित हुनु अघि उनका घरकाले श्रीखण्डको बलो बनाउने, घाँस काट्ने, टौवाको खाँबो बनाउने र फरुवा, बलेनीमा राखेको कुरा वन अघिकृत हरिप्रसाद पौडेलले जानकारी दिदैं थिए हामीलाई ।
हामीले प्युठानको साँडेखोला नजिकै श्रीखण्ड काटेर थुपारेको हेरेका थियौं । कोठा नै मङ्ग बसाएको थियो । काठ बेच्दा नै प्रतिकिलो एक हजार पर्दोरहेछ । माल बेच्दा प्रतिकेजी दुई हजार पाँच सयदेखि चारहजार रुपैयाँसम्म पर्ने उनै हरिप्रसादले जानकारी गराएका थिए । हामीले बिजुवारमा पुनम मसला उद्योग÷कञ्चन प्रशोधन उद्योग( जडीबुटी) हेरेका थियौं । रेश्म खत्रीले टिम्बुर,बेसार,श्रीखण्डको व्यापार गर्दा रहेछन् । यो कुरा सुनेपछि नेपाली जडीबुटीको अवस्थाका बारेमा बुझ्ने अवसर प्राप्त भयो ।
डेढ, दुई लाख पर्ने श्रीखण्ड..
प्युठानको सयमुरी गाउँ नजिकै श्रीखण्डको लहर नै बारीभरि देख्यौं । स्थानीयहरुले मनग्य आम्दानी गर्ने हामीले अनुमान गरेका थियौं । १५ देखि २० वर्षभित्रमा श्रीखण्डको बोट तयार हुँदो रहेछ काट्नका लागि । त्यतिञ्जेल एउटा रुखलाई करिव डेढदेखि दुई लाख रुपैयाँ पर्दोरहेछ । प्युठानमा गिरिराज नामका ब्यापारीले नै श्रीखण्डको व्यापार थालेको थाहा पाइयो ।
बिजुरवार बजारहुँदै प्युठानकै हिमाल अल्लो कपडा उद्योग हेर्न बडहरा पुगेका थियौं । त्यहाँ हामीले अल्लो,त्यसको प्रशोधन प्रक्रिया, पद्दति र त्यसबाट बनेको सामग्रीका बारेमा ब्यापकरुपमा जान्ने र बुझ्ने अवसर प्राप्त भएको थियो । त्यहाँ मैले नगद पाँच सय रुपैयाँमा एउटा अल्लोको टोपी लगाएर अग्लो भएँ । फोटो भने फेकोफनका लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले खिचेकी थिइन् । डिभिजन वन कार्यालय, पाल्पाका मणि खनाल, रामचन्द्र लामा, यमलाल पोख्रेल लगायतले टोपी किनेर स्थानीय अल्लो उद्योगलाई प्रवद्र्धन गर्ने कुरामा सहयोग गरे । यो कुरा सुनाउँदा हर्ष लागेको छ ।
फर्किन थाल्दा झपक्क साँझ पर्न थालेको थियो । स्थानीय तुलसा थापासँग भेट भयो । पाँच छोरी र दुई छोरीकी आमा तुलसा थापासँग छोटो कुरा गर्ने अवसर मिलेको थियो । हामी हतारहतार प्युठानको भिङ्गग्री फर्किन थाल्यौं । त्यतिबेला मैले सोही जिल्लाका संघीय सांसद माननीय सूर्य थापासँग श्रीखण्ड खेतीका बारेमा चासो देखाए । उनले आफ्नो जिल्ल्ला जडीबुटीका लागि लायक जिल्ला भएको उल्लेख गरे । देशभरि नै वन डढेलो लागेपनि तुलनात्मकरुपमा प्युठानमा कमी डढेलो लागेको थाहा भयो । जसपुर आइसकेपछि रोल्पा जाने बाटो हान्नियौं ।
चेरेनेटा काटेर जानु भो ..
त्यतिबेला चेरेनेटा काटेर आइसकेका थियौं । जनवादी गायिका चुनुमाया गुरुङले गाएको गीतको खुबै याद हायो । उक्त गीतको रचना र संगीत वरिष्ठ जनवादी गायक मणि थापाले गरेका हुन् । सामना परिवारले निकालेको हुरी चल्दैछ भन्ने क्यासेट एल्वममा यो गीत समावेश गरिएको पाइन्छ । सुरुमा यो गीत चुनुले गाउनुभन्दा अर्कैले गाएकी थिइन भन्ने कुरा संगीतकार चिरन बरालबाट थाहा लाग्यो । चेरेनेटा काटेर जानू भो
जानू भो ..
द्वन्द्वकालमा यो गीतले खुबै मार्केट लिएको थियो । यतिबेला उनै गायिका चुनुको पार्टीले सरकार हाँकिरहेको छ । उनलाई उनकै सरकारले धेरै सम्झेको होला वा चेरेनेटा डाँडोले ।
प्यूठानको भिङ्ग्री पुग्दा रातको आठ बजिसकेको थियो । चन्द्र होटलमा गास र बासको व्यवस्था भयो । हुन त हामी त्यहाँ नपुग्दै मणि सरले व्यवस्थापन गरिसकेका थिए । दुईजना चालकसँग हामी २० जना साथीहरु दुईवटा बोलेरो गाडीमा यात्रा गरेका थियौं । यात्रामा डिभिजन वन कार्यालय, पाल्पाका वन प्राविधिक कर्मचारीहरु, वन उपभोक्ता महासंघ, पारिवारिक नीजि वन, स्थानीय सरकारका जनप्रतिनिधिहरुको उपस्थिति थियो । जडीबुटी फोकल टीमको यो भ्रमणको खास उद्देश्य भनेकै श्रीखण्ड खेती, यसको बजार र अवस्थाका बारेमा खोज, अध्ययन र अनुसन्धान नै थियो । समुद्रीसतहदेखि एक हजार दुई सय मीटरमा राम्रोसँग हुर्किने श्रीखण्डको खेती भने दुई हजार मीटर उचाइँमा सफल भएको वन प्राविधिकहरुबाट थाहा लाग्यो ।
त्यसैले पाल्पाका सबै पालिकामा श्रीखण्ड खेती सम्भव छ भन्ने हाम्रोमात्र होइन, यहाँको हावापानी र प्राविधिले प्रमाणित गर्न सक्छ । हाम्रो टोलीमा बगनासकाली, माथागढी र रम्भा गापाका जनप्रतिनिधिहरु थिए भने सामुदायिक वन समन्वय समितिको तर्फबाट मैले सहभागिता जनाएको थिएँ ।
ढुंगे बगैँचामा रमाउँदा..
शनिवार विहानै स्वर्गद्वारी पुगियो । दर्शन गरियो । फोटो खिचियो । भिङ्ग्री फर्र्किदा बुटवलमा सिएमए पढ्दाका साथी नवराज केसीसँग स्वर्गद्वारी प्रवेशद्वारमा भेट्ने अवसर मिल्यो । एक स्नेप फोटो झिलिक्क मारियो । उनको चियाको अनुरोधलाई स्वीकार्न सकिएन । रोल्पाको सदरमुकाम लिवाङतिर लागियो । हेरिटेज होटलमा खाना खाइयो । हीरा दिदीको सहकारीले सञ्चालन गरेको कोसेलीघरमा आवश्यक गेडागुडी किनियो । फर्किनेबेला सातदोबाटोमा रहेको ढुंगे बगैंचामा घुमियो । हामीले एकछिन ढुंगाबाट निर्माण भएका बगैंचालाई राम्रोसँग नियाल्यौं ।
रौल्पाकै सुलिचौरमा टेकबहादुर घर्तिमगरले सञ्चालन गरेको जडीबुटी प्रशोधन केन्द्र हेरेका थियौं । कोरोनाले ठहरै परेका उनी, बल्लतल्ल तङ्ग्रिन सकेका रहेछन् । उनले टिम्बुरको तेल उत्पादन गरेर फ्रान्स,बेलायत र जर्मन लगायतका देशहरुमा पठाउने गरेको कुरा सुनाइरहेका थिए । स्थानीयहरुलाई रोजगार दिदै आएका टेकबहादुरले थ्रीफेस बिजुलीबाट चल्ने नयाँ मेसीन ल्याउने कुरा गरेपनि बिजुलीको अभावका कारण समस्यामा परेको कुरा सुनेपछि सोही जिल्लाबाट संघमा प्रतिनिधित्व गर्ने ईश्वरी घर्तिमगरलाई समाधानका लागि फोन सम्पर्क गरेको थिएँ । हामी फर्केको भोलिपल्ट नै उनी टेकबहादुर दाइको उद्योगमा पाइला टेक्न पुगेकी थिइन् । आफूले सक्दो सहयोग गर्ने माननीय ज्यूले प्रतिवद्धता जनाएको कुरा टेकबहादुर दाइले फोनमार्फत मलाई सुनाएका थिए ।
श्रीखण्डको बेर्ना उपहार..
फर्किदा बांगेसाल नर्सरी केन्द्रबाट एकएक थान श्रीखण्डको बेर्ना उपहार प्राप्त गरेका थियौं । रामध्यान शाहप्रति आभार प्रकट गर्दै राति १० वजेतिर बुटवल आइयो । भ्रमणबाट हामीले श्रीखण्ड र टिम्बुरका बारेमा धेरै कुरा सिक्ने अवसर प्राप्त गरियो । श्रीखण्डको खोजीमा दौडिएका हामीहरुले गुडिरहेको बोलेरमा श्रीखण्डलाई खेतीको रुपमा विकास गर्न सकेमा आम्दानी अखण्ड गर्न सकिने चर्चा गरेका थियौं । नजान्दामा श्रीखण्डकालाई खुर्पाको बींड बनाउने चलन आज पनि उखानकै रुपमा कायमै छ ।
श्रीखण्ड चन्दन,
हो....लाको माया
लाछैनौं नभन
परौला बन्धन !
प्रतिक्रिया