लागू औषधको दुर्व्यसनमा परेकाहरू दुर्व्यसनीबाट मुक्त हुन सक्दैनन् भन्नेहरूका लागि गतिलो जवाफ हुन् मनोज सुवेदी। पिता दानबहादुर सुवेदी र माता मिनादेवी सुवेदीका दोस्रो सन्तानका रूपमा उनको जन्म बि.स.२०३७ साल असार १ गते मोरङ जिल्ला बेलबारी नगरपालिका वडा नम्बर ३ मा भएको थियो।
परिवारमा चार दाजुभाइ र आमाबुबा गरि ठूलौ परिवार थियो। पिता दानबहादुरको होटल व्यवसायबाट पारिवारिक जोहो चलिरहेको थियो। परिवारमा बाआमाको बीच निरन्तर भइराख्ने झै–झगडाले उनको कलिलो मानसिकतामा नराम्रो प्रभाव पार्यो। सानैदेखि पढ्नमा खासै रुचि नराख्ने मनोज अन्य कामहरूमा भने निकै मेहनती थिए। बलिष्ठ शरीर भएको कमिक्सको पात्र डोगाबाट उनी निकै प्रभावित थिए। आफूलाई उक्त पात्रसँग तुलना गर्दै बाल्यकालमा निकै रमाएको उनी संझन्छन्।
घरको बिग्रिएको वातावरण र गलत साथीभाइहरुका संगतका कारण उनी दुर्व्यसनको दलदलमा फस्न पुगे ।आमाबुवाको पैसा चोरेर घुम्ने, चलचित्र हेर्ने र साथीभाइहरूसँग चुरोट, खैनी रक्सी हुँदै लागू पदार्थको दुर्व्यशनसम्म पुगे। दुर्व्यशनकै लागि भारतको दिल्लीसम्म पुगेको उनले बताए ।
विगतलाई संझदैं उनि भन्छन्, ‘अभिभावकहरू ले आफ्नो बालबच्चाहरूको अगाडि आवेग पोख्नु हुँदैन। उनीहरूका आवेगले बच्चाहरुलाई गलत बाटोमा धकेल्न सहयोग पुग्छ ।’
वयस्क भइसकेपछि उनी विवाह बन्धनमा बाँधिए तर दुर्व्यसन कै कारण उनको दाम्पत्य जीवनयात्रा सुखद हुन सकेन, अन्तत्वगत्व बैवाहिक जीवन सम्बन्ध विच्छेदसम्म पुग्यो। लामो दुर्व्यसनको यात्राबाट मुक्त भइसकेपछि मनोजले साथीहरूसँग मिलेर झन्डै १० वर्ष बेलबारी प्लस रिहेब सेन्टर नामको सुधार केन्द्र सञ्चालन गरे। आफूजस्तै थुप्रै लागू पद्धार्थ दुर्व्यसनमा लागेका युवाहरूलाई सुधार गराउँदै सामान्य जीवनमा फर्काउन उनले मद्दत गरे। यही वीचमा उनको गुरु प्रकाश राइसँग भेट भयो । उनको निर्देशन र प्रेरणाले नै उनले कठोर शारीरिक व्यायाम गर्न शुरु गरे।
उनको शारीरिक सुगठनको यात्रालाई सरसर्ती नियाल्दा उनको पहिलो प्रतियोगिता नेपाल च्याम्पियन थियो। २०७६ चैत्र १ गते धरानमा भएको सो प्रतियोगितामा उनले ६५ केजि वजन समुह स्वर्ण पदक जित्न सफल भए। त्यस प्रतियोगिताको तयारीका लागि ८५ केजी वजनबाट झन्डै २० केजी वजन घटाएको मनोज स्मरण गर्छन्। पहिलो प्रतियोगितामा नै सफल सावित भएका मेहनती मनोजले त्यसपछिका खेल जीवनमा पछाडि फर्कनु परेन। उनले प्रतियोगिताहरुमा एकपछि अर्को सफलताको स्वाद चाख्न थाले।
त्यस्तै मिस्टर कञ्चनजङ्गा प्रतियोगितामा उनले ६५ केजी तौल समूहमा नै अर्को स्वर्ण पदक जिते। चौथो मिस्टर कोशीमा समेत उनले ७० केजी समूहमा स्वर्ण पदक प्राप्त गरेका थिए। तेस्रो मिस्टर ग्यालेक्सी प्रतियोगितामा त उनले शीर्ष उपाधि बिजेता नै बन्न सफल भए । उनको पदक यात्रा अधि बढ्दै गयो । चौथो बुल्सम्यान राष्ट्रव्यापि प्रतियोगितामा ६५ केजी तौल समूहमा पुनः उनि स्वर्ण पदक हात पार्न सफल भए । आठौं ‘मिस्टर हिमालय राष्ट्रिय शारिरीक सुगठन’ प्रतियोगितामा मनोजले आफ्नो मनपर्ने वजन समूह ६५ केजीमा स्वर्ण पदक लिए ।
उनको जीवनको सबभन्दा ठूलो प्रतियोगिता ५५ औँ एसियाली शारीरिक सुगठन प्रतियोगिता थियोे। जुन नेपालमा सम्पन्न भएको थियो । त्यसमा उनले ऐतिहासिक रजत पदक जित्न सफल भए। एशियाली प्रतियोगितामा राष्ट्रिय झन्डा फहराउन पाउँदा स्वर्गीय आनन्दको अनुभूति भएको उनी बताउँछन्।
नयाँ खेलाडीहरूका लागि उनको ३ सुझाव
–सम्भव भएसम्म प्राकृतिक आहारहरुबाट नै सुगठित शारीरिक बनोट बनाउने कोसिस गर्नुपर्छ।
–विज्ञ र कुशल प्रशिक्षकको चयन गर्नु पर्छ।
–व्यायामशालाहरूको छनोट गर्दा अत्याधुनिक सामानयुक्त व्यायामशालाको नै छनोट गर्नु पर्छ।
हाल मोरङ सुन्दरहरैचा नगरपालिका विराटचोकमा रहेको स्ट्रेन्थ जिम एन्ड फिटनेस क्लबमा दैनिक तीन घण्टा व्यायाम गर्ने गरेको मनोेज बताउँछन्। आफ्नो गाउँ ठाउँमा आधुनिक व्यायामशाला खोल्ने उनको योजना छ। उनको पनि सबै नेपाली खेलाडीहरुले जस्तैै भविष्यमा शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जित्ने सपना बोकेका छन् ।
उनको विचारमा हिजोआज प्रतियोगिता सम्पन्न भइसके पश्चात खेलाडीहरूले आफ्नो असफलताको दोषारोपण निर्णायकहरुलाई गरेको देखिन्छ । यो कुरा चित्तबुझेको छैन उनलाई । आफ्नो डाइट प्लानको बारेमा चर्चा गर्दै उनी भन्छन् ूबल्की सिजनमा म आलमन्ड,काजु,किसमिस छोकडा,ओखर,दुध, ओट्स,मह र सप्लिमेन्टको प्रयोग गर्छु। खानामा ५०० ग्राम चिकेन,२० वटा अण्डा (पहेंलो भाग समेत), एभोगाडो र अन्य मौसमी फलफुलको प्रयोग गर्छु। भने कटिङ फेजमा प्रत्येक दिन एक क्यारेट अण्डा, एक केजी चिकेन ब्रेस्ट, ५०० ग्राम ब्रोकाउली,५०० ग्राम गाजर, ५०० ग्राम मुला र सप्लिमेन्टहरु लिने गरेको छु । उनको सबैभन्दा मनपर्ने फलफुल ग्रीन एप्पल हो।
उनको विचारमा हामीले दिनभरिको २४ घण्टामध्ये कम्तीमा एक घण्टा आफ्नो शरीरका लागि छुट्याउनु पर्छ। शुद्ध खानपानले मात्र स्वस्थ्य शरीर बनाउन सकिन्छ। मनोज भन्छन् ूदुर्व्यशन अपराध होइन यो त मानसिक रोग हो। कठिन भएपनि प्रयास गर्ने हो भने लागूऔषध दुर्व्यसनबाट बाहिर आउन सकिन्छ । जीवनका कुनैपनि विधाहरुमा सफल हुन पनि सकिन्छ।ू
प्रतिक्रिया