बुटवल । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।
यसै बीच आजको खेलमा नेपालले प्लेइङ ११ मा पाँच परिवर्तन गरेको छ । नेपालले आजको खेलमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई मौका दिएको छ । पहिलो खेलबाट विवेक यादव, प्रतिश जि.सी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन् ।
नेपालको प्लेइङ ११ : लोकेश बम, अनिल कुमार शाह, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेल ।
प्रतिक्रिया