ताजा अपडेट »

मध्य-नेपाललाई एक फन्को लगाउँदा

आइतबार, ०९ बैशाख २०८१, ०६ : ४५
308 Shares
आइतबार, ०९ बैशाख २०८१
308 Shares

मानिस गतिशिल, सामाजिक तथा सर्वोत्कृष्ट चेतनाले भरिएको प्राणी हो । यस कुरालाई समयक्रमसँगै अगाडि बढाउनका लागि उ समय समयमा अध्ययन अवलोकन भ्रमणका निम्ति आन्तरिक तथा बाह्य यात्रामा निस्कने गर्दछ । विश्वका कैयौँ चर्चिर उद्योगी, व्यवसायी, दार्शनिकहरुका विचार तथा अभ्यासहरु यात्राकै शिलशिलामा उत्पन्न भएको ईतिहास हामी सामू रहेका छन् । बेलाबखतमा गरिने अवलोकन तथा अध्ययन अनुसन्धान भ्रमण मानसिक स्वास्थ्यका लागि समेत प्रभावकारी प्राकृतिक थेरापी हो । यसले मानिसको स्मरण क्षमता तथा सोच्ने शैलीमा समेत परिवर्तन ल्याउने गर्दछ । यस्तै पक्षलाई ध्यान दिएर मिती २०८० फाल्गुन २५ देखि २८ गते सम्म नेपाली भूगोलको मध्य नेपाललाई एक फन्को लगाउने अवसर प्राप्त भएको थियो । यस प्रकारको अवसर कार्यरत संस्था कान्ति माध्यमिक विद्यालय बुटवल ४ रुपन्देहीले प्रदान गरेको थियो ।

शैक्षिक भ्रमणको शिलशिलामा लुम्बिनी, गण्डकी, मधेस तथा वागमती प्रदेशका रुपन्देही, नवलपरारी बर्दघाट पूर्व, नवलपरासी बर्दघाट पश्चिम, चितवन, मकवानपुर, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर काठमाडौं, धादिङ जिल्लाका महत्वपूर्ण धार्मिक तिर्थस्थलहरु, नमुना शिक्षालयहरु, ऐतिहासिक पर्यटकीय स्थलहरुको अवलोकन तथा अनुभवहरु साटासाट गरिएको थियो । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृति, बहुजातीहरुको साझा मुलुक भएको कारणले गर्दा पनि हरेक स्थानमा फरक फरक कला, साहित्य र जीवनशैली रहेका छन् । ती विविधताले आफ्नै मौलिक शैलीमा स्वागत गरिरहँदा मन निकै प्रफुल्लित नहुने कुरै रहेन ।

शैक्षिक भ्रमण देशका नमुना माध्यमिक विद्यालय, प्राविधिक शिक्षालय हुँदै विश्वविद्यालयहरुका राम्रा अभ्यास र शैक्षिक गणुस्तर अभिवृद्धि गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकका बीचमा के कसरी त्रिकोणात्मक सम्बन्ध स्थापित गर्ने वा सञ्चालन गर्ने भन्ने विषयमा केही सैद्धान्तिक तथा व्यवहारिक जानकारी प्राप्त भएको छ । शैक्षिक भ्रमणको क्रममा प्राप्त गरेका अनुभव र सम्भावनाहरुलाई यहाँबाट छलफल गर्नु यो स्मरणको प्रमुख लक्ष्य रहेको छ ।

शैक्षिक गतिविधिका क्षेत्रमा
अधिकाशं नेपाली सामुदायिक विद्यालयमा परम्परागत शैलीमा नै सैद्धान्तिक ज्ञान मात्रै सिकारुमा हस्तान्तरण गरेको आरोप लाग्ने भएता पनि यो भ्रमण प्रत्यक्ष अवलोकन गरिएका बाल त्रिभूवन माध्यमिक विद्यालय ढोगी नवलपरासी बर्दघाट पश्चिम, जिरी माध्यमिक विद्यालय जिरी दोलखा, जिरी प्राविधिक शिक्षालय जिरी दोलखा तथा काठमाडौं विश्वविद्यालयले वास्तवमा सम्पूर्ण शैक्षिक कार्यक्रमहरुलाई पूर्णरुपमा प्रयोगशाला विधिबाट शिक्षण गरेका भेट्न पाँउदा निकै सन्तुष्टि मिलेको छ । अध्ययन अवलोकन भ्रमणबाट हरेक विद्यालयमा विज्ञान प्रयोगशाला मात्रै होईन सम्पूर्ण विषयका प्रयोगशाला कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा त्रिभूवन बाल माध्यमिक विद्यालयको अभ्यास मुलुकले नै अनुसरण गर्न आवश्यक रहेको महशुस गरियो ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयका सरोकारवालाहरुले कसरी निरन्तर कर्म गर्नु आवश्यक छ ? त्यसका लागि कस्तो मोडल अभ्यास गर्न सकिन्छ भन्ने कुराको प्रत्यक्ष अवलोकन जिरी माध्यमिक विद्यालयमा गरियो । अतिथी र सहकर्मीको सम्मान कसरी गर्दा वास्तविक रुपमा राम्रो हुन्छ भन्ने कुराको नमुना जिरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक खम्बक सरले हामीलाई प्रभावकारी तवरले नै सिकाउनु भयो । काठमाडौं विश्वविद्यालयको अवलोकनले हामीलाई शैक्षिक साम्रगीको प्रयोग, व्यवस्थापन तथा शिक्षक अभिभावक र सिकारुका बीचमा कायम राख्नु पर्ने सम्बन्धका बारेमा अतुलनीय व्यवहारिक ज्ञान प्रदान गरेको छ । वर्तमान समयमा रुपन्देही विद्यार्थी सङ्ख्याका हिसाबले देशको उत्कृष्ट जिल्ला बनिरहेता पनि व्यवहारिक शिक्षा र अभिाभावक बीचमा राख्नुपर्ने सम्बन्धका विषयमा सामान्य अवस्थामा नै रहेको महशुस भयो ।

पर्यटन उद्योग सम्बन्धमा
कोभिड १९ को नकारात्मक प्रभाव अत्यधिक मात्रामा भोगेको नेपाली पर्यटन व्यवसायले पछिल्लो समयमा आन्तरिक र बाह्य पर्यटकको माध्यमबाट केही राहत महशुस गरिरहेको छ । नेपाली पर्यटन व्यवसायीहरुका अतिथी सत्कारका शैली र व्यवहार आन्तरिक र बाह्य पर्यटकका लागि समान नरहने विगत देखिको रोग कोभिड १९ पछि पनि कायम नै रहेको कुरा मध्य नेपालको एक फन्को लगाएपछि पुनः अनुभव गर्ने अवसर मिल्यो ।

यात्राको क्रममा बसोबास गरेका तथा खाना खाएका १० वटा होटल तथा रेष्टुराहरु मध्ये महोत्तरीको होटल पवन मिथिलाको सत्कार र अन्य व्यवहारिक व्यवस्थापनको शैली वास्तविक रुपमा देशका सबै होटल तथा पर्यटन व्यवसायीहरुका लागि अनुशरण गर्न योग्य लाग्यो । भ्रमणको अवधिमा मध्य नेपालका महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय स्थलहरु सिन्धुलीगढी सिन्धुली, नेपाली स्वीजरलैण्ड जिरी दोलखा बजार, भिमसेन मन्दिर दोलखा, कालिञ्चोक भगवती दोलखा, शैक्षिक पर्यटनको नमुना काठमाडौं विश्वविद्यालय परिसर देशको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको पाईन्छ ।

स्थानीय उत्पादनको अन्र्तराष्ट्रिय माग
यात्रा अवधिमा पुगेका जिल्लाहरुमा नवलपरासीका स्थानीयको उत्पादन ढकिया, मकवानपुरको आलु, दोलखा जिरीको छुर्पी, धादिङको माछा, काठमाडौं उपत्याँका भित्रमा तीन जिल्लाका हस्तकला केन्द्रित उत्पादन तथा दोलखाकै आहालडाडाँका स्थानीयले स्थानीयस्तरमा पाईने खरी ढुङ्गाबाट निर्माण गरेका कलात्मक कोशेलीहरु, महोत्तरीका स्थानीयहरुले सिर्जना गरेमा मैथीली संस्कृतिमा आधारित चित्रकलाहरु नेपालमा मात्रै नभई विदेशका विभिन्न शहरहरुमा उच्च प्राथमिकताका साथ माग भएको कुरा स्थानीय अगुवाहरुबाट जानकारी पाउदा नेपाली अर्थतन्त्रमा घरेलु तथा साना उद्योग अन्य उद्योगको तुलनामा सफल रहेको महशुस भएको छ । नेपाली भूगोलमा विविधता रहेको छ । जसका कारणले नेपालका हरेक भौगोलिक क्षेत्रमा अनेक प्रकारका औषधिय क्षमता रहेका जडिबुटीहरु उपलब्ध रहेका छन् । तिनको पहिचान गरि नेपालमा मात्रै नभई विदेशमा पनि निर्यात गर्न सकिने अवस्था रहेको कुरालाई प्रतयक्ष रुपमा नजिकैबाट नियाल्ने अवसर पाउँदा यात्रा ऐतिहासिक रुपमा सफल रहेको छ ।

खेर गईरहेका स्थानीय उत्पादन
यात्रा शिलशिलामा नेपालमा पाईने ३२ प्रकारका लालीगुँरासहरु मध्ये दोलखा जिल्लामा ३ प्रकारका लालीगुँरासहरु जङ्गलमा यतिकै खेर गईरहेको देख्दा हाम्रा शासकहरुको बौद्धित्कताको बारेमा दया जागेर आयो । त्यसैगरि नवलपरासी, चितवन तथा मकवानपुरका कृषकका कृषि उत्पादनहरुमा बिचौलीहरुको अस्वभाविक हस्तक्षेप तथा समयमा भुक्तानी नपाउने समस्या सुन्दा यस्तो अवस्थामा युवाहरु कसरी स्थानीय पेसालाई व्यवसायीकतामा रुपान्तरण गरि खेर गईरहेका स्थानीय उत्पादनको सदुपयोग गरुन जस्तो लाग्यो । जङ्गलमा गुँरासको फूल मात्रै होईन नेपाली अर्थतन्त्रलाई सबल बनाउने आधारका रुपमा रहेका जडिबुटीका साथमा बहुमुल्य काठहरु यतिकै खेर गईरहेका छन् । जसलाई समुचित प्रयोग गर्दै स्थानीयहरुलाई आय आर्जनमा जोड्ने योजना निर्माण तथा कार्यान्वयनमा सम्बन्धित सबै सरोकारवालाहरुको ध्यान पुग्न आवश्यक छ ।

निरास गाँउहरु
शैक्षिक भ्रमणका रुपमा भेटेका अधिकांश ग्रामिण बस्तीहरुमा वैदेशिक रोजगारी तथा आन्तरिक बसाँइसराइका कारणले बस्तीहरुमा वयस्क तथा युवायुतीहरु भेट्न मुस्किल परेको थियो । नेपालीहरुको नियती भनौ या शासकहरुको सोच भनौँ देशमै सानो जस्तोसुकै काम गरेर भएपनि आफ्नै गाँउमा बस्ने परिस्थिती व्यवहारिक रुपमा नभएको कुरा नजिकैबाट नियाल्दा हाम्रो विद्यालयस्तरको पाठ्यक्रम अब स्थानीय सीपमा आधारित बनाउनका लागि ढिलाई भईसकेको बुझ्न सकिन्थ्यो । धेरैजसो स्थानीय मानव बस्तीहरुमा वृद्ध बा आमा र स्कुले उमेरका बालबालिका र केही सरकारी कर्मचारी तथा जनप्रतिनीधि बाहेक वयस्क जनशक्ति देख्न सकिएन ।

पर्यटकीय मार्ग भएकोले गर्दा बस्तीको बाहिरी आवरण सवारी साधनको आवतजावतले रमणीय देखीएको भएता पनि ठाँउमा विश्राम गर्दा स्थानीयसँग गरिएका कुराकानीका आधारमा मध्य नेपालमा ग्रामिण बस्तीँहरुमा पनि महत्वपूर्ण पर्व उत्सव तथा निर्वाचनको समयमा मात्रै बस्तीहरुमा मानिसहरुको चहलपहल हुने रहेछ ।

अन्त्यमा, मध्य नेपालका विभिन्न जिल्लामा शैक्षिक भ्रमण कार्यक्रमले नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि नेपाली माटोका उत्पादन नै सक्षम रहेको र यसका लागि नेपालको आर्थिक विकासको मोडलले स्थानीय नागरिकहरुको सीप तथा उपलब्ध स्रोत र साधनको परिचालनका स्पष्टता पार्न सक्नु पर्ने आवश्यकता रहेको पाईयो । नेपाली शासकहरुका आँखाले जनताको पीडा र विकासप्रतिको लगाव र आसालाई समयमा नै समाधान गर्न नसकेको अवस्थामा नेपाली अर्थतन्त्र अझैधेरै विकराल परिस्थितीमा पुग्ने कुराहरुको सङ्केत मध्य नेपाल एक फन्को लगाउँदा हाशिल गरियो ।  धन्यवाद ।

 

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल