ताजा अपडेट »

इलाम-२ मा काँग्रेसको पनि उम्मेदवारी दर्ता, सुरुवातमै आचारसंहिता उल्लंघन

शनिबार, २४ चैत्र २०८०, १८ : ०८
198 Shares
शनिबार, २४ चैत्र २०८०
198 Shares

इलाम । आगामी वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् ।

पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍यालीले इलाम नगर समेत परिक्रमा गरेको थियो ।

यसैबीच उम्मेदवारी दर्ता गराउन जाने क्रममा खड्काले आचारसंहिता उल्लंघन गरेका हुन् । उनले शुभ साइत भन्दै बालबालिकाको प्रयोग गरेका हुन् । दुई जना नाबालक र ५ नाबालिकालाई अघि लगाएर खड्का उमेद्वारी दर्तामा हिँडेका थिए जुन निर्वाचन आचारसंहिता विपरित हुन आउँछ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को ‘ग’ अनुसार कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धि भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । त्यसै गरी परिच्छेद २ को ‘छ’ मा अठार वर्ष पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ । परिच्छेद ४ को ‘ट’ ले राजनीतिक दल, उम्मेदवार तथा दलको भातृसंगठनले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुुसमा अठार वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । 

आचारसंहिताको उलग्ंघन भएमा प्रकृति र स्वरुप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना वा दण्ड सजायलाई कार्यान्वयन गर्ने तथा उम्मेदवारको उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।