काठमाडौं। नेपाल भ्रमणरमा रहेको आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक गरेका छन् । उनले ६.३ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए भने ह्याट्रिकसहित ४ विकेट लिन सफल भए ।
पहिलो एकदिवसीय क्रिकेटमा बुधबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले ३८ दशमलव ३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाउन सक्यो । नेपालका लागि साहब आलम र मौसम ढकालले २/२ विकेट लिए । रिजन ढकालले एक विकेट लिए ।
आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेले । चौथो नम्बरका ब्याट्सम्यान केडले ५१ जोडे । यस क्रममा उनले ७७ बलको सामना गरी चार चौका हिर्काए । कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निलले ३२ बलमा तीन छक्का र दुई चौका हिर्काए ।
आयरल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । ओपनर ब्याट्सम्यानद्वय जेम्स म्याककोलुम र स्टिफन डोहेनी १२/१२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरले टोलीको खातामा २१ रन थपे । उनले ३४ बलमा एक छक्का र एक चौका प्रहार गरे । आयरल्यान्डले अतिरिक्त रुपमा पनि ७ रन पाएको थियो ।
नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । यसअघि खेलिएको तीन खेलको टी-२० शृंखलामा भने आयरल्यान्ड ‘ए ’२-१ ले विजयी भएको थियो ।
प्रतिक्रिया