ताजा अपडेट »

गुल्मीमा विशेषज्ञ डाक्टरसहितको आँखा अस्पताल स्थापना गर्न जोड

बुधबार, १४ चैत्र २०८०, १९ : ५७
102 Shares
बुधबार, १४ चैत्र २०८०
102 Shares

गुल्मी । नेत्र रोगीहरुका लागि हालसम्म आँखा उपचार केन्द्र मात्रै रहेको गुल्मीमा अब  विशेषज्ञ डाक्टर सहितको आँखा अस्पताल स्थापना गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छ्न् । बुधबार   सदरमुकाम तम्घासमा  आयोजित नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीको २७ औं जिल्ला सभाका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपसभापति तथा लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणाले पहाडी जिल्लामध्ये पाल्पामा आँखा अस्पताल सञ्चालनमा ल्याइसकिएको बताउँदै अब गुल्मी र अर्घाखाँचीमा आँखा अस्पताल खोल्न जरुरी रहेको  बताए । उनले उठाएको विषयलाई स्वागत गर्दै   जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण बहादुर खत्रीले जिल्लामा आँखा अस्पताल खोल्न आवश्यक रहेको र त्यसका लागि गुल्मी जिल्लाका स्थानीय तह, प्रदेश र केन्द्रले जोड रहनुपर्ने बताए ।

सभामा वार्षिअक प्रतिवेदन प्रस्तुत गर्दै संघका सचिव पदमप्रसाद पाण्डेले चालु आर्थिक वर्षको आठ महिने अवधिमा केन्द्रले तोकेको झण्डै ९० प्रतिशत उपचार भएको जानकारी गराए  । उनका  अनुसार यस अवधिमा जिल्लाभर १७१ जनाले आँखाको अप्रेशन सेवा पाएका छन् । अन्य सामान्य आँखा उपचार सेवा १५ हजार ८ सय ५१ जनाले पाएका छ्न् ।

प्रस्तुत प्रतिवेदन अनुसार नेपालमा गैरसरकारी क्षेबाट २०३५ सालमा नेपाल नेत्र ज्योति संघको स्थापना भएको थियो भने गुल्मीमा २०४७ साल प्रारम्भ भई २०४९ सालमा शाखा स्थापना भएको थियो । सदरमुकाम तम्घास बाहेक जिल्लाको पाँचवटा पालिका लाभान्वित हुने गरी वामीटक्सार, शान्तिपुर, सिमलटारी, मदानेको पुर्कोटमा आँखा उपचार केन्द्र रहेको छ । कार्यक्रमको अवसरमा वामी  आँखा उपचार केन्द्रका  कर्मचारी मनबहादुर राना कुमाललाई १० हजार नगद राशीसहित नेत्रज्योति  सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवर, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, राजनीतिक दलहरुको प्रतिनिधित्व गर्दै नेकपा एमालेका नेता गणेश श्रेष्ठ, संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल लगायतले बोल्दै गुल्मीमा विशेषज्ञसहितको आँखा अस्पताल स्थापनामा जोड दिएका थिए ।

संघका जिल्ला सभापति अखिलेश्वरप्रसाद पाण्डेको अध्यक्षता उपसभापति राजेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव पदमप्रसाद पाण्डेले  गरेका  थिए  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।