ताजा अपडेट »

विनोद चौधरीसँग सिआईबीले लियो २ घण्टा लामो बयान

विहीबार, ०८ चैत्र २०८०, १० : २२
204 Shares
विहीबार, ०८ चैत्र २०८०
204 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले विहिबार विहान दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ । छाला जुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एक जना अधिकृतले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानलाई जारी राखेको छ । त्यसक्रममा १८ माघमा अरुण चौधरीसहित ३ जना पक्राउ परे । उनीहरु धरौटीमा छुटे । यसैगरी बुधबार मात्र वसन्त चौधरीलाई बोलाएर कागज गराइएको छ ।

बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा भएको भन्दै तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका लुनकरणदास चौधरीसँग एउटा प्रवर्द्धन सम्झौता गरे, जसमा क्यानभास स्पोर्ट्स जुत्ता उत्पादन गर्ने उल्लेख गरिएको थियो ।

सम्झौतामा ५१ प्रतिशत शेयर करणदास चौधरी र परिवारको नाममा, २५ प्रतिशत बाँसबारी र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो । सम्झौताअनुसार २७ कात्तिक २०४३ मा च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएको थियो भने ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा हस्तान्तरण भयो । थप ४ रोपनी जग्गा पनि च्याम्पियन फुटवेयरको नाममा गयो । त्यो बेला कम्पनीको शेयर सदस्यमध्ये एक थिए, विनोद चौधरी ।

च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१०० कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००र२०० कित्ता शेयर थियो । गंगा चौधरीको नाममा १०० कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो ।

सम्झौता अनुसार सर्वसाधारणका लागि शेयर जारी नै भएन भने तीनरचार वर्ष जुत्ता उत्पादन गरेको च्याम्पियन फुटवेयर बन्द भयो । प्रजातन्त्र पुनर्स्थापनासँगै बाँसबारी छालाजुत्ता कारखाना निजीकरण गरेपछि च्याम्पियन फुटवेयरमा रहेको २ हजार कित्ता शेयर चौधरी समूहले आफ्नो बनायो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।