भैरहवा । सैनामैना क्रिकेट क्लबले भैरहवामा जारी रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को सोमबारको खेलमा सहज जित निकालेको छ । उसले ज्ञानोदय क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै सहजै जित निकाल्न सफल भएको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा १० ओभर १ बलमै अलआउट हुँदै जम्मा ९८ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न सैनामैनाका गणेश गौतमले ६.१ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २६ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुनिल पौडेलले ३ तथा श्रीराम गैरेले १ विकेट लिन सफल भए । ज्ञानोदयका लागि भुवन गैरेले ३३, प्रतिक भट्टराईले १६ र मनिष पौडेलले १३ रन बनाए । उसका ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किंदा अन्य ३ खेलाडीले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो ।
प्रतिउत्तरमा ९९ सय रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३ ओभर २ बलमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जितमा सुनिल पौडेलले ३८, मनिष क्षेत्रीले अविजित २० तथा सुजन क्षेत्रीले १७ रनको योगदान दिए । बलिङमा ज्ञानोदयका आषिश अलीले २ तथा लक्ष्मण खत्री र मनिष पौडेलले समान १/१ विकेट लिए । मैनामैनाका गणेश गौतम म्यान अफ द म्याच घोषित भए ।
प्रतिक्रिया