ताजा अपडेट »

रुपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

बुधबार, ३० फागुन २०८०, १६ : ५७
178 Shares
बुधबार, ३० फागुन २०८०
178 Shares

भैरहवा । मोहम्मद हुसेन र मिथलेश यादवको विस्फोटक ब्याटिङमा प्रोफेसनल मास्टर्स–११ ले भैरहवामा जारी रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता डिभिजन ‘बी’ मा शानदार जित निकालेको छ । उसले बुटवल युथमाथि ३ सय ७९ रनको अन्तरले ऐतिहासिक जित निकालेको हो । साढे दुई दशकको सुपरलिग इतिहासमा यो सबैभन्दा फराकिलो रन अन्तरको जित हो ।

सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको खेलमा पहिले ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४९ ओभरको खेलमा ४७ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर ४ सय ५६ रनको विशाल योगफल बनायो । उसका लागि ९१ बलको सामना गरेका मोहम्मदले २१ चौका र ३ छक्काको मद्दतमा १ सय ४४ रनको पारी खेले । यस्तै, आक्रमक ब्याटिङ गरेका मिथलेशले ८९ रन बनाउँदा अजय त्रिपाठीले ४६, आदित्य त्रिपाठीले ३२, जयप्रताप यादवले अविजित २४, सफ्दरजंग खानले २०, अमनकुमार यादवले १५ र इमरान खानले १४ रन बनाए । बलिङमा बुटवल युथका अनिल चौधरीले ३, प्रविण ढकाल र विनित अधिकारीले २–२ तथा सोनु मल्लाह र अभिषेक पटवाले १–१ विकेट लिए ।

विशाल लक्ष्यसहित ब्याटिङमा आएको बुटवल युथ १८ ओभर १ बलमा ७७ रनमै अलआउट भयो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका मोहम्मद हुसेनले ३, जयप्रताप यादव र अजय त्रिपाठीले २–२ तथा तुसार चौहान र अमनकुमार यादवले १–१ विकेट हात पारे । बुटवल युथका लागि विनित अधिकारीले ३३ र अजय चौधरीले १५ रन बनाए पनि अन्य ब्याटर चल्नै सकेनन्, जसले गर्दा टिम भारी रनअन्तरले पराजित भयो । खेलमा प्रोफेसनलका मोहम्मद हुसेन म्यान अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।