काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले । कुशल भुर्तेलले ५९ रन बनाए । सन्दीप जोराले ५६ रनको योगदान गरे । अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ विकेटका लागि ६४ रनको साझेदारी गरे ।
गुलसन झा १५ रनमा अविजित रहे । छैटौँ नम्बरमा क्रिजमा आएका उनले १२ बलको सामना गरी एक छक्का पनि हिर्काए । लोकेश बमले १४ रन बटुले । विवेक यादबले पनि अविजित १९ रन बनाए । उनले केवल चार बलको सामना गरी तीन छक्का पनि हिर्काए ।
कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किए । आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले अतिरिक्त रुपमा तीन रन पायो । पीएनजीका बलर असाद भालाले दुई विकेट लिए । नोसाइना पोकाना, जोन कारिको र नरम्यान भानुआले एक–एक विकेट हात पारे । यसअघि आइतबार नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण अनिर्णीत रुपमा सकिएको थियो । मंगलबार नै हङकङ र पपुवा न्यु गिनीबिच दोस्रो खेल हुनेछ । हङकङ भ्रमणका क्रममा नेपालले गत शनिबार आयोजक राष्ट्रसँग एउटा टी–२० मैत्रीपूर्ण खेल पनि खेलेको थियो । उक्त खेलमा हङ्कङले नेपाललाई ७३ रनले हराएको थियो ।
नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको तयारीका क्रममा विभिन्न राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । यसैक्रममा नेपाली टोली हङकङ भ्रमणमा गएको हो ।
हङकङ भ्रमणबाट फर्किएलगत्तै नेपाली टोली मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्नेछ । भारतमा नेपालले गुजरात र बरोडासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यो खेलमा पनि विश्वकपकै तयारीका क्रममा खेल्न लागिएको हो । टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
टी–२० विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग र तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल जुन १६ तारिखमा बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया