ताजा अपडेट »

पार्टी कि पानीका फोका !

सोमबार, १४ फागुन २०८०, ०७ : ५८
196 Shares
सोमबार, १४ फागुन २०८०
196 Shares

वर्तमानमा राजनीतिप्रति वितृष्णा जागिरहेको छ । राजनीति, फोहोरी खेल हो भन्नेहरु तयार भएका छन् धेरै नै । राजनीति गर्नेहरुले नीतिहरुको पनि मूल नीति राजनीति हो भनेर पाठ पढाउन छाडेका छैनन् । पुराना पार्टीप्रति राजनीतिक विकर्षण बढिरहेको छ भन्नेहरु नै आफ्ना पार्टीबाट टिकट लिएर जित्नेहरु छन् । जुन पार्टीबाट टिकट लिएर जितेका छन्, जनप्रतिनिधि भएका छन् उनीहरुनै पार्टीका धमिरा बनेर गएका छन् भन्ने कुरा केन्द्रीय कमिटीका बैठकहरुमा एजेन्डा बनिरहेका छन् । यी सबै ठूला पार्टीमा देखिएको खास प्रचारात्मक समस्याहरु हुन् । चुनौती हुन् । खासखास पार्टीका मुद्दाहरु हुन् ।

पार्टी प्रणाली वा संसदीय निर्वाचन प्रणालीमा पार्टी सर्वेसर्वा हुने सबैलाई थाहा भएकै विषय हो । पार्टीहरुले आवाधिक निर्वाचनमा भाग लिन्छन् । श्रेष्ठता हासिल गर्ने पार्टीले सरकार सञ्चालन गर्छ । पार्टीले पठाएका नेता, कार्यकर्ता नै सरकार सञ्चालक हुन्छन् । फरक यति हो कि सरकारमा गएपछि पार्टीका निर्देशन मान्छन् वा पार्टीलाई नै आफैले सञ्चालन गर्ने दुष्सहास गर्छन् ? बुझ्नुपर्ने बेला आइरहेको छ ।

पार्टी भनेको कुनै विवेकहीन झुण्ड पक्कै होइन बरु यो त विचार, सिद्धान्त, संगठन र संघर्षबाट खारिएर आएका सबल नेतृत्वले निर्दिष्ट उद्देश्य, लक्ष्य पूरा गर्न कटिवद्ध र एकतावद्ध  भएर निरन्तर गतिशील हुने संगठनात्मक स्वरुप हो । पार्टीमा अन्तरसंघर्ष र वर्गसंघर्ष नियमित चलिरहेकै हुन्छन् । यिनीहरुको उत्तम परिचालन र व्यवस्थापन गर्न सकेमा पार्टी अग्रगामी भएर जानेछ । उचित व्यवस्थापन हुन नसकेमा पार्टी अधोगतितिर जानेमा कसैको दुईमत रहने छैन ।

ठूला र पुराना कहलिएका पार्टीहरुमा यतिबेला नीति, विचार, सिद्धान्तका लागिभन्दा पनि पद, प्रतिष्ठा र पैसाका विषयमा हानथाप र चोचोमोचो मिलाउन नसक्दा विघटनको अवस्था आइरहेको धेरैको अड्कल छ ।  पार्टीका कार्यदिशा ठिक नहुँदा पार्टीहरुमा बढी दबाब हुनु स्वभाविकै हो तर आन्तरिक लोकतन्त्रको अभाव, कार्यदिशामा परिवर्तनको अभाव र स्पातिलो विचारको सही व्यवस्थापन गर्न नसक्दा पार्टीहरु स्वतः विघटनको अवस्थामा पुगिरहेका छन् । पुग्दैछन् र पुगिसकेका छन् ।

पार्टी स्थापनाका आफ्नै उद्देश्यहरु हुन्छन् र छन् । पार्टी स्थापना अनि विघटन नियमित प्रक्रिया हुन् । पार्टीको मूलध्येय नै सामाजिक, आर्थिक, सांस्कृतिक र आमूल परिवर्तन हुन् । कुनै समय व्यवस्था परिवर्तनका लागि नै पार्टी स्थापना भएका थिए । यतिबेला आर्थिक क्रान्तिका निम्ति भनेर केही नयाँ दलहरु स्थापना भएका छन् ।  दल गठन हुनु, स्थापना हुनु, निर्वाचन कार्यालयमा दर्ता हुनु र ठूलो साइनबोर्ड टाँगेर पदको बाँडफाँड गर्नु कुनै नौलो र आश्चर्यका विषय हुँदै होइनन् ।

आज पुराना दलहरु साँचिक्कै विघटनका अवस्थामा पुगेकै हुन् त ? बाहिरी हल्ला सत्य हुन् त ? नयाँ पार्टीहरुले पुराना पार्टीलाई विस्थापित गर्दैछन् त ? २०७९ को स्थानीय, प्रदेश र संघीय निर्वाचनको मत परिणाम र सामाजिक संघसंस्थाहरुको निर्वाचनमा देखिएका मत परिणामले के सन्देश दिइरहेका छन् ?

पार्टीले आफ्ना संगठनहरुलाई कामयावी बनाएका छन् वा भद्दा ? पार्टीले आफ्ना महाधिवेशन ठीक समयमा गरेका छन् कि नाइँ  ? पार्टीका महाधिवेशन वा अधिवेशनहरुमा आन्तरिक लोकतन्त्र प्रयोग गरिएका छन् वा टीकेप्रथा कायमै छन् ? पैसाका भरमा पद प्राप्त भएका छन् वा संगठन निर्माणका क्रममा खारिएर आएका नेता, कार्यकर्ताहरुले पार्टीको नेतृत्व गर्दैछन् ? पार्टी बुझेका नेताहरु नेतृत्वमा छन् कि दलालहरु नै पार्टीलाई  दलदलमा फसाउने गरी आन्तरिक संघर्षबाट अघि बढेर पार्टी कब्जा गर्ने योजनामा तल्लीन छन् ? सोचनीय विषय यिनै हुन् ।

पार्टी र पानीका फोका एउटै होइनन् । पार्टी स्थायी संरचना हो, यदि सञ्चालन र व्यवस्थापन गर्न सकिएमा नत्र पानीका फोका बन्ने कुरामा कुनै सन्देह छैन । पार्टीले नेताको हित गर्छ कि जनताको ? पार्टीले नीतिको सेवा गर्छ वा नेतृत्वको ? पार्टीले जतना जगाउँछ कि नेता अघाउँछन् ? यिनै कुरा र विषयकेन्द्रीत रहेर पार्टीको आयु मापन गर्न सम्भव छ ।

पार्टीको पनि आन्तरिक जीवन हुन्छ । जीवन सञ्चालनका अनेक विधि र उपायहरु हुन्छन् । पार्टीलाई अग्रगामी वा दूरगामी बनाउने कुरा पार्टीले अंगिकार गरेको नीति, विचार र सिद्धान्तमा भर पर्ने कुरा हुन् । यिनीहरु व्यवहारसँग मिल्दाजुल्दा छन् कि फरकमोडमा छन् ? सिद्धान्तविनाको व्यवहार जटिल हुनेगर्छ भने व्यवहारविनाको सिद्धान्त भुत्ते । त्यसैले पार्टीहरु जनमुखी हुनका लागि उनीहरुसँग समाज परिवर्तनका खाका छन् कि नाइँ,ख्याल गर्नुपर्ने देखिन्छ । जनताका आवाजलाई मुखरित गर्ने र व्यवस्थापन गर्ने काम भएका छन् कि नाइँ हेक्का गर्ने मौसम आएका छन् ।

त्यसैले पार्टी केवल नामका लागि, पार्टी केवल टिकट प्राप्त गर्नका लागि, पार्टी केवल संकटमा साथमा लिनका लागि वा पार्टी सधैंका लागि ? कुरा यति बुझ्न सकिएमा पार्टीप्रतिको लगाव कायमै हुनेछ ।

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार