ताजा अपडेट »

अमिलो मन लिएर उकालो लागें

खेम पुन दाइको दोस्रो स्मृति सभाबाट फर्किदा

विहीबार, २५ माघ २०८०, २१ : ५६
122 Shares
विहीबार, २५ माघ २०८०
122 Shares

खेम पुुन स्मृतिग्रन्थको विमोचनमा प्रधान सम्पादकको हैसियतमा गिरि श्रीस मगरले बोल्न थालेपछि धेरैका आँखा रसाए । खेम दाइका प्रियसाथी यदुनाथ पाण्डेय धरधरी रोए । सम्पादनका बेला सबैका लेखहरुले आफूलाई पटकपटक रुवाएको कुरा सुनाइरहँदा खेम दाइको दोस्रो स्मृति सभा भावविह्ल भयो । पुस्तकमा ७० जनाका लेख, रचनाहरु संग्रहित छन् । त्यसमा पनि खेमदाइकी जीवनसंगीनीको आलेखले आफू धेरै नै रोएको कुरा गिरि दाइले सुनाए ।

‘आफू कवि भएर रोएँ वा रुञ्चे भएकै कारण कवि भएँ थाहा भएन’ गिरि दाइले यो कुरा सुनाइरहँदा मपनि भावुक भएँ । दाइका कुरा सुनिरहँदा थुप्रैपटक आँसु पुसेको थिएँ । मेरा प्रेरणाका स्रोत थिए खेम दाइ । दाइसँगको त्यतिधेरै लामो घुलमिल त होइन तर सम्झना झन लामो बनेर मन,मस्तिष्कमा घुमिरहेको छ । दाइको माया,स्नेह र सन्देशपूर्ण कुरा सुनिरहँदा छुट्टिन मनै लाग्दैनथ्यो । तिनै खेम दाइको दोस्रो स्मृति सभा गरिरहँदा जीवन कर्कलाको पानी ठानें मैले ।
रोगले थलिएर संसार त्यागेका थिएनन् दाइले । दुर्घटनामा जीवन गुमाएका पनि होइनन् दाइले । एक्कासी मस्तिष्कमा असर पुगेर देह त्यागेका थिए दाइले । दाइको मृत्युले धेरैलाई दुखी बनाएका थिए । दाइको मृत्युले मानिसहरुमा एक किसिमको घृणा थियो मृत्युप्रति । मृत्युले मान्छेलाई चिनाउँदो रहेछभन्ने कुरा दाइको मृत्युपछिको मगरघाटमा उपस्थित शोकसभाले देखाएको थियो ।

जीवनमा जति बाँचे उनी दुःख र सुखले बाँचे । आफ्ना लागि कम र अरुका लागि धेरै बाँचे । असाहयहरुका निम्ति साहारा भएर बाँचे । निमुखाहरुका लागि सहयोगी भएर बाँचे । आधारहीनहरुका लागि आधार दिएर बाँचे । निरक्षरहरुलाई शिक्षाको ज्योति दिएर बाँचे । वृद्धाहरुका लागि लौरो भएर बाँचे । भूमिकाविहीनहरुलाई भूमिका दिएर बाँचे । तर आज आफू मेरेर पनि सधैंका लागि बाँचिरहेका छन् । ‘कल्पनालाई साकार बनाउने मान्छे थिए खेम पुन ।’ यो कुरा प्रमुख अतिथिका रुपमा रहेका माननीय भोजप्रसाद श्रेष्ठले सम्झिदै स्मृति सभामा भनेका हुन् । खेम पुनले समाजलाई दिएका कुरा काफी छन् । उनले जे गरे,समाजकै लागि गरे । जति गरे,प्रशस्तै गरे । उनको भूमिकालाई अबकाले सम्झि रहने हो । प्रमुख अतिथि भोजप्रसादले मन फुकाएर भनेका हुन्  ।

यदु पाण्डेय,घनश्याम पाठक,डा.आरसी आचार्य,बाबुराम भट्टराई,सावित्रा अर्याल,जगेश्वरदेवी चौधरी सबैले नै खेम दाइका राम्रा कामले नै आज सबैका मन,मस्तिष्कमा उनी रहेका सुनाइरहे । खेम दाइलाई सम्झनामा डोराइरहने भनेकै उनका असल काम हुन् । ज्येष्ठ नागरिक,छोरी शिक्षाका लागि उनले दिएको योगदान र सहार
रुलाई दिएको सहारा नै आजका विशेष स्मरण हुन् । खासमा दाइ,औषधी व्यवसायी थिए । त्यसैबाट गरेको आम्दानीलाई जोगाएर पवित्र कर्म गरेका थिए । उनकै सहयोगमा आज डाक्टर,इन्जिनियर,वन विज्ञान,नर्सिङ्ग पढ्नेहरु छन् । सायद दाइको परिवारले गरेको यस्तो पवित्र कर्मलाई खेमओमी पुन कल्याणकारी प्रतिष्ठानमार्फत सबैका बीच पुराउने अभ्यास भएकै छन् । स्मृति सभामा सबैलाई पुस्तक बाँडिएको थियो । स्वागत संस्थाका उपाध्यक्ष डा.नारायण पन्थले र कार्यक्रमको सञ्चालन सचिव युवराज घिमिरेले गरेका थिए ।

प्रतिष्ठानकी अध्यक्ष एवम् खेमराजकी जीवनसंगीनी ओमीकला दिदीले आँसु लुकाउन खोज्दा खोज्दै पनि उर्लिएर आए । सम्हालिएर भनिन्–खेमले छाडेर गएपनि सहयोगी मनहरु मेरै अघि घुमिरहेको भेट्दा मन बुझाउने बाटो भेटेकी छु । उनको भौतिक शरीर हामीसँग त छैन तर उनको कर्म सबैका अघि ठिंग उभिएर सम्झाइरहेका छन् ।
हिड्नेबेला ओमी दिदीको आँखामा खेम दाइको तस्वीर देखें । खेम दाइकी बुहारी सरितामा ससुरा होइन बाबाको स्मृति छल्किएको भेटें । विदा हुनेबेला बटुक र सेलरोटी टोक्दै गर्दा खेम दाइसँग सिद्धबाबा मन्दिरमा सुरुप्प चिया पिएको सम्झिएँ । अमिलो मन बोकेर,दाइकै बाक्लो स्मृतिग्रन्थ च्याँप्दै उकालो लागें । त्यतिबेला श्रृङ्गेश्वर धाम पनि अँध्यारो लाग्यो ।









 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार