ताजा अपडेट »

प्रविधिको आविष्कारमा फड्को मार्दै बुटवलस्थित केएनपीआईका विद्यार्थी

आइतबार, १४ माघ २०८०, १२ : ००
374 Shares
आइतबार, १४ माघ २०८०
374 Shares

बुटवल । बिकसित शहरहरुमा फोहर व्यवस्थापन ठूलो समस्या र टाउको दुःखाईको विषय बन्दै गएको छ । विशेषगरी नकुहीने फोहर व्यवस्थापन चुनैतीपूर्ण बन्दै गएको बेला बुटवल–१२ तामनगरस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (केएनपीआई)का विद्यार्थीले नयाँ प्रविधिको आविष्कार गरेका छन् । जुन आविष्कारले अब नकुहिने फोहर व्यवस्थापनलाई सहज बनाउने छ ।

शिक्षालयमा अध्ययनरत ७ जना विद्यार्थीको समूहले फोहर कम्प्रेसन मेसिन निर्माणको काम पूरा गर्न लागेको छ । जसको निर्माण ९९ प्रतिशत बढी सकीएको उनीहरुले बताएका छन् । जसलाई ‘ग्रमवेज कम्पेक्टर’ नाम दिइएको छ । जसमा खुल्ला रूपमा संकलन गरिएको कवाड जन्य बस्तु, फलाम तार तथा प्लाष्टिक जन्य बस्तुलाई थिचेर निश्चित आकार प्रदान गरी सानो एकाईमा परिणत गरिन्छ ।

शिक्षालयका मेकानिकल डिपार्टमेन्ट प्रशिक्षक निरज तिवारीका अनुसार सम्भवतः यो आविष्कार परीक्षणको रुपमा नेपालकै ठूलो आविष्कार हुनेछ । यो नयाँ आविष्कारले विदेशिने रकमलाई मुलुकमै राख्न ठूलो मद्दत पुग्ने छ । विद्यार्थीहरुले १५/२० दिनमै निर्माणको काम सकेर सफल परीक्षण भैसकेको तिवारीले बताए । अब उनीहरुले माग भएअनुसार अहिलेको तुलानामा थप छोटो अवधिमै कम्प्रेसर तयार पारेर उपलब्ध गराउन सक्ने छन् । सोही बमोजिम उनीहरूले विद्युतबाट फोहरलाई थिचेर सानो एकाईमा वक्स आकारमा निर्माण गर्ने गरी फोहर व्यवस्थापन गर्ने छन् ।

शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु विनोद पौडेल, अनुप घिमिरे, सम्राट बस्याल, सुवास पुरी, मनिस थारु, अमुल भट्टराई र शुसिल चौधरीको समुहले यो मेसिन बनाएका हुन् । जसलाई सन्धीखर्क नगरपालिकाले आफ्नो फोहर मैला व्यवस्थापन केन्द्रको लागि प्रयोग गर्न अर्डर दिएको हो । यसअघि निर्माण गरेको टपरी बनाउने मेसिनको पोजेक्ट सफल भएपछि यो मेसिन बनाउन थालेको विद्यार्थी अनुप घिमिरेले बताए । अध्ययनका क्रममा सिकेको सीप र ज्ञानलाई प्रयोग गरेर यो मेसिन तयार पारिएको उनको भनाई छ ।

विद्यार्थीहरूले प्रोजेक्टको प्राटिकलका रूपमा यो मेसिन बनाएको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्राचार्य नविन किशोर गैरेले बताए । उनका अनुसार करिब ११ लाख ५० हजार लागतमा १५० टन क्षमताको यो मेसिन तयार भएको छ । जबकी यही मेसिन भारतबाट खरिद गर्दा २५ देखि ३० लाखसम्म लागत रकम रहने उनी बताउँछन् । नेपालमै कम्प्रेसर उत्पादन भएपछि हालको प्रचलित बजारमूल्यभन्दा करिब आढा रकममा उपलब्ध गराउन सकिने उनको दाबी छ । यो मेसिन पालिकाहरूलाई फोहोर व्यवस्थापनमा बढी उपयोगी हुने भएकाले बिभिन्न पालिकाहरूसँग कुरा भइरहेको शिक्षालय प्रमुख गैरेले बताए । पालिकाहरूले मेसिनको माग गरेमा थप मेसिन निर्माण गरेर उपलब्ध गराउन सकिने उनले बताए ।

मेकानिकल ईन्जिनीयरिङ्गको छैटौ सेमेष्टरका विद्यार्थी यसैगरी विभिन्न उपकरणको अनुसन्धानमा व्यस्त हुने गर्दछन् । मेकानिकल ल्यावमा विद्यार्थीहरूहरूलाई ५ वटा समूहमा विभाजन गरिएका छ । समुह विभाजन पश्चात उनीहरूले निर्माण गर्ने उपकरणको विषयमा प्रस्तावना पास गरेपछि सोही अनुसार यन्त्र तथा उपकरण विद्यालयले उपलब्ध गराउँदै आएको छ । अन्य सामानको लागत, खरिद, कच्चा पदार्थको प्रयोग, बजार मुल्य, उत्पापदन पछिको बजार भाउ लगायतको विषयमा विद्यार्थीहरूले सम्पूर्ण प्रतिवेदन तयार पारेर अनुसन्धानलाई अघि बढाउँछन् ।

उनीहरुले पाठ्क्रममा आधारित आ–आफ्ना उपकरण निर्माण (आविस्कार) मा व्यस्त रहेका हुन्छन् । विद्यार्थीहरूले बनाएको उपकरणको बजार माग भएमा पुनः शिक्षालयमा रहेको उत्पादन एकाईले सम्पूर्ण लगानी गरेर उत्पादन समेत गर्दै आएको छ ।  सोही अनुसार यो भन्दा पहिला टपरी बनाउने मेसिन ६ वटा भन्दा बढि उत्पादन एकाईको लगानीबाट निर्माण गरी बिक्री समेत गरिएको शिक्षालयका प्राचार्य गैरेले जानकारी दिए । जसबाट आएको निश्चित प्रतिशत नाफा विद्यार्थीहरूले पाउँछन् ।

शिक्षलयमा अध्ययनरत विद्यार्थीहरुले कम्प्रेसर बाहेक अन्य ५ नयाँ उपकरण निर्माणको कामलाई पनि अन्तिम रुप दिने तयारीमा छन् । उनीहरुले हातले घुमाएर मौरीको मह चाकाबाट निकाल्ने मेशिन ‘हनी सेप्रेटर’, आँटा गुन्नेदेखि रोटी पकाउनेसम्मका काम एकैपटक गर्न मिल्ने अटोमेटिक ‘रोटी मेकर’, ‘आईसक्रिम रोलर’, कुनै विद्युत वा उर्जा विना प्रयोग गर्न मिल्ने उखु पेल्ने मेसिन ‘सुगर क्यान जुसरी’ तथा हात र खुट्टाको सहायतले कम्प्रेस गरेर इट्टा तथा ब्लक बनाउन मिल्ने ‘मेनुअल ब्रिक मेसिन’ बनाएका छन् ।

यसरी प्राविधिक शिक्षामा विद्यार्थीलाई दक्ष बनाउँदै आएको शिक्षलयमा हाल करिब १ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षालयबाट हजार बढी विद्यार्थीले उत्तिर्ण गर्दै स्वरोजगार तथा रोजगारका लागि विभिन्न देशमा पुग्ने गरेको प्राचार्य गैरे बताउँछन् । उक्ति शिक्षालयबाट गएका कुनै पनि विद्यार्थी बेरोजगार बस्न नपरेको उनले दाबी गरे ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।