ताजा अपडेट »

गाउँतिर घुम्दा

विहीबार, ११ माघ २०८०, १६ : ४३
1.20K Shares
विहीबार, ११ माघ २०८०
1.20K Shares

दया दर्लामी/ २०८०  माघ  ५  गते  । अत्यन्तै  चिसो मौसम । घाम नदेखेको हप्ता दिनभन्दा धेरै भईसकेको थियोे । यो कुरा बर्दघाटतिरको हो । बिहानै ५ बजे उठेर पाल्पाको तिनाउ गाउँपालिका,दोभानमा नौ बजे पुग्नु थियोे । राति,उत्सुकताले निद्रा परेन ।  मोबाईल झिकेर हेरें । विहानको ५  भन्दा अलि धेरै बजिसकेको रहेछ  । बुद्धिमाया मेडमलाई फोन गरें ।  खासै सन्चो नभएपनि नयाँ ठाउँ हेर्ने र दिदीबहिनीहरुसँग भेट्ने रहरले जित्यो उहाँलाई  ।  निस्किने सल्लाह भो ।  बर्दघाटबाट गाडी चढ्दा साढेसात बजिसकेको थियोे ।

बुटवल चौराह पुग्दा नपुग्दै दलबहादुर गुरुङ सरको मोबाइृलबाट गोलपार्कमा भेटेर दोभानतिर लाग्ने सूचना प्राप्त भयो ।  दोभानमा केहीबेरको पर्खाई  र ब्यवस्थापनपछि मिलीजुली बचत तथा ऋण सहकारी संस्थाको टोलीसँगै कचल हिड्यौं  । सोही टोलीको पाहुना भयौं हामी । पहाडमै जन्मी हुर्केकी मलाई प्रकृति मोहले तान्यो । वनजंगल,खोलानाला,पहाड यीनै दृश्यहरुले मनै लोभियो मेरो । मनमोहक दृश्यले हामीलाई खिचिरह्यो ।  दोभानबाट कचलसम्मको करिब एक घण्टाको यात्रामा बाटाभरि आउने विभिन्न गाउँठाउँकाका बारेमा दलबहादुर सरले हामीलाई जानकारी दिदै जानुभो । प्रत्येक गाउँको नाम बताउनु भयो । ती गाउँको महिमा र गरिमा बताउनु भयो । केही गाउँका नामहरु मगर भाषामा नै राखिएका रहेछन् । जस्तैः बूढासटक । आर्खु डी । अगाध माया  रहेछ दलबहादुर सरलाई,गाउँप्रति । हामी दङ्ग पर्याै । हरेक दृश्यहरुलाई आँखा झिमिक्क नगरि हेर्दाहेर्दै ११ः१५ बजेतिर कचल पुग्यो हाम्रो जीप । कचल पुग्नुअधि हामीले दोभानको नयाँबजार,गणेशटोल,घोडेबास,डोल,पासकुण्डा,बूढासटक,खुर्साने,आर्खु डी,पाँचचोटे, हात्तीमारा गाउँ काटेका थियौं । बाटाभरि अम्रिसोले मनै सरर बनायो । 

1

कचलको स्थानीय भात  र गोल्भेडाको चटनीको स्वाद साँच्चै जिभ्रोमै झुन्डिने थियो । तिनाउ गाउँपालिका–१,कचल,वडा कार्यालयको भवनमा दिदीबहिनीहरु बिस्तारै जम्मा हुनु भो । गाउँमा वन संरक्षणको काम चलेको रहेछ । तरपनि सहकारीका अध्यक्ष रवीन्द्र पौडेल ज्यूले स्थानीय सामुदायिक वनका अध्यक्ष रोमबहादुर लम्तरी ज्यूसँग सल्लाह गरेर त्यस दिनको साटो अर्को दिन पूरा गर्ने गरि दिदीबहिनीहरुलाई सहकारीको तालिममा सहभागी हुने ब्यवस्था मिलाउनु भएछ । कति राम्रो सहकार्य । हामीलाई यो कुराले खुसी बनायो । पहाडको यो हार्दिकता अन्य ठाउँमा खोजेर कहाँ पाइन्छ र  ?  पाल्पा जिल्लाको माडीफाँट र रामपुरफाँट पछिको तेस्रो ठूलो कचलफाँट तिनाउ गाउँपलिकाको–१ नम्बर

कचलमा बाटो,बिजुलीबत्ती,वडा कार्यालय भवन,महिला भवन, स्वास्थ–चौकी,वर्थिङ सेन्टर ,सिंचाइ,विद्यालय,स्थानीय कृषि सहकारी,साना किसान सहकारी, हुलाक सबै विकासका पूर्वाधारहरु पुगेका रहेछन् ।  कार्यक्रमस्थलमा महिला अगुवा सावित्रा गुरुङले तातोपानी र चियाले न्यानो स्वागत गर्नु भो । २०७९ को स्थानीय निर्वाचनमा पालिकाको उपाध्यक्षमा उपविजेता सावित्राको हाँसो र मिलनसार व्यवहारले हामीलाई प्रभावित बनायो ।  तिनाउ गाउँकार्यपालिका सदस्य धनीकुमारी बगाले ज्यूसँगको परिचयपछि थाहा भो उहाँ कार्यपालिका सदस्य निर्वाचित हुनुभएको रहेछ । नाताले तिनाउ गाउँपालिकाको संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरकी भाञ्जी पर्नु हुँदोरहेछ ।  उहाँकै प्रमुख आतिथ्यतामा र सहकारी अभियन्ता दलबहादुर सरको सहजीकरणमा सहकारी शिक्षा सुरु भो । दिदिबहिनीहरु हल भरि अटाई नअटाई साना नानीहरु बोकेर  कार्यक्रममा सहभागी भएको देख्दा साँच्चै चेतना त त्यहाँ पो आएछ जस्तो लाग्यो !

2 

बचत कर्ता र ऋणीमात्रै नभएर सदस्यहरुलाई उद्यमी बनाउने सहकारीको उद्देश्य साँच्चै प्रशंसायोग्य थियो । सहुलियत दरमा उद्यमी महिला सदस्यहरुलाई कर्जा दिने कुरा सुनेपछि म झन खुसी भएँ । संस्थाले वर्षेनी उद्यमी महिलाहरुलाई आफ्नो वार्षिकोत्सवमा सम्मान गर्दोरहेछ । हामीसँगै जानु भएकी ढाका उत्पादक तथा  सफल उद्यमी, हितैषी साथी बुद्धिमाया सुनारसँगै कार्यक्रममा परिचित भयौं । सहभागीहरुलाई उद्यमी बनेर आत्मनिर्भर बन्न शुभकामना दियाँै । मैले पनि जनप्रतिनिधिबाट बिदा लिएपछि बर्दघाट चिसापानीमा दुनाटपरी उद्यम सञ्चालन गरेकी छु । यसबाट मलाई जिउने आधार तयार भएको छ । 

कचल पुगेपछि हेर्नै पर्ने टेकबहादुर भाइको ड्राईगन,मेवा र एभोकाडो खेती हेरिसक्दा दिउँसोको तीन  बजिसकेको थियोे ।  साथमा मिलीजुली सहकारीकी पूजा समेत साथी बन्नु भएको थियो । टेकबहादुरको मिहिनेतप्रति प्रभावित हँुदै काँइली दिदीकहाँ खाजा खाएर सधैँ बसौ बसौ लाग्ने कचल र कचलबासीको आत्मीय मायालाई मनभरि साँचेर दोभानतिर ओरालो लाग्यौं । हिड्नेबेला सबैलाई हात हल्लायौं । सावित्राले कचलतिर बस्न अनुरोध गर्नुभएको थियो तर बस्न सकिएन । 

3

बुटवल आईपुग्दा साँझको पाँच बजिसकेको थियो । बर्दघाट,चिसापानी आउँदा आठ बज्दैथियो भने बुद्धिमाया सुनार दिदी,आफ्ना घर चौपट्टा पुग्दा रातिको नौ बज्न लागेको थियो । रमाइलो एकदिने यात्राले मनमा खुसीयाली छायो । नयाँ ठाउँ देख्न र नयाँ साथीहरु बनाउन पाइयो । मिलीजुली सहकारी र दलबहादुर सरप्रति कृतज्ञ छौं । 


 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।