ताजा अपडेट »

हुस्सु र तुषारापातले कष्टकर बन्दै जनजीवन : चिसोबाट बच्न यस्तो छ चिकित्सकको सुझाब

सोमबार, ०८ माघ २०८०, ०८ : २८
352 Shares
सोमबार, ०८ माघ २०८०
352 Shares

बुटवल । पछिल्लो केही दिनयता लगातार चिसोका कारण तराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । हुस्सु, कुहिरो तथा तथा तुषारोका कारण जनजीवन थप प्रभावित भएको हो। पानी परेजस्तै परेको तुषारोका कारण ग्रामीण जनजीवन नराम्रोसँग प्रभावित भएको छ।

अत्याधिक चिसोका कारण सर्वसाधारणहरू घरबाट बाहिर निस्कन सक्ने अवस्था रहेको छैन। चिसोका कारण बजारमा चहलपहल समेत घटेको व्यापारीहरूले बताएका छन्। जाडोका कारण सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या समेत घट्दै जान थालेको छ। तुसारोका कारण किसानहरूले लगाएको नगदे बाली मुसुरो तोरीमा क्षति पुग्ने भन्दै कृषकहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। चिसोका कारण विशेष गरी दैनिक ज्याला मजदुरी गरेर खानेहरुका लागि कठिन बनेको छ ।

यसै बीच लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसीयन डा. नन्दु पाठकले अत्यावश्यक बाहेक चिसोको समयमा घर बाहिन ननिस्कन सल्लाह दिएका छन् । डा. पाठकका अनुसार ८÷१० डिग्री सेलसियसभन्दा कम तापक्रम भएको अवस्थामा घर बाहिर निस्कँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । यो समयमा विशेषगरी बालबालिका तथा वृद्धवृद्धालाई बढी जोखिम हुने उनी बताउँछन् । उक्त उमेरका व्यक्तिहरुमा शरिरलाई आवश्यक पर्ने तापको व्यवस्थापन गर्ने बोसोको मात्रा कम हुनेहुँदा रुघा खोकी, घ्यार–घ्यार हुने, दम, निमोनिया तथा मुटुमा संक्रमण हुने खतरा हुन्छ । यसैगरी यस्तो समयमा वायुमण्डलमा रहेका विभिन्न प्रजातीका जीवाणु पृथ्वीको सतहभन्दा धेरै माथि जान नसक्ने हुँदा तल–तल रहेका ती जीवाणु स्वासप्रश्वासको माध्येमबाट सजिलै मानिसको शरिरमा प्रवेश गरी संक्रमण हुने खतरा बढी रहन्छ ।

डा. पाठकका अनुसार घर बाहिर निस्कनै पर्ने अवस्थामा शरिरलाई प्रयाप्त ताप प्रदान गर्ने बाक्लो कपडा लगाएर मात्रै निस्कनु उपयुक्त हुन्छ । यसैगरी घरको बन्द कोठमा बस्दा समेत तापक्रम व्यवस्थापन गर्न उनले सुझाव दिए । घरभित्र बस्दा कोठालाई न्यानो गराउने भन्दै बढीभन्दा बढी हिटरको प्रयोग गर्ने तथा झ्याल ढोका समेत बन्द गरेर बस्न नहुने उनले सुझाब दिए । घरमा सामान्यतया दिनको समयमा १६ देखि २४ डिग्री सेलसियस हुनेगरी तामक्रम मेन्टेन गर्नुपनेए उनको सुझाब छ । यसैगरी रातको समयमा २४ डिग्रीभन्दा पनि अझै कम तापक्रम हुनेगरी प्रयोग गर्न उनी सुझाब दिन्छन् । यसैगरी न्यायो हुनका लागि झ्यला ढोका सबै बन्द गरेर बस्दा अक्सिजनको मात्रा कम हुन गई ज्यान समेत जान सक्ने भएकाले सचेत रहने उनको सुझाब छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।