ताजा अपडेट »

तिनाउको शान्ति सुरक्षा र अमनचयनका विषयमा छलफल

बुधबार, ०३ माघ २०८०, १३ : २१
744 Shares
बुधबार, ०३ माघ २०८०
744 Shares

पाल्पा । प्रहरी चौकी दोभान, पाल्पामा आएका नयाँ सहायक प्रहरी निरीक्षक पृथ्वीनारायण काफ्लेसँग स्थानीय राजनीतिक पार्टीका नेता,सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले तिनाउको शान्ति सुरक्षा र अमनचयनका विषयमा व्यापक छलफल बुधवार दोभानमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा,प्रवक्ता यादवप्रसाद अर्यालले तिनाउको शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी प्रशासनसँग पालिकाले सहकार्य गर्न तयार रहेको बताए ।  सो कार्यक्रममा सामुदायिक वन समन्वय समिति,तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउ खोलामा विष हाल्ने काम, विद्युत प्रवाह गरेर माछा मार्ने काम अनाधिकृत रुपमा हुने गरेको हुँदा सो गलत कार्यलाई रोक्न प्रहरी प्रशासनले ध्यान दिन अनुरोध गरेका छन् । साथै उनले तिनाउको सुरक्षाका विषयमा तीनतीन महिनामा समीक्षा बैठक हुनुपर्नेमा जोड दिएका छन् । 

त्यसैगरी सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले सिद्धबाबा क्षेत्रमा हुने गरेका असुरक्षित क्रियाकलापहरुलाई अनिवार्य रोक्न अनुरोध गरेका छन् । कार्यक्रममा नेकपा एमालेका रोमबहादुर लम्तरी,माओवादी केन्द्रका राजेश श्रेष्ठले शान्ति सुरक्षाका निम्ति आफ्ना पार्टीले प्रहरी चौकी, दोभानसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।  उक्त कार्यक्रममा दुर्गा थापा,विष्णु पाण्डेय,बिनोद बस्याल, अरविन्द पाण्डेय लगायतले तिनाउको शान्ति सुरक्षामा ध्यान दिन अनुरोध गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।