ताजा अपडेट »

माइला दाइलाई मत !

शुक्रबार, २७ पुस २०८०, ०८ : ००
1.55K Shares
शुक्रबार, २७ पुस २०८०
1.55K Shares

माइला दाइ अर्थात् झपेन्द्रबहादुर घर्तिक्षेत्री (जीसी) । आज उनको जन्मदिन । २०१० साल पुष २७ गते उनी जन्मिएका थिए । जन्मिएको ११ वर्षमा उनकी आमालाई विफरले मास छर्न लग्यो । आमाको स्नेह पाएनन् माइला दाइले । ठूलो परिवार । गरिवीसँग राम्रै साइनो थियो उनको परिवारमा ।

दिदीको विहेपछि उनी पक्का गोठालो भए । १४ वर्षमा माइलाले १३ वर्षकी भगवतीलाई दुलही बनाए । भाँडाकुटी खेल्ने उमेरमा दुल्हादुल्ही भए दुबै । माइलाले १५ वर्षका उमेरमा एक्कासी स्कूलको मुख देखे । एक्कासी तीन कक्षामा भर्ना भए । साढे पाँच वर्षमा माइला त एसएलसी पास ! सुन्दा अनौठो लाग्ने तर सत्य यही हो । नपत्याय उनै माइलालाई फोन गरेर सोध्नु नि !

माइलाले एसएलसी पास गरेपछि मास्टरी गरे प्राथमिक स्कूलमा । प्राइभेट पढ्न थाले उच्च शिक्षा लिन । २०३९ सालमा माइँलाले राजनीतिक शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरे । राम्रै अंक ल्याएका कुरा सुनाउँदै थिए । त्यतिबेला उनी २९ वर्षका थिए । माध्यमिक विद्यालयको हेडमास्टर बनेर अंग्रेजी र गणित खर्खरती पढाउँथे । माइला मिहिनेती थिए र आज पनि छन् ।

माइलाले दिनभर स्कूल पढाउँथे । रातभर जनता पढाउँथे । स्कूलमा जोड सिकाउनेले रातमा जनतालाई दुस्मन घटाउने तरिका सिकाउँथे । जनतामारा सामन्तीलाई गिड्ने भन्थे । पञ्चायती सरकारको सिन्दूर पहिरिएर गणतन्त्र ल्याउन पर्छ भनेर गाउँगाउँमा कुर्लिन्थे । दिनभर मास्टर अनि रातभर पार्टीका नेता ।

२०२७ सालमा नेकपा (पुष्पलाल समूह) को पार्टी सदस्य भए । २०२८ सालमा स्ववियूमा सांस्कृतिक मन्त्री पदमा निर्वाचित भए । प्रलेसको पाल्पा अध्यक्ष समेत भए । सांस्कृतिक क्षेत्रमा उनले अधुम मच्चाए । नाँच्ने, गाउँने, नाटकमा अभिनय गर्ने उनको बानीले उनलाई गजवको संस्कृतिविद् बनायो । संस्कृतिकर्मी ठहरायो ।  माइला दाइ यतिबेला जन्मघर, पाल्पाको मदनपोखरा छाडेर बुटवल ११, सीसीटी कलेज नजिकै मजुवामा बस्छन् । साथमा श्रीमती, बुहारी, नातीनतिना छन् । छोरो कामको दौरानमा नुवाकोट जिल्लातिर छन् ।

amar-ujir pustak bimochan

पञ्चायती व्यवस्था हटाउन र प्रजातन्त्रको पुनर्वहाली गराउन उनले थुप्रै आन्दोलनको नेतृत्व गरेका छन् । प्रहरीका लाठी र बूट थुप्रैपटक चाखेका छन् । बहुदल ल्याउने भनेर जनता जगाउने काममा उनलाई कसैले उछिन्न सकेन । जस्तोसुकै आन्दोलनमा पछि नहट्ने उनलाई जेल त मामाको घरजस्तै भयो । मदनपोखरामा बहुदलीय व्यवस्था ल्याउने कामको अभियन्ता नै उनी बने ।

माइला दाइलाई २०७९ साल अल्लि फापेन । त्यतिबेला उनी पक्षघातका कारण संघीय निर्वाचनमा पाल्पाबाट उम्मेदवार बन्न सकेनन् । हल्का आराम भएपछि लुम्बिनीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने उनको मनसायमा तुषारापात लाग्यो । यतिबेला, पार्टीले उनलाई राष्ट्रिय सभाको औपचारिक उम्मेदवार बनाएको छ । उम्मेदवार बनेर नामदर्ता गर्ने दिन घाँटीभरि माला लगाइसकेका छन् ।  त्यो माला गलाबाट झिक्न नपरे हुन्थ्यो ।

त्यसका लागि लुम्बिनी प्रदेशका ८७ जना सांसदहरुले माइला दाइलाई मत दिए हार्ने कुरै हुन्थेन । यो प्रदेशमा रहेका एकसय नौ पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष अनि उपाध्यक्षले आफ्नो मत माइला दाइको बाक्सामा खर्लप्पै घोप्टाइदिए निश्चित जित्ने थिए ।

माइला दाइ २०५४ देखि २०५९ सम्म तत्कालीन जिविस, पाल्पाको सभापति भए । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलका राजनीतिक सल्लाहकार भए । यसपालि राष्ट्रिय सभामा दमदार उपस्थिति जनाउने दृढ संकल्प गरेका छन् । उनलाई यसपटक राष्ट्रिय सभामा लैजाँदा खेर जाने छैन ।  उनी संस्कृतिकर्मी हुन् । नेपालका भाषा, साहित्य, कला, संस्कृतिमा हजारौं लेख लेखेका छन् । पुस्तक लेखेका छन् । उनको उपस्थितिले राष्ट्रिय सभा शोभायमान हुने थियो । उनको अनुभवले राष्ट्रिय सभा वजनदार हुने थियो ।

jhapendra gc pustak

माइला दाइ, पर्यटनविद् हुन् । तिनाउदेखि टिष्टासम्म र तानसेनदेखि वनारससम्म पुस्तकले पर्यटनप्रतिको उनको विज्ञता झल्किन्छ । उनी नाटककार हुन् । पछिल्लोपटक उनले उजिर अमर ऐतिहासिक नाटक लेखेर आफ्नो पक्षघात भएको शरीरमा उर्जा थपे । उजिरसिंहजस्तै अमर बनाए आफूलाई । हिँड्दाहिँड्दै उनको निवन्धसंग्रहले गाउँले जीवनसँग जोड्छ । बालगीत र कविता लेखेर प्रकाशन गरेका छन् । फागु संस्कृतिका बारेमा अध्ययन र अनुसन्धान गरेर नेपाल प्रज्ञाप्रतिष्ठानलाई जिम्मा लगाएका छन् । सैनामैना दर्पणमा आफ्नो अनुसन्धनात्मक सीपलाई तिखारेका छन् ।

यस्ता मीठा, बुझक्कड माइला दाइलाई तपाइँ भोट दिन पाउने नेताहरुले एक भोट दिए पश्चाताप गर्नुपर्ने छैन । कुनामा बसेर रुनुपर्ने छैन । बरु माइला दाइले फागुमा भैलो खेल्नेछन् सभामा । तीजको मौका पारेर तीजगीत घन्काउने छन् रोष्टममा । नाटक देखाउने सरकारलाई आफै नाटक लेखी आफै अभिनय गरेर चकित पार्नेछन् ।

यस्ता विद्वान मान्छेलाई लैजाने भनेर बनाएको थलो हो राष्ट्रिय सभा । यस्तै विज्ञहरुलाई पुराउने ठाउँ हो भनेर बनाइएको सभा नै राष्ट्रिय सभा हो । यस्तै पाकापुराना र अनुभवीहरुका विद्धत सभा नै राष्ट्रिय सभा हो भनिएको छ । त्यसो भए माइला दाइलाई किन नपुाउने विद्धत सभामा ? उनले राष्ट्रिय सभामा राष्ट्र र राष्ट्रियताका कुरा गर्ने छन् ।  जनता र जनजीविकाका कुरा उठाउने छन् ।

माइला दाइले अनेक पुरस्कार र सम्मान पाएका छन् । रेडियो मदनपोखराको अध्यक्ष भएर सूचना सम्प्रेषित गर्ने अभियानमा निरन्तर सक्रिय छन् ।
माइला दाइलाई जन्मदिनको असीम शुभकामना !

 

 

 

 

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार