लक्ष्मण ज्ञवाली / "यति धेरै सेता बाकस किन बारीभरि राखेका हजुर बा ?" जाडो बिदा मनाउन तराइको घरमा झरेको स्कुले नातिले हजुरबासँग जिज्ञासा राख्दै सोध्यो ।
ल सुन् नाति -" यि सेता बाकसहरू मौरीका घरहरू हुन् । यिनलाई घार भनिन्छ । मौरीहरू यिनै घारमा बस्छन् । यिनीहरूलाई यो तोरीबारीमा राख्नुको कारण -"यिनीहरू फूल फुलेको ठाउँमा बस्न रूचाउँछन् । र, त्यहींबाट आफुलाई वर्ष भरीलाई पुग्नेगरी मह संकलन गर्छन् । " हजुर बाले विस्तार लाउनु भयो ।
"हामीले खाने मह यिनीहरूले नै बनाएका हुन त हजुरबा ?" नातिले पुनः प्रश्न सोध्यो।
"हो त ! यिनीहरूको घारमा एउटी रानी र केही भालेहरू हुन्छन् जसले सन्तानोत्पादनको पूर्ण अभिभारा लिन्छन्।" "यहाँ सिकर्मी डकर्मीको पल्टन हुन्छ ।जसले मह,कुट र बच्चा राख्ने आधार चाकाहरू तैयार गर्छन् ।"
"अर्को ज्यामीहरूको फौज हुन्छ जसले बाहिर गएर फूलको रस चुसेर ल्याएर मह ,कुट उत्पादन गर्छन् । कुट मह चाकाहरूमा अलग अलग ठाँउमा भर्छन् र सिल गरेर राख्छन् ।" "अनि हामीलाई कसरी मिल्छ त मह ?" नातीले जान्न खोज्यो ।
"हेर बाबु यो त मानिस चलाख प्राणी भएकोले उसलाई रत्ताएर उसको भाग खोसेको पो त । सिजन सिजनमा उसले सँगालेको मह थोरै मात्र त्यहीँ छोडेर अरू सबै काढेर निकाल्ने हो ।"
हजुरबाले भन्दै जानु भयो -"उनीहरूका लडाकु सेना , गुप्तचर टुकुडी पनि हुन्छन् ।उनीहरूलाई आघात पर्ने, आफ्नो पेरीफेरीमा दख्खल गर्ने काम कसैले गरे गराएको थाहा पाउनासाथ सबै जुटेर प्रतिकारमा उत्रिन्छन् ।अन्यथा सबै एकापसमा सद्भावपूर्ण वातावरण तयार गरी सिंगो घर चलाएका हुन्छन् । रानीको आदेशमा यी सबै संगठनहरू अनवरत चलिरहन्छन् ।"
"आहा...कति राम्रो चलन ! हामीले पनि यस्तै चलन चलाए हुन्न र ? हजुर बा । हजुर बाका कुरा सुनेर नातिले प्रशन्नता जाहेर गर्दै जिज्ञासा थप्यो । नातिको जिज्ञासा मेटाउँदै हजुरबा ले भन्नु भयो "हुन त कति नै हुन्थ्यो नी । हामीकहाँ त कसैले कसैलाई नटेर्ने भाँडतन्त्र पसिसकेको छ।"
"लोभी पापी लालची राष्ट्रघातीहरूले राष्ट्रियतामा खलल पारिरहेछन्।" "यि सबै कुकर्म छोडेर देश बनाउँछु भन्ने हो भने आखिर एकताको पाठ सिक्न अन्त कहिँ जानु पर्दैन । घरैको मौरीको घार हेरे पुग्छ ।" हजुरबा का कुरा सुनेर खुसी हुँदै नातिले भन्यो । मैले पनि बुझें हजुर बा "एकता "का कुरा ।
प्रतिक्रिया