ताजा अपडेट »

ताइवानको चुनावमा किन छ विश्वको नजर ?

मंगलबार, २४ पुस २०८०, ११ : १५
96 Shares
मंगलबार, २४ पुस २०८०
96 Shares

काठमाडौँ । ताइवानमा यहि जनवरी १३ मा आम चुनाव हुँदै छ । जसमा नयाँ राष्ट्रपति र नयाँ सांसद् (विधायिका युआन) चयन हुनेछन्।चीन र अमेरिकाले यस चुनावमा नजिकबाट नजर राखिरहेका छन् किनभने यो स्वशासित टापु दुवैका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।

आम चुनावको नतिजाले टापुसँग चीनको सम्बन्धको प्रकृतिलाई असर गर्नेछ। यसले सो क्षेत्रमा तनाव बढाउने र विश्व अर्थतन्त्रमा असर पार्न सक्छ।वर्तमान राष्ट्रपति साई इङ-वेनले संवैधानिक रूपमा तोकेको कार्यकालको सीमाका कारण आफ्नो दुई कार्यकाल पूरा गरेपछि राजीनामा दिन लागेकी छन्। चीनले साईको पार्टी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)लाई पृथकतावादी मान्छ।

यद्यपि, डीपीपी नेतृत्वको गठबन्धनले कानून बनाउने, बजेट स्वीकृत गर्ने, युद्ध घोषणा गर्ने र राज्यका अन्य मुद्दाहरू समाधान गर्ने अधिकार भएको ११३ सदस्यीय व्यवस्थापिका युआनमा बहुमत ल्याउने आशा गरेको छ।

चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई हेरौँ-

लाइ चिङ्-ते, प्रजातान्त्रिक प्रगतिशील पार्टी (डीपीपी)
लाई डाक्टर हुन् । उनले ताइवानमा लगभग सबै शीर्ष राजनीतिक पदहरू सम्हालेका छन्। उनी सन् २०२० देखि उपराष्ट्रपति छन्।

उनी प्यान-ग्रीन गठबन्धनका नेता हुन् र सामान्यतया ताइवान पहिचानको समर्थन गर्छन् र चीनसँग एकीकरणको मुखर विरोधी हुन्। उनी चीनको सट्टा अमेरिकासँग नजिक हुने पक्षमा छन् ।

चीनले उनलाई कट्टर ‘पृथकतावादी’ र ‘साई भन्दा खराब’ मान्छ।

तर, चुनाव नजिकिँदै गर्दा उनले साईका शब्दहरू दोहोर्याइरहेका छन्, ‘ताइवान पहिले नै स्वतन्त्र छ, त्यहाँ कुनै थप घोषणा गर्न आवश्यक छैन।’

हु यू-यी कुओमिन्ताङ (केएमटी)
कुओमिन्ताङ एक पूर्वप्रहरी हुन् । सन् २००२ मा न्यु ताइपे सिटी (राजधानीभन्दा बाहिरको क्षेत्र)को मेयरका निम्ति भएको निर्वाचना उनले सजिलै जित हासिल गरेका थिए ।

हु ताइवानमा एक उदारवादी छवि भएको नेताका रूपमा चिनिन्छन् । उनलाई क्षमतावान् नेता पनि भनिन्छ । उनी प्यान–ब्लु गठबन्धनका नेता हुन् । प्यान–ब्लु गठबन्धनमा कुओमिन्टाङ (केएमटी), पिपुल फर्स्ट पार्टी (पीएफपी), न्यु पार्टी (सीएनपी), नन्–पार्टीसन सोलिडारिटी युनियन (एनपीएसयू) र योङ चाइना पार्टी (वाईसीपी) आबद्ध छन् ।

हु चीनसँग मजबुत सम्बन्ध राख्नुपर्ने र एकीकरण गर्नुपर्छ भन्ने नेता हुन् । हालै उनले यथास्थितिलाई साथ दिने बताएका थिए । यसको अर्थ हो, न उनले स्वतन्त्रताको घोषणा गर्नेछन् न त चीनसँग एकीकरणको प्रयास ।

को वेन-जे, ताइवान पीपुल्स पार्टी टीपीपी
सन् २०१४ मा ताइवानको राजधानी ताइपेको मेयर पदका निम्ति भएको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिनुअघि को वेन–जे एक शल्यचिकित्सक थिए । उनले २०१९ मा ताइवान पिपुल्स पार्टी (टीपीपी) गठन गरेका थिए । डीपीपी र केएमटीसँग असन्तुष्ट रहेका मतदातालाई उनले आकर्षित गर्न नयाँ पार्टी खोलेका थिए ।

ताइवान र चीनबीचको सम्बन्धलाई लिएर टीपीपीले हालसम्म स्पष्ट धारणा राखेको छैन । राष्ट्रपतिमा साझा उमेदवारी दिने विषयमा केएमटी र टीपीपीबीच वार्ता भएको थियो । गएको नोभेम्बरमा वार्ता विफल भएपछि वेन–जेले उमेदवारी दिएका थिए ।

ताइवानका जनता के चाहन्छन् ? 
विभिन्न समयमा गरिएका अध्ययन–अनुसन्धानले भन्छ– ताइवानका अधिकांश जनता आर्थिक विकासलाई सबैभन्दा महत्त्वपूर्ण मुद्दा मान्छन् । चीन र ताइवानबीचको तनावलाई उनीहरूले खासै मुद्दा बनाएका छैनन् ।

नेसनल साइन्स एन्ड टेक्नोलोजी काउन्सिलले २०२३ मा गरेको एक अध्ययनमा ३४.२ प्रतिशतले अर्थव्यवस्थालाई सबैभन्दा अहं मुद्दा बनाएको देखाएइको थियो । आउने राष्ट्रपतिले सबैभन्दा पहिला यही मुद्दाको समाधान खोज्नुपर्ने उनीहरूको धारणा थियो ।

अध्ययनमा ज्यादै कम ताइवानीले मात्र चीन र ताइवानबीचको सम्बन्धलाई महत्त्व दिएको पाइएको थियो । चीन–ताइवान मुद्दालाई महत्त्व दिने १८.१ प्रतिशत मात्र थिए ।

ताइवानका जनता खासगरी युवा तथा श्रमिक वर्ग बेरोजगारी, बढ्दो महँगी, घरजग्गा र आवासका क्षेत्रमा भइरहेको मृल्यवृद्धिलाई लिएर बढी नै निराश छन् ।

सन् २०१५ को निर्वाचन अभियानमा साई इङ–वेनले ‘युवा पुस्ताका लागि राम्रो देश’ बनाउने प्रतिबद्धता गरेकी थिइन् । तर, अधिकांश मतदातालाई लागेको छ– उनी आफ्नो प्रतिबद्धतामा खरो उत्रन सकिनन् ।

२०२२ मा भएको स्थानीय निर्वाचनमा डीपीपीले एकदमै खराब नतिजा हासिल गरेको थियो । निर्वाचनको नतिजापछि साईले पार्टीको अध्यक्षबाट राजीनामा दिएकी थिइन् । साईले जनताको जीवनस्तर उकास्न नसक्नु नै डीपीपीको हारपछाडिको कारण भएको धेरैले बताउँदै आएका छन् ।

२० वर्ष तथा योभन्दा बढी उमेर पुगेका र लगातार ६ महिना ताइवान बसेका त्यहाँका नागरिकले निर्वाचनमा मत दिन पाउँछन् । ताइवानमा कुल एक करोड ९० लाख मतदाता छन् । पछिल्लो निर्वाचनमा ताइवानमा ७५ प्रतिशत मतदान भएको थियो ।

चीन र अमेरिका के चाहन्छन् ? 
ताइवान टापु दक्षिणपूर्व चीनको तटबाट १६१ किलोमिटरको दूरीमा छ । चीनमा सन् १९४९ मा भएको गृहयुद्धमा जब राष्ट्रवादी पार्टी कोमिन्ताङ (केएमटी) चिनियाँ कम्युनिस्ट पार्टीसँग पराजित भयो, तब केएमटीका नेताहरू भागेर ताइवान पुगेका थिए । ताइवानमा शरण लिएका केएमटीका नेताले ताइवान सरकार गठन गरेका थिए । त्यति बेलादेखि नै ताइवान टापु स्वशासित रहँदै आएको छ ।

दशकौँपछि ताइवानले अधिनायकवादलाई परास्त गरी नयाँ संविधान जारी गर्दै लोकतन्त्र अँगालेको थियो । ताइवानी जनतामध्ये केहीले मुख्य भूमि चीनबाट ताइवान भिन्न रहेको मान्दै आएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले भने ताइवान चीनकै एक भू–भाग भएको जिकिर गर्दै आएको छ । ताइवानमाथिको नियन्त्रणलाई चीनले आफ्नो राष्ट्रिय सुरक्षा मामिला मान्दै आएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले कैयौँ पटक भनेका छन्– ताइवानसँग एकीकरण भएरै छोड्छ । यसका निम्ति बल प्रयोगको सम्भावना नकार्न सकिँदैन ।

अमेरिकाले भने ताइवानसँगको एकीकरण शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै आएको छ । बल प्रयोग गरी हुने एकीकरणलाई अमेरिकाले स्वीकार्न नसक्ने जनाएको छ । ताइवानमाथि बल प्रयोग गरिए त्यसलाई रोक्न आफू तयार रहेको समेत अमेरिकाको भनाइ छ ।

ताइवान अमेरिकी सहयोगी देशको त्यो सूचीमा छ, जहाँ जापान, दक्षिण कोरिया र फिलिपिन्स रहेका छन् । यसैकारण पनि अमेरिकी विदेश नीतिमा ताइवानले महत्त्वपूर्ण स्थान पाएको छ ।

केही पश्चिमी विज्ञको राय छ– चीनले ताइवान कब्जा गरे यो पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो शक्ति प्रयोग गर्न स्वतन्त्र हुनसक्छ र गुआम र हवाईजस्ता सुदूर अमेरिकी सैन्य अड्डाहरूमा खतरा हुनसक्छ ।

चीनले ताइवानसँगको एकीकरण प्रयास शान्तिपूर्ण हुने जनाउँदै आएको छ ।

ताजा सर्वेक्षणानुसार डीपीपी उमेदवार लाई चिङ–ते केएमटीका हु यु सेभन्दा थोरै अघि छन् । तेस्रो नम्बरमा रहेका टीपीपीका को वेन–जे भने निकै पछि छन् ।

पछिल्ला वर्षहरूमा चीनले एकीकरणका निम्ति ताइवानमाथि निरन्तर दबाब दिइरहेको छ । गएको वर्ष चीनले प्रायः हरेक दिन ताइवाननजिक आफ्ना युद्धपोत तथा लडाकु विमान पठाएको थियो । कहिलेकाहीँ ती विमान ताइवानको क्षेत्रभित्र पनि प्रवेश गर्थे ।

ताइवानको सैन्य शक्ति
चीनले आफ्नो सैन्यशक्ति ताइवानमा केन्द्रित गरेको छैन, अरू स्थानमा खटाएको छ । चीन र ताइवानबीचको शैन्यशक्तिको तुलना गर्दा चीन निकै अगाडि छ ।

चीनको सैन्यशक्तिले ताइवानलाई हराउन सक्छ । यसको अर्थ यो पनि होइन कि ताइवानले कुनै तयारी गरेको छैन ।

अमेरिकाले सन् १९७९ मा ताइवानबाट बाहिरिएर चीनलाई कूटनीतिक मान्यता दिए पनि ताइवान सम्बन्ध ऐनअनुसार चीनलाई हतियार बेच्न जारी राख्यो ।

जुलाई २०२३ मा अमेरिकाले ताइवानलाई हतियार सहयोग प्रदान गर्न ३४५ मिलियनको प्याकेज घोषणा गर्‍यो।

वर्षको अन्त्य हुनुअघि अमेरिकी विदेश विभागले ताइवानको रणनीतिक सूचना प्रणालीलाई सुदृढ गर्न ३०० मिलियनको उपकरणको बिक्रीलाई अनुमोदन गर्यो।

२०२२ मेमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सोधिएको थियो, 'के अमेरिका ताइवानको रक्षा गर्न सक्छ ?' उनले जवाफ दिएका थिए, 'सक्छ ।'

पछि ह्वाइट हाउसले स्पष्ट गर्यो कि ‘एक चीन नीति’ सम्बन्धी वाशिंगटनको नीतिमा कुनै परिवर्तन भएको छैन।

तर, अमेरिकापछि चीनले विश्वमा सैन्यमा सबैभन्दा बढी खर्च गर्छ र चीनसँग नौसेनादेखि मिसाइल प्रविधि, लडाकु विमानदेखि साइबर आक्रमणसम्म धेरै क्षमता छ ।

ताइवान विश्वका लागि किन महत्त्वपूर्ण छ ?
संयुक्त राष्ट्रसंघले ताइवानलाई अलग देशको मान्यता दिएको छैन । विश्वमा यस्ता १२ देश छन् ।

विश्वमा हरेक पल प्रयोग गरिने इलेक्ट्रोनिक उपकरण त्यो चाहे फोन होस् या ल्यापटप, घडी होस् या गेम्स कन्सोल, ती सबैमा ताइवानमा निर्मित कम्प्युटर चिप प्रयोग हुन्छ ।

ताइवानको एउटा कम्पनी ‘ताइवान सेमिकन्डक्टर म्यानफ्याक्चरिङ कम्पनी’को मात्र कुल अन्तर्राष्ट्रिय बजारमा आधा हिस्सा छ । यही एउटा उदाहरणले चिप्स निर्माण तथा बजारमा ताइवानको भूमिका र महत्त्व स्पष्ट देखाउँछ । यसैकारण २०२१ मा उक्त ताइवानी कम्पनीको मूल्य करिब एक खर्ब अमेरिकी डलर निर्धारण गरिएको थियो ।

हालैका वर्षहरूमा वासिङटनले यो प्रविधिमा चीनको पहुँच रोक्न ऊमाथि धेरै प्रतिबन्ध लगाएको छ । यसको एउटै उद्देश्य हो, ताइवानलगायत यो क्षेत्रका अमेरिकी सहयोगीसँग चीनले प्रतिस्पर्धा गर्न नसकोस् ।

यदि, चीनले ताइवानलाई एकीकरण गर्न सफल भए उसले विश्वको सबैभन्दा महत्त्वपूर्ण चिप उद्योगमा नियन्त्रण राख्नेछ । -बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।