एकान्तपना, कलाकारको लागि प्रिय हुँदोरहेछ । सर्जकको लागि स्वर्णीम हुँदोरहेछ । जीवनको ३६ वर्षीय उमेरमा उनी अझै एक्लै छन् । जीवनसाथी रोज्ने मूडमा छैनन् । घरि ढुङ्गामा छिनो चलाइरहेका हुन्छन् । घरि क्यानभासमा कूचि दौडाइरहेका भेटिन्छन् । प्लम्बरमा पनि पोख्त छन् । सिकर्मी, डकर्मी पनि हुन् उनी ।
उनी अर्थात् हरि बयम्बु मगर । पहाड घर पाल्पाको निस्दी अर्चले । २०३३ सालमा उनका बाबा मोहनसिंह बुटवलतिर झरेका रहेछन् । हरि, जन्मिएको बुटवल आदर्शनगरतिर हो । अहिले पनि त्यतै बस्छन् । पढेको बुटवलको लक्ष्मीनगर मावि, ज्ञानोदय मावि र एसएलसी गरेको कान्ति माविबाट रहेछ । इलेक्ट्रिक विषयमा उनले प्राविधिक एसएलसी पनि गरेका रेहछन् सीटीइभीटीबाट । पढाईमा दोयम उनी कलामा भने अब्बल रहेछन् ।
२०६३ मा एसएलसी गरेपछि उनले काठमाडौंको बिजेश्वरी कलेजबाट ललितकलामा इन्टर(आइएफए) उत्तीर्ण गरे । त्रिभुवन विश्वविद्यालयमा विएफएभर्ना भएपनि पढ्न भ्याएनन् । प्राप्त ललितकलाको ज्ञानलाई व्यवहारमा उतार्न देशका धेरै ठाउँहरुमा भौतारिरहे । रुपन्देही,देवदहको बुद्ध सामुदायिक वनमा भएको काष्ठकला कार्यशालामा उनले एक हप्तासम्म काठमा कला कुँदे । बुद्ध बनाए । बुटवलको फूलवारीमा ढुङ्गालाई घोडा बनाए । शिव,पार्वती लगायतका ४२ वटा मूर्ति बनाएर मकवानपुरको हेटौंडामा दुई वर्ष बिताए ।
हरिले कहिलेकाँही पुस्तक पढ्छन् । उनको घरमा पुग्दा ढुङ्ग्रोबाट निकालेर पुराना आफू निर्मित चित्रहरु देखाए । नेपाल व्यवसायी कलाकार संघ,रुपन्देहीका अध्यक्ष बेनु थापाले भनेका थिए–हरि भाइका सिर्जना सुन्दर छन् । सजाउन लायक छन् । उनका सबै किसिमका कला छन् । गुण र क्षमताहरु अजीव छन् ।
पौष २३ गते उक्त संघले आफ्नो संस्थाको स्थापना दिवस र अरनिको स्मृति दिवस मनाइरहेको छ । सोही अवसरमा कलाकार हरि बयम्बु मगरको कलाकारिता प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ । उनी उक्त संघका जिल्ला सदस्य समेत हुन् । कलाकारितामा अति व्यस्त भएकै कारण विहे गर्न भ्याएका छैनन् । कलामा, बिहेले बिथोल्ने भएकै कारण एकाग्रता मन पराउने उनको तर्क छ ।
हरि कम बोल्छन् । घण्टौं आफ्ना कलामा घोत्लिन्छन् । आफूले जिम्मा लिएका कामलाई समयमै फत्ते गर्न पछि पर्दैैनन् । खिस्स हाँस्ने हरिको बानीले कलामा मोहनी थप्ने गर्छ । पानी कलर र तेल कलरमा आफ्ना चित्रकारिता पोख्छन् । भनेजस्तो काम पाइने हो भने महिनाको लाख रुपैयाँ कमाउन उनलाई कठिन छैन । कहिलेकाँही त काममा ठेक्का हान्दा उल्टै घाटा व्यहोर्न परेको दुखेसो सुनाउँदै थिए ।
कलाकारितामा धैर्यता, निष्ठा र एकाग्रता नभइ नहुने गुण रहेछन्–उनी भन्दैथिए । प्रचारमा आउन नखोज्ने, भीडभाडमा बस्न नरुचाउने र कम मानिसहरुसँगको संगत उनको विशेष गुण रहेछन् । विभिन्न संस्थाहरुबाट पुरस्कृत उनी, आफ्ना क्षमतालाई कलामा उतार्न सिपालु रहेछन् । यतिबेला हरिलाई हौशला चाहिएको छ । साथ र समर्थनको खाँचो छ । उनका कलालाई सबैका बीच पुराउनु छ । कराहीमा तेल घोप्टिएझैं उनी कलामा घोप्टिएको देख्दा कतै एकांकी त बन्ने होइन, पीर लाग्छ !
प्रतिक्रिया