ताजा अपडेट »

बुटवलमा सार्वजनिक क्षेत्रका घरटहरा हटाउने अभियान शुरु, पार्क र चौतारी निर्माण गरिने

आइतबार, २२ पुस २०८०, १६ : १५
766 Shares
आइतबार, २२ पुस २०८०
766 Shares


बुटवल। बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको छ। सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उदेश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको हो।

अभियानअन्तरगत आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काइएको छ। सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक पटक पत्राचार गरेपनि स्वतस्फुर्त टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार हाटबजार लाईनमा टहरा हटाएका सडक क्षेत्रबाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस पार्क निर्माण गरिनेछ।

यस्तै नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरु हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए। यस्तै वडा नम्बर ६ र अरु वडामा पनि सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ।

बुटवललाई उपयुक्त विश्रामस्थलका रुपमा विकास गर्नका लागि पर्यटकीय स्थल, पार्कहरु, चौतारीहरु, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा केही स्थानमा मोडेलका रुपमा केही चौतारीहरु निर्माण गरिनेछ र आगामी आर्थिक वर्षमा बुटवलका सबैजसो वडामा पार्क र चौतारी निर्माण गरिनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।