ताजा अपडेट »

प्रदेश राजधानी दाङको व्यथा : ६ घण्टाको पैदल यात्रापछि विद्यालय पुग्छन् दंगीशरणका बालबालिका

आइतबार, २२ पुस २०८०, ०८ : १३
190 Shares
आइतबार, २२ पुस २०८०
190 Shares

दाङ । ६ घण्टा हिँडेर विद्यालय जानुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । दाङको दंगीशरण १ ठाँटी, कालीतरा, बबई १ कप्तानेलगायत ठाउँका विद्यार्थी दैनिक यसरी हिँडेरै बबई गाउँपालिका ७ तल्लो मलैमा रहेको देउती माविमा पढ्न आउन बाध्य छन् । विगतमा विद्यालयमा छात्रावास भए पनि गाउँपालिकाले त्यो हटाएपछि दैनिक ६ घण्टा हिँडेर आउन बाध्य छन् । दंगीशरण गाउँपालिका १ कालीतरा, ठाँटीका विद्यार्थीहरू पढ्न आउने विद्यालय नै देउती मावि हो ।

गाउँमा कक्षा ५ सम्म मात्र पढाइ भएपछि थप पढ्नका लागि उनीहरू बिहान ३ घण्टा र साँझ ३ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको दंगीशरण १ कालीतराका कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुवास विकले बताए । उनले भने, ‘दैनिक ६ घण्टा हिँडेर विद्यालय पढ्न आउने जाने गर्छौं । जङ्गलको बाटो भएकाले जंगली जनावरको डर हुन्छ । जङ्गलको बाटो हुँदा बाघ कराएको आवाज सुनिन्छ । बाध्य भएर आउनु परेको छ । साँझ घर फर्कँदा रात पर्छ । लाइट बालेर जानुपर्छ । विद्यालयमा छात्रावासको व्यवस्था भए हामीलाई राम्रो हुन्थ्यो ।’

दैनिक यसरी पढ्न आए पनि विद्यालयमा नेपाली, गणित विषयका शिक्षकहरू नहुँदा पढाइमा समस्या परेको समेत बताए । उनले भने, ‘अहिले प्रविधिको समय हो‚ हामीले त विषयगत शिक्षक समेत पाएका छैनौँ । विद्यालयमा कम्प्युटर भए पनि नेटको सेवा नहुँदा प्रयोग गर्न पाएका छैनौँ ।’ उनले वार्षिक परीक्षा आउने थोरै समय बाँकी रहेको भन्दै नेपाली र गणित विषयका शिक्षक नहुँदा समस्या भएको बताए ।

बबई गाउँपालिका १ कप्तानेका विद्यार्थीको पनि उस्तै समस्या छ । उनीहरू पनि दैनिक घण्टौँ हिँडेर विद्यालय आउन बाध्य छन् । विद्यालय आउन बिहान ६ बजे र साँझ घर जाने साढे ३ बजे विद्यालयबाट हिँड्नुपर्ने बाध्यता रहेको देउती माविका कक्षा १० मा अध्ययनरत विद्यार्थी अनुष्का घर्तीले बताइन् । माविसम्म पढ्न देउती माविमा  आउनैपर्ने बाध्यता रहेको बताइन् । उनले भनिन्, ‘विद्यालय निकै टाढा छ। हामी पढ्न आउने विद्यालय भनेको यही नै हो। बिहान ६ बजे घरबाट हिँड्छौँ ।

आजभोलि दिन छोटो हुँदा साँझ घर जाँदा रात पर्छ । जङ्गलमा बाघ कराएको आवाज सुनिन्छ । डराई डराई जानुपर्ने बाध्यता छ ।’ उनका अनुसार विद्यालयबाट साढे ३ बजे घर हिँडेपछि साँझ साढे ६ बजे पुगिन्छ । विद्यालयमा गत वर्षसम्म छात्रावास हुँदा आफूहरू जस्ता विद्यार्थीलाई सहज भएको र त्यो हटाएपछि अहिले समस्या भोग्नु परेको उनको भनाइ छ । शिशु कक्षादेखि कक्षा १० सम्म पढाइ हुने विद्यालयमा करिब साढे २ सय विद्यार्थी छन्।

त्यसैगरी विद्यालयमा विषयगत शिक्षकहरूको दरबन्दी नभएको र यो शैक्षिक सत्रदेखि गाउँपालिकाले छात्रावास नै हटाएपछि विद्यार्थीलाई समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक रत्न केसीले बताए । २०४६ सालमा स्थापना भएको विद्यालय २०५१ सालसम्म प्रावि रहेको थियो । २०६३ सम्म निमावि र २०७१ सालदेखि माविमा सञ्चालनमा आएको समेत उनको भनाइ छ। विद्यालयमा मावितर्फ विषयगत शिक्षकहरूको दरबन्दी कम हुँदा समस्या भएको समेत उनले बताए । उनले भने, ‘नेपाली र गणित विषयका शिक्षकहरू हुनुहुन्न । अहिले काम चलाउ रूपमा विज्ञान शिक्षकले गणित पढाउँदै आउनु भएको छ। यसले पनि पढाइमा समस्या भएको छ।’ नेपाली र गणित विषयका लागि मावि दरबन्दी नहुँदा निमाविका शिक्षकले पढाउँदै आए पनि नेपाली शिक्षकको सरुवा भएपछि पढाइमा समस्या भएको उनले बताए। यस्तै उनले विगतका वर्षहरूमा विद्यालयमा छात्रावासको व्यवस्था भए पनि गाउँपालिकाले यो वर्षदेखि हटाएपछि अहिले विद्यार्थीलाई समस्या भएको बताए ।

यस्तै उनले प्रविधिको युगमा यस ठाउँमा सञ्चारको सुविधा नहुँदा विद्यार्थीहरू त्यो सुविधाबाट वञ्चित भएको बताए। उनले भने, ‘एउटा संस्थाले कम्प्युटर दिएको छ । यहाँ मोबाइलले त काम गर्दैन । नेटका त कुरै छाडौँ। हामीले ती कम्प्युटर प्रयोग गर्न सकेका छैनौँ। फोन गर्न त डाँडामा जानुपर्छ ।’ त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बुढाका अनुसार गणित र नेपाली विषयका शिक्षकहरू नहुँदा धेरै समस्या भएको भन्दै यसबारे गाउँपालिकामा जानकारी गराइएको छ। विद्यालयमा विषयगत शिक्षकहरू नहुँदा विद्यार्थीहरू त्यतिकै बस्ने गरेको उनको भनाइ छ। उनले भने, ‘स्थानीय सरकारमा हामी जाँदा २–४ महिना पर्खन भनिन्छ। परीक्षा आउन थाल्यो‚ साह्रै दुःख लाग्छ।

विषयहरू पूरा पढाइ नहुँदा विद्यार्थीहरूले कसरी परीक्षा दिन सक्छन्रु’गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र वलीका अनुसार विद्यालयमा संघीय अनुदानका एकजना शिक्षक रहेको र उनले गणित र विज्ञान पढाउँदै आएका छन्। अर्का एकजना पनि गणित शिक्षक रहेको र नेपाली शिक्षकको सरुवा भएकाले अहिले शिक्षक नभएको समेत बताए। उनले भने, ‘त्यसका लागि सरुवा भएर आउने कि नयाँ शिक्षकका लागि विज्ञापन गर्ने भन्ने छ।’

विगतमा आवासीय रूपमा कार्यक्रम आएको हुँदा विद्यालयमा छात्रावास सञ्चालन भएको र योपटक त्यो कार्यक्रम नआएको हुँदा बन्द भएको उनले बताए। उनले भने, ‘कार्यक्रमका लागि बजेट आएन। गाउँपालिकाले पनि विनियोजन गरेन।’

सुमन केसी
लेखकको बारेमा
सुमन केसी