ताजा अपडेट »

यस्तो छ नेपाली सेनाले बुटवल उपमहानगरलाई हस्तान्तरण गर्न लागेको जितगढीको ईतिहास

शुक्रबार, २० पुस २०८०, ०९ : २२
642 Shares
शुक्रबार, २० पुस २०८०
642 Shares

बुटवल । ऐतिहासिक तिनाउ नदीको दायाँ किनारमा अवस्थि जितगढी किल्ला आज नेपाली सेनाले बुटवल उपमहानगरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बुटवल उपमहानगरपालिका–१ मा अवस्थित यो गढीको संरक्षण तथा सुरक्षाका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा हस्तान्तरण गर्न लागिएको हो ।

तिनाउ नदी किनारमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेको जितगढी किल्ला केही वर्ष अघिसम्म गाईबाख्रा चर्ने थलो बनेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै पूर्व मेयर शिवराज सुवेदीको पालामा यसको संरक्षण थालिएको थियो । बुटवल उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय थलोका रुपमा विकास गर्ने योजनासहित विभिन्न संरचनाहरु पनि निर्माण भएका छन् । जितगढी किल्लाको बिकास गर्ने भनि यहाँ विभिन्न संरचनाहरु निर्माण गरिएपछि ऐतिहासिकता मेटिने भयो भनेर आलोचना पनि भएका छन् ।


यस्तो छ जितगढी किल्लाको ईतिहास :
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले वि.स. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा अंग्रेजहरुलाई घुडा टेकाएको थियो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुटवलको जितगढी किल्लाले विजय प्राप्त गरेको २ सय ८ वर्ष पूरानो इतिहास अझै पनि गर्व गर्न लायक छ । अंग्रेजहरुलाई हराउन सफल जितगढी किल्ला इतिहासका बहादुर नेपालीहरुका लागि मात्र होइन वर्तमान र भावि सन्ततिहरुका लागि पनि गर्व गर्ने र शाहस प्रदान गर्ने किल्ला हो ।

२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन । कुमाउ/गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढ्यो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भयो तर नेपाली सेनालाई हराउन सकेनन् । त्यो समय युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर युद्धका लागि तयारी नपुगेको ठानी फिर्ता गएको थियो ।

जनरल उडकै नेतृत्वमा तीन महिनापछि तयारीकासाथ फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो । इतिहासका जानकारहरुका अनुसार पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अग्रेजविरुद्धको युद्धमा वि.सं. १८७२ मा विजय हासिल गरी विजय पटाका फहराएका थिए । तत्कालिन समयमा जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

तिनाउ नदीको दायाँ किनारमा अवस्थित पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएका र ईटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईटाहरुको लम्बाई चौडाई क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ ।

वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघि देखि नै गढीको अस्तित्व रहेको बताइए पनि यसको पुष्टि भने हुन सकेको छैन । यो गढीको प्राचीन स्वरुप कस्तो थियो यकिन साथ भन्न सकिदैन । उजिरसिंह कै समयमा यो गढीको स्वरुप कस्तो थियो त्यो पनि भन्न नसकिने यसबारेमा अध्ययन गरिरहेकाहरुले बताउछन् । संभवत उजिरसिंहको समयसम्म यो गढी पूर्ण रुपमा थियो र वि.सं. १८७३ पछि क्रमशः यो गढीको महत्व र प्रयोग नभएकोले उपेक्षित हुँदै गएको हो कि भन्न सक्ने अवस्था रहेको जानकारहरु बताउँछन् । (यसअघिको समाचारमा अन्यथा भएकोमा सच्याइएको छ ।)

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।