ताजा अपडेट »

रुपन्देहीबाट पूर्व राजा ज्ञानेन्द्रले भने ‘सबैलाई देख्यौं बुझ्यौं, म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु’

बुधबार, १८ पुस २०८०, १६ : ५५
1.32K Shares
बुधबार, १८ पुस २०८०
1.32K Shares

बुटवल । यसै साता रुपन्देही आएका पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियतालाई बढाएका छन् । २ साताको समय लिएर यहाँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका पूर्व राजा ज्ञानेन्द्रले रुपन्देहीमा आएर भेटघाट तथा गतिविधिलाई सक्रिय बनाएका हुन् ।

यसैबीच बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवा आएका भेट गरेका छन् । भेटका लागि लिङ्देन र मिश्रसहित राप्रपा महामन्त्री धवलशमशेर जबरा, सांसद दीपक सिंह सहभागी थिए। उक्त भेटका क्रममा पूर्वराजा शाहले आफूले ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्दै आएको बताएका छन्।

उक्त भेटपछिको तस्बिर राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले बुधबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रका अनुसार पूर्वराजा शाहले उक्त भेटका क्रममा आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने भएको सन्देश पनि दिएका छन्। ‘हामी सबैले धेरै देख्यौँ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु’, उनले भने, ‘मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरा लागि बराबर छन्।’

पूर्वराजा शाह गत पुस ८ गते दुई साताका लागि भैरहवा आईपुगेका हुन्। अनौपचारिक भेटघाटमा व्यस्त शाहाले विभिन्न व्यक्तिहरूलाई सामूहिक र एक्लाएक्लै भेटेका छन्। त्यहीक्रममा राप्रपा नेतृत्वसँग पनि उनले संवाद गरेका हुन्।गत शनिबार उनले शिवराज नगरपालिका–३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका थिए। नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको शालिक शिवराज नगरपालिकाले निर्माण गरेको छ।

यसैगरी भोली बिहीबार भैरहवामा पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रम छ। नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी भएको हो।  पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयेन्द्रसहित भैरहवामा छन्। उनी भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बसेका छन्।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।