शनिवार, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्दा दिउँसोको ढाइ बज्दै थियो । हामी आमा सेमिनारमा सहभागी हुन त्यतै पुगेका थियौं । कार्यक्रमको आयोजक मानवसेवा आश्रम,बुटवल थियो । स्वागत गेटमा हामीले पँहेलो टीका लगायौं । आमा सेमिनारको लोगो अंकित तक्मा छातीमा पहिरियौं । भित्रतिर पुग्दा तल्लो र माथिल्लो तला भरिभाउ थिए । राता कूर्चिहरुमा आनन्दले बसिरहेका थिए सहभागीहरु ।
प्रमुख अतिथि थिए–लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचन । उनले आमाहरु महान भएको बयान गरे । विशिष्ट अतिथि प्रदेशसभा सदस्य माननीय भोजप्रसाद श्रेष्ठले मानवसेवा आश्रमको बयान गर्दै मानवताको सहर बनाउने अभियानमा आफूहरु सधैं क्रियाशील रहेको सुनाए । जिल्ला समन्वय समिति,रुपन्देही र चितवनका प्रमुखहरु उमाकान्त चपाइँ र नारायण अधिकारी,बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आमाका बारेमा आआफ्ना तर्कहरु प्रस्तुत गरे । शुभभावना प्रकट गरे । कार्यक्रम सफलताको कामना गरे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भगवानको प्रतीक नै आमा भएको सुनाउँदै सबैका घरघरमा भगवानका दूत बनेर आमा आएरहेकी छिन् भने । शुभभावना प्रस्तुतसँगै मानवसेवा आश्रमले विगत एक दशकदेखि गर्दै आएका मानवीय प्रवद्र्धनका काम र आफ्नो महाअभियानका भिडियो क्लीपहरु प्रदर्शन गरिएका थिए । मानवीयताको राष्ट्र नेपाल बनाउने सपना बोकेर हिडिरहेको मानवसेवा आश्रमले शनिवार बुटवलमा आयोजना गरेको आमा सेमिनारका सहजकर्ता थिए आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी ।
उनले आमाको बयान गर्दै दिलमाया आमा र आश्रमकी कान्छी आमाका जीवन्त भिडियो क्लीपहरु देखाउँदै आमाको महिमा र गरिमा सुनाए । उनले साहित्यिक पारामा दिएका अभिब्यक्तिहरु सबैका मनमनमा बास गरे । आमाका बारेमा कविता,भावना,विचार,कथा सबै सुनाए । सहभागीहरुमध्ये धेरैका आँखामा कोशी र कर्णाली उर्लिए । मन भावुक भए । भएकाले आमालाई ढोग गरे,गएकाले आमालाई सम्झिरहेछ । मनमा अनेक प्रश्नहरु जन्मिए । आमा,बाबा र गुरुलाई रामजी सरले पुनः सम्झाए । ध्यान गर्न लगाए । ज्ञान प्राप्तिको मार्ग सुनाए ।
गीतभन्दा भजन,भजनभन्दा मन्त्र,मन्त्रभन्दा प्रार्थना ठूलो हुने कुरा सिक्ने अवसर प्राप्त भयो । संसारमा सबैभन्दा ठूलो सेवा,मानवसेवा रहेको विभिन्न चित्र,फोटो र भिडियो क्लीपहरुमार्फत थाहा भयो । बिर्सिएका कुराहरु फेरि सम्झना भयो । सेवा नै सबैभन्दा ठूलो कर्म रहेछ भन्ने सुक्ति सुन्न पाइयो ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ जिल्लाका २३ स्थानमा मानवेसवा आश्रम खोलिएको दुःखका साथ अध्यक्ष अधिकारीले सुनाए । उनले भने–सहयोगापेक्षी, सडकआश्रित मानवमुक्त नेपाल बनाउने आफ्नो अभियान २०८२ मा पूरा हुनेछ । यस्ता आश्रम खोल्न नपरोस् । भएका आश्रम पनि बन्द हुनुपर्छ कारण कसैले आफ्ना सन्तान वा अभिभावकहरुलाई असाहय,अनाथ र बेसहारा बनाउने छैनन् । त्यसपछि यस्ता आश्रमका के काम ? मानवीयता पलाएपछि सबैका मनमा, यस्ता आश्रमहरु आफै बन्द हुनेछन् ।
पशुपतिनाथ,मुक्तिनाथ,मछिन्द्रनाथ,भैरवनाथ,स्वयम्भुनाथ जस्ता नाथैनाथ भएको देशमा किन मानिसहरु अनाथ भएका छन् अधिकारीले सबैलाई प्रश्न गरे । राज्यव्यवस्था कमजोर रहेको घुमाउरो पाराले सुनाए । शासन पद्धति गतिलो नहुँदा मानिसहरु अनाथ भएका कुरा बताए । फलामले बाँधिएका निर्अपराधीहरु,मानसिक रोगबाट विक्षिप्तहरु, घरबाट लखेटिनु परेका सहाराबिहीन आमा,बाबाहरु,स्याहारसुसार नपाएका पीडित मानिसहरु र तीनका घाउमा परेका स्याउँस्याउँती कीराहरु भिडियोमा हेरेपछि मानवता हराएकै रहेछ भान भो मलाई ।
यतिबेला देशभरि मानवसेवा आश्रममा एक हजार छ सय ६७जनाले आश्रम लिइरहेका छन् । तीमध्ये महिला सात सय १२ र पुरुष नौ सय ५४ जना छन् । यहाँबाट हालसम्म तीन हजार चार सय ७२ महिला र पाँच हजार छ सय चार जना पुरुष गरी जम्मा नौ हजार ७९ जनाले उद्धार पाइसकेका छन् । त्यसैगरी हालसम्म यहाँबाट सेवा प्राप्त गरी पारिवारिक पुनर्मिलन गरेकाको संख्या तीन हजार चार सय १६ पुगेको छ । जसमा महिला एक हजार पाँच सय १० र पुरुष एक हजार नौ सय छ संख्या रहेका छन् ।
मकवानपुर जिल्लाको हेटौंडामा केन्द्रीय कार्यालय रहेको मानवसेवा आश्रममा रहेका आश्रित परिवारलाई पालनपोषण र स्याहारसुसार गर्नमात्र मासिक ढाइ करोडजति लाग्ने तथ्यांक प्राप्त भयो । विदेशी दाताहरुबाट होइन,आफ्नै देशका सहयोगी मानिसहरुबाट सञ्चालित मानवसेवा आश्रमले मानवसेवाका क्षेत्रमा गरेका उल्लेखनीय कामहरुप्रति हामी सबै नतमस्तक छौं ।
सहजकर्ता अधिकारीले कार्यक्रम अवधिभरि सबैका मनलाई कब्जा गरे ।
उद्घोषक रुपा बैनीले सबैलाई मन्त्रमुग्ध पारिन् । धेरै सूचना सम्प्रेषण गरिन् । एक कप चिया कटौतीदेखि मानवसेवामा लाग्नुपर्छ भन्ने गतिलो सन्देश प्रवाह गरिरहिन् । आफ्ना विहे वर्षगाँठ, जन्मदिन र पितृ सम्झनालाई अवसरका रुपमा लिई मानवसेवा आश्रममा भोजनग्रहण गराइदिन समेत अनुरोध गरिन् । उत्तम कार्यका लागि उनले मीठो जानकारी दिइन् । साँचिक्कै उनको बोलीमा मह मिसिएको थियो । शान्त,शालीन,सभ्य भाषामा गरिएको उद्घोषणले सबैलाई तानिरह्यो । उनी आश्रमको केन्द्रीय महासचिव समेत रहेछिन् ।
सबै उपस्थितजनलाई आश्रमकी सेविका सबैका प्यारी बहिनी सरुले स्वागत गरेकी थिइन् । उनको सक्रियता,व्यवहारले सबैलाई खिचिरहन्छ । खिसिक्क हाँस्ने सरुको बानी लोभ लाग्दो छ । त्यसैले त दुःखी,पीडित मानवहरुलाई सञ्चो र आनन्द दिनका लागि उनको एक मुस्कान काफी छ । टीकामाया थापा दिदीले शुभवन्दना पेश गरेकी थिइन् ।
धर्तीमा छ सबै चीज,खोजे पाइन्छ घरिघरि
तर जन्मदिने आमाबाबा पाइँदैन कसैगरी ।
यही कविताको हरफसँगै रामजी अधिकारीले आफ्नो सेसन अन्त्य गरेका थिए ।
कार्यक्रमको व्यवस्थापन सुन्दर थियो । कोलाहल थिएन । अनुशासन आफै कसिलो थियो । शिष्टता र शालीनता प्रकट भइरहेका थिए । भद्दा आशनग्रहण र पट्यार लाग्दा भाषण दिएनन् । शुभभावनापछि मुख्य कार्यक्रम आमा सेमिनार सुरु भयो । हिड्नेबेला रामजी अधिकारीलाई धन्यवाद दियौं । अमिक शेरचनसँग बात मार्यौ । रुपा र सरु बहिनीसँग बिदाका हात हल्लायौं । भुवनसिंह दाइसँग सरर घरमा आउँदा जाडो हुँदै भएन ।
प्रतिक्रिया