ताजा अपडेट »

कविता र कवि ब्रोइलर थिएनन !

आइतबार, १५ पुस २०८०, १२ : ११
355 Shares
आइतबार, १५ पुस २०८०
355 Shares

भावना, विचार र सिर्जनाको प्रतीक हो साहित्य । साहित्य,सिर्जना र स्रष्टाको दोभान हो । साहित्यले नै समाजलाई चिनाएको हुन्छ । समाजको विकासक्रमसँगै साहित्य उकासिएको हुन्छ । उकासिएको साहित्यले भाषा,कला,संगीत,संस्कृति,संस्कार र सभ्यतालाई सबैकाबीच परिचित गराउँदछ । साहित्यको उन्नति र प्रगतिले नै समाज प्रगतिशील हुन्छ । प्रगतिशील समाजले नै समुन्नत राष्ट्रको परिकल्पना सम्भव छ ।

विद्यालय,चार दिवारभित्रको संरचनामात्र होइन । यो त विद्यार्थीका भावना उमार्ने र फूलाउने फूलवारी हो । शिक्षकको क्षमता र दक्षता प्रदर्शन गर्ने गतिलो स्थल हो । अभिभावकका सपना पूरा हुने सम्भावनाको मैदान हो । विद्यालय राम्रो हुनु भनेको तोकिएको परीक्षामा सफलता हासिल गरेर पूर्णाÑ नजिक प्राप्ताÑ ल्याउनुमात्र होइन । विद्यार्थीका सर्वाङ्गीण पक्षको उन्नति,प्रगति हुनु हो ।

त्यसैमा पनि अंग्रेजीमाध्यमको विद्यालय । न्यू लाईट माध्यमिक विद्यालय । गुठीद्वारा सञ्चालित विद्यालय । सरकारी विद्यालयजस्तो पनि भएन । पूर्ण संस्थागत पनि होइन । मात्र फरक यति हुन सक्छ कि अभिभावकबाट सहयोग उठाउने र विद्यार्थीका लागि पोख्ने काम यहाँ हुन्छ होला । मेरो अनुमानमात्र हो । फरक पर्न पनि सक्छ ।

न्यू लाईट माध्यमिक विद्यालय,तिलोत्तमा नगरपालिका वडा नं. १ को शंकरनगरमा रहेको छ । उक्त विद्यालयले दोस्रो पटक साहित्य महोत्सवको आयोजना गरेर विद्यार्थी, शिक्षक र अभिभावकका लागि नौलो र अद्वितीय काम गरेको छ । यहाँ विद्यार्थीले आफ्ना र अग्रज साहित्यकारका दर्जन कविता वाचन गरे । दृष्टि भण्डारी,सविन्दा खनाल,आकृति घिमिरे,अंकुश चौधरी,मनीषा सुवेदी,समृद्धि पौडेल,समी कुँवर,आयुष्मा तिवारी,कृतिका उपाध्याय,मनोज परियार,साधना पोखरेल,आयुष्का पुन,कृतिका अर्यालले कविता वाचन गरेका थिए । उनीहरुमध्ये दृष्टि भण्डारी र कृतिका अर्यालले कवि भूपिनका र मनीषा सुवेदीले कवि गिरि श्रीसका कविताहरु वाचन गरेका थिए ।

अन्य कवि भाइबहिनीहरुले आफ्नै मौलिक कविता वाचन गरेका थिए । कवितामा उनीहरुले आफ्ना स्कूले जीवनका विगत कोट्याएका थिए । हिमाल,पहाड र तराई कसैका लागि कोही पराइ नभएका सन्देश प्रवाह गरेका थिए । त्यतिमात्र होइन, घरायसी संस्कारहरु परिवारबाटै आफूहरुले सिकेको सुनाउँदै थिए । कवितामा महिला हिंसाका दर्दनात्मक कथाहरु प्रस्तुत गरेका थिए । कतिले गाउँको यादमा सहरलाई सपनाको उपमा दिदै थिए । कसैले कवितालाई आँसुको काया सम्झिएका थिए । कविता सम्पादित थिए । वाचन शैली मौलिक थिए अर्थात् सिकाईएका,घोकाइएका र रटाइएका थिएनन् । लाग्छ, कविता र कवि ब्रोइलर थिएनन !

भाइवहिनीका कविता सुनिरहँदा पुषको १३ गते,शुक्रवार थप न्यानो भइरहेको थियो मलाई । उनीहरुका कवितामा अलिकति बिम्ब थपिदिन पाएको भए । अलिकति प्रतीक भर्दिन पाएको भए । थोरै पनि रस मिसाइदिन पाएको भए–भूपिन र गिरिका कवितालाई टक्कर दिने बाटामा लाम लाग्थे । युवा कवि रामचन्द्र श्रेष्ठ,सोही विद्यालयका शिक्षक हुन् । उनले भाइबहिनीका कवितामा समय पोखिदिने हो भने जाती हुने थियो । टंक,राजेन्द्र र रमेश सरले आफ्ना श्रम र सीप ती कवितामा खन्याउने हो भने पक्कै सुन्दर कविता बन्नेछन् । भाइबहिनीहरु देशका होनाहार प्रसिद्ध कवि बन्न कुनै आइतवार कुर्नुपर्ने छैन । यसको श्रेय साहित्यिक महोत्सवलाई जानेछ ।

शिक्षक राजेन्द्र कुँवरले मास्टरको जीवनसँग मेल कविता वाचन गरेका थिए । अभावमा बाँचेर पनि मुस्कान छाडी हाँसेका शिक्षकका बयान कलात्मक थियो । खुसी त क्षणिक हो बरु दुःखको भवसागमा तैरिएका शिक्षकहरुलाई हेर्ने को,प्रश्न थियो । मनमा गाँठो पारेर ओठमा खुसीका वहार ल्याउन प्रयत्न गर्ने शिक्षकहरु नै संसारका महान ब्यक्ति हुन् भन्ने आशय कवितमा थियो।

टंक पोखरेलेले ससाना तीनवटा कविता वाचन गरेका थिए । कविता मीठा र चोटिला थिए । शिक्षक भेषराजले जिन्दगी दुई दिने पल हो भन्दैथिए कवितामा । सञ्जय पौडेल सरले सृजन से पहेले अवसान है कविता वाचन गरेका थिए । दिव्या भुसाल म्याडमले परदेशको खबर सुनाइँदै थिइन कवितामा । परदेशीका पीडाहरु कवितामा दुरुस्तै उतारेकी थिइन् । अलिकति आफ्ना भावना मिसाएकी थिइन् । पीडा सुनाइएका थिइन् । उनको कविता वाचन शैली सुन्दर थियो । साहित्यिक मैदानहरुमा उनका कविताहरु दौडाउन सकिएमा कविताले रफ्तार लिन सक्ने थियो ।

कविता कार्यक्रममा सहजीकरण गदैथिइन् नवीना थापाले । उनी शिक्षक हुन् सोही विद्यालयका । आफ्नो कविता सुनाउन बाँकी राखिनन् । ‘धनिरामका छोरीहरु’ शीर्षकको कवितामा उनले छोरी लक्ष्मीको प्रतीक हुन् भनेकी थिइन् । त्यसो भनिरहँदा लक्ष्मीको वर्तमान अवस्थाका बारेमा गजवले बोलेकी छिन् । पीडाका प्रतीक बन्दै गरेकी लक्ष्मीरुपी छोरीलाई शब्दमामात्र होइन व्यवहारमा लक्ष्मी मान्न तयार नभएको समाजप्रतिको उनको व्यङ्ग तीखो थियो । त्यसैगरी पूर्वविद्यार्थी सिम्रन बोहोराले अंग्रेजीमा कविता सुनाइकी थिइन् । एलकेजीमा पढ्दै गरेका एलसन पोखरेलको कविता सुनेर हामी दङ्ग पर्यौं ।

उक्त साहित्यिक महोत्सवमा दर्जन भाइबहिनीहरुले आफूले पढेका पुस्तकमा समीक्षा गरेका थिए । गरिएका समीक्षाहरु नेपाली र अंग्रेजीमा थिए । जमुना राना, प्रकृति बेल्बासे र प्रज्ज्वल न्यौपाने लगायतका विद्यार्थी भाइबहिनीका समीक्षा प्रभावकारी थिए । न्यू लाइटका विद्यार्थी पढनदास रहेछन् भन्ने सन्देश प्राप्त भएको छ । यसले पठन संस्कृतिमा उल्लेखनीय योगदान दिएको मैले महसुस गरें । उक्त कार्यक्रमको संयोजन गोमा पौडेल म्याडमले गजवले गरेकी थिइन् ।

उक्त महोत्सवमा केही भाइबहिनीहरुले गीत प्रस्तुत गरे । जङ्गबहादुर शाहले प्रमुख अतिथिका रुपमा पठन संस्कृति र जिज्ञासुपनाका बारेमा थुप्रै अर्ति,उपदेश प्रदान गरे । प्रश्नबाटै परिवर्तन हुने उनको तर्क थियो । ८७ वर्षीय पाका पुराना साहित्यकार शाहले दिनभर महोत्सवमा आफ्नो समय खर्चिए ।

साहित्यकार लक्ष्मण ज्ञवालीले अजय शक्ति नामको लघुकथा सुनाए । गिरि श्रीसले कविता र बालबालिकालाई चाहिने कुरा सुनाए । मायाको चिनो स्वरुप पुस्तक विद्यालयलाई उपहार दिए । कवि भूपिनसँग रामचन्द्र श्रेष्ठले कविताका बारेमा प्यानेल छलफल गरे ( सोको बारेमा अर्को लेखमा छुट्टै बयान गर्नेनै छु । ) । स्मिथसँगै उनले बनाएको आफ्नै फोटोसँग भूपिनले फोटो खिचे । भूपिनले एउटा कविता सुनाए । मैले पनि मौकाको फाइदा उठाउँदै प्रश्न नामक बालकविता वाचन गरें । भाइबहिनीहरु मेरो कविता सुनेर ट्वाल्ल परे ।

महोत्सवमा विशाल पुस्तक पसलका दीपेन्द्र जीसीले पुस्तक मेला लगाएका थिए । भाइबहिनी,अभिभावक,शिक्षक सबैले आआफ्ना रुचिका पुस्तक किने । घरतिर आउने बेला साहित्यिक महोत्सवको समापन खड्कबहादुर गौतम,विद्यालयका अध्यक्षले गरे । यस्ता साहित्यिक महोत्सव सबै विद्यालयहरुमा हुन सकेमा नेपाली साहित्यको विकासमा टेवा पुग्ने थियो । विद्यार्थी,शिक्षक,अभिभावकहरुमा साहित्यिक पुनर्जागरण ल्याउने थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।