ताजा अपडेट »

लघुकथा : "अजेय शक्ति"

शुक्रबार, १३ पुस २०८०, १५ : ३५
168 Shares
शुक्रबार, १३ पुस २०८०
168 Shares

पार्टीका नेताले मन्चमा उभिएर भाषण भट्याए । "जनसमुदायहरू हाम्रो पार्टी ठुलाठुला परिवर्तन र क्रान्ति गरेर आएको हो । यो देश र जनताको सेवा गर्न हाम्रो पार्टी प्रतिबद्ध छ । मिसन ०८४ सफल पारौं ।एकल बहुमतको सरकार निर्माणमा अघि बढौं।"

अघि अघिको सभामा जस्तो परररर ताली बजेनन् । सभा स्थलको एक छेउमा बसेका ८५ वर्षीय जेष्ठ नागरिक बालारामले आफ्ना ८४ वर्षीय दौंतरी हर्कमानसँग जिज्ञासा राखे । "हैन हर्कमान, "जनताले ताली त ठोकेनन् नि !" "कुकुरलाई घिउ नपचेको कुरा बिर्सिनु भयो र ? अस्ति भर्खर त हो दुई तिहाई पुर्याईदिएको । बालारामलाई विगत सम्झाउँदै हर्कमानले उत्तर दिए ।"

"आखिर ताली पो किन ठोक्ने ?" हर्कले प्रति प्रश्न गर्दै भने- "देशलाई आत्मनिर्भरताको बाटोमा अग्रसर गराइरहेका उद्योगहरू बेचेर समृध्दिका गाना गाएकोमा ताली ठोक्नु ?"

"दिनहुँ हजारौं बेरोजगार युवाहरूको लश्कर विदेशिएको खुसियालीमा ताली ठोक्नु ?" " शिक्षा ,स्वास्थ क्षेत्रको लथालिङ्ग चालाबाट निराश विद्यार्थीहरूको पलायनले अर्बौँ अर्ब नेपाली मुद्रा विदेशिएकोमा गर्व गर्दै ताली ठोक्नु ?"

खाद्यान्य निर्यातकर्ता देश आज खर्बौंको खाद्यान्न आयात गरेर बाँच्न बाध्य छ, त्यही उपलक्ष्यमा ताली ठोक्नु ?

हर्कमानले आक्रोशको भावमा गुनासो पोखे ।

"के गर्छस् त बाबै ! संसारकै राम्रो लोकतान्त्रिक गणतन्त्र आएकै छ, बाटा -घाटा,पुल-पुलेसा भ्यूटावर जहाज गिरान ,युनभर्सिटी, सात प्रदेश , केन्द्रदेखि गाँउसम्म दरबारै दरबार आदित्यादि बनेकै छन् । सानो कुरा हो र ?

त्यसरी नरिसाइ हाल् न हर्क !" बालारामले हर्कलाई थमार्दै भने -"त्यै जाबो १०/२० वटा उद्योग बेचे, ८/१०वटा असमान सन्धि गरे, २००तिरो तिरे हुनेमा ४ हजार पुर्याएर किसानलाई बस्न टिक्न नसक्ने बनाए ,आफ्नो साँध सीमा जोगाउन नसकेर लम्पसार परे शरणार्थीलाई बोका बेचे सरी बेचे, अमनचैन समृद्धिको नाममा आफ्नो सात पुस्ताको जोगाड गरे भन्दैमा त्यत्रो विकाश सुसासन ,खुशहालीको लहर बिर्सन भयो र !" बालारामले सेकेर छेँड हाने ।

दुईजना जेष्ठ नागरिकको गन्थन चलिरहेको बेला , सभामा अचानक होहल्ला भयो । हेर्दा त एकहुल युवाहरूले नेताको घिंच्रो समातेर तानिरहेको दृश्य देखियो । दर्शकदीर्घाबाट बेमानहरूलाई ठोक ठोकको आवाज गुन्जिरहेको थियो । यही परिदृष्यलाई देखाउदै हर्कमानले भने, "देख्नु भो बालारामजी ! अति भएपछि जनताले जे पनि गर्न सक्छन् यीनलाई धुलो चटाएर नयाँ ब्यवस्था ल्याउन सक्छन् । सधै यीनकै सुगा रटान सुन्नु पर्ने छ र ? बिनस्वादैको ! जनता अजेय छन् । "

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।