२३ वर्षकी मनीषाले बाबा गुमाउँदा डेढ वर्षकी थिइन् । उनका बाबा लीलबहादुरलाई क्षयरोगले निर्माही काल बनेर ३५ वर्षकै युवा उमरेमा सबैबाट खोसेर लग्यो । बाबाको अनुहार कस्तो थियो मनीषालाई हेक्का हुने कुरै भएन । तर पनि आमा, दाइ र दिदीले घरिघरि बाबाको तस्वीर देखाएर सम्झाइ रहन्छन् । त्यतिबेला बाबा नहुनुको पीडावोध गर्छिन् ।
मनीषाले यतिबेला बुटवल बहुमुखी क्याम्पसमा विएड् तेस्रो वर्षमा विज्ञान विषय लिएर अध्ययन गर्दैछिन् । बाल कक्षादेखि कक्षा ११ र १२ सम्मै बाग्लुङ्ग, जैमिनी नगरपालिका वडा नं. ११, पाहीको जनता माविमा पढिन् । २०७२ सालमा उनले एसएलसी उतीर्ण गरेकी थिइन् । पढाईमा तेज थिइन् । कक्षा पाँच र आठमा प्रथम भएकी थिइन् । त्यसैगरी कक्षा चार, छ र नौमा भने द्वितीय स्थान हासिल गरिन् । कक्षा तीन, सात र १० मा भने उनी तृतीय क्षेणीमा पास भइन् ।
घरको आर्थिक अवस्थाले गर्दा मनीषाले लगातार बढ्न पाएकी छैनन् । मनीषाका दाजु राजनले सात र दिदीले आठ कक्षा पढेपछि पढाईलाई बीट मारेका थिए । उनीहरुका विहेवारी र सन्तान भइसकेका छन् । मनीषाभने आफ्नो पढाई पूरा गर्ने र गतिलो सरकारी जागिर नखाइ अरु केही नगर्ने सुरमा छिन् । विहेका बारेमा भरखर सोचेकी पनि छैनन् ।
मनीषा, पढ्नमात्र होइन नृत्य गर्न उस्तै तगडा छिन् । नाटकमा अभिनय गर्ने उनको खुवीलाई प्रशंसा गर्न जरुरी छ । चिया पकाउने कलालाई हजार पटक स्यालुट गरेपनि कमै हुन्छ । खाना उस्तै मीठो पकाउँछिन् । यतिबेला उनले पढ्दै जागिर गर्दै आफ्नो खुट्टामा आफै उभिएर अघि बढिरहेकी छन् । २०७५ सालमा पहिलोपटक रुपन्देहीको मणिग्राममा रहेको तिलोत्तमा रेडियोमा जागिर सुरु गरिन् । करिव डेढ वर्ष प्राविधिक बन्ने कोसिस गरिन् । त्यहीं सिकेको आफ्नो सीप, जाँगर र श्रमलाई यतिबेला बुटवलमा रहेको मुक्ति रेडियोमा पोखेकी छन् ।
२०७६ चैत्रदेखि सोही रेडियोमा प्राविधिका रुपमा कार्यरत् छिन् । मनीषाले गाउँमै नाँच्न सिकेकी हुन् । दिदीहरुसँगै नृत्य सिकेकी उनले आफूलाई नयाँनयाँ गीतमा नृत्य गरेर पारङ्गत गराउँदै लगेकी छन् । उनको नृत्य हेरेपछि लाग्छ, उनी क्षमतावान नृत्याङ्गना हुन् । उनको नृत्यकलाले दर्शकलाई जुरुक्क उचाल्छ, ताली पिट्ने बनाउँछ अनि गीतलाई न्याय दिन्छिन् । कहिलेकाँही उनको भावपरक नृत्यले दर्शकलाई रुवाउँछ । क्रान्तिकारी गीतमा नृत्य गर्दा अन्यायमा परेकालाई लड्न प्रेरित गराउँछ । दुस्मनका विरुद्धमा उराल्छ । मुठ्ठी कसरेर नाँची रहँदा फिल्मकै नायिका मनीषा हुन् कि जस्तो लाग्छ ।
उनको पहाड घर बाग्लुङ्गको साविक राङखानीमा पर्छ । गाउँमा रहेको ढुङ्गा खानीबाट ढुङ्गा बोकेर उनका आमा र दाइले सानामा हुर्काए । आफूहरुले आँटोपीठो खाएरपनि मनीषालाई चामलकै भात खुवाए । दुःख कुन चराको नाम हो उनलाई थाहै भएन । बाबा सानैमा बितेपनि आमा र दाइले सुखैमा हुर्काए । यतिबेला दाइले रोमानियाको जीवनयात्रा गरेका छन् । दिदीको परिवारभने बाग्लुङबाट चितवन बसाइँ सर्ने तयारीमा छ ।
लीलबहादुरले भारतको कुनै एक कारखानामा मजदूरी गर्थे । त्यही उनले रानी सिलवालसँग अन्तर्जातीय विहे गरे । रानीको माइतीघर बाँकेको कोहलपुर हो । तैपनि उनीहरुका सबै परिवार भारतमै रहेका कारण लीलबहादुरले रानीलाई आफ्नी मनकी रानीमात्र बनाएनन् बरु जिन्दगीकै अधुरो रानी बनाएर बैंशमै छाडेर गए । लीलबहादुर नेपालीले रानीसँग लगनगाँठो बाँध्दा रानीको उमेर १६ वर्षको थियो रे ! १७ वर्षको किशोरीमा रानीले राजनलाई जन्माएकी थिइन् । रानी, विहेपछि गाउँमा आउँदा नेपाली भाषा नजानेर हैरान थिइन् रे !
पढ्न जाँगरिली छिन् मनीषा । तैपनि जागिरले भनेजस्तो फुर्सद हुने कुरो भएन । १२ पास गरेर पनि केही समय आर्थिक अभावका कारण पढाईलाई निरन्तरता दिन सकिनन् । यतिबेला मनीषा पढाइमा एकाग्र भइकी छन् । उच्चशिक्षा हासिल गरेर देशको सेवा गर्ने असल भाव बोकेकी मनीषाले उच्च मनोवल बोकेकी छन् । अनुशासित, लगनशील र कर्तव्यनिष्ठ मनीषाको कर्मशील जीवनले अग्रगामी छलाङ्ग मार्दै जाओस् । बाबा नहुनुको पीडालाई आमाको मायाले बर्कोमा बाँधिराख्न सकून् । हिजोलाईमात्र होइन, वर्तमानलाई बुझेर भविष्यतर्फ उन्मुख हुन सकून् मनीषा । शुभेच्छा ।
प्रतिक्रिया