पुरानो फाटेको कपडालाई सिलाउने, टालो राख्ने, काटेर छोटो बनाउने काम गर्नेलाई रफुकार भन्ने गरिन्छ । मानव समाजमा कपडाका रफुकार मात्र होइन कुरा सिलाउने, कुराको काटछाट गर्ने, कुराको भ्वाङ परेको छ भने टालो समेत राखिदिने व्यक्तिलाई राजनैतिक रफुकार भन्ने गरिन्छ। आफ्नो मालिकले, नेताले, कमान्डरले, पार्टीले बिगारेको कुरामा लिपापोति गर्ने, त्यस्का अनेकौं अर्थ छन् भनेर अर्थाउने, विषयलाई विषयान्तर गरिदिने काम राजनैतिक रफुकारहरुले गर्ने गर्दछन्। धर्मशास्त्रको प्रश्नमा पनि यस्ता राजनैतिक रफुकारहरु प्रसस्तै छन् ।
जसले गर्दा धर्मलाई पनि टुक्राटुक्रा पारेका छन् । पन्डितै पिक्षे पुराणको अलग अलग परिभाषा गरेको हामि पाउदछौं । अहिले मात्र होइन, हिजो हाम्रो बाबु बाजेको पालामा पनि यस्ता रफुकार हुने गर्दथे। मुखियाका छोराले गरेका अपराधहरु, मुखियाले गरेका कमजोरीहरु, जिमुवाल वा उनको परिवारले गरेका कमजोरी, साहु वा साहुको छोरा, जिमिदार वा उनको परिवारहरुले गरेका गलत कर्महरुको रफु गर्ने र जनतामा भ्रम सिर्जना गर्ने काम यी राजनैतिक रफुकारहरुको हुने गर्दथ्यो।
आज एक्काइसौँ शताब्दीको गणतन्त्रात्मक युगमा समेत यि राजनैतीक रफुकारहरु देख्दा आश्चर्य लाग्नु स्वभाविकै हो । आजका राजनैतीक रफुकारहरु धेरै जसो तलबी बनेका छन् । मालिकको नमक खाएर मालिकको गुणगान र प्रशंसा तथा उसका गलत कर्महरुलाई चोख्याउने काम गर्ने गर्दछन् भने कोहि भोला मानुषहरु कुरै नबुझि, आफ्नो पार्टीको नेता, आफ्ना आस्थाको पार्टी वा गुरुको पक्षमा, नेताको पक्षमा अन्धो बनेर दौडिरहेका देखिन्छन् । हिजो हामिले देखेउ कि अहिलेको भन्दा पछिल्लो चुनावमा केपी ओलिजिले पानीजहाजको कुरा गर्नुभयो ।
घरघरमा ग्यास पाइप लाइन बिछाउने कुरा गर्नु भयो, केरुङ्ग नाका हुँदै रेल भित्राउने कुरा पनि गर्नुभयो । वहाँले पानी जहाजको कार्यालय समेत खोल्नुभयो । कतिपयले यो तत्काल सम्भव नहुने कुराको आलोचना गर्नुभयो तर राजनैतिक रफुकारहरु भने यसको बचाउको निम्ति कम्मर कसेर आउनुभयो । यो सम्भव छ भनेर आफ्नो नेतृत्वको हावादारी कल्पनाको पक्षपोषण गर्नुभयो । फेरि वहाँले ‘भगवान’, राम पर्साको ठोरीमा जमेको ठोकुवा गर्नुभयो, रफुकारहरु त्यहि कुरा सहि हो भन्नमा लाग्नुभयो। त्यस खालका रफुकारहरुको आलोचनात्मक चेत मरिसकेको हुन्छ र उनिहरु आफ्नो मालिकको वा आफ्नो नेतृत्वको नकारात्मक टिप्पणि सुन्न चाहदैनन् , उनीहरु नेता वा नेतृत्वलाइ गल्ति गर्नै नसक्ने महामानव, इश्वर वा भगवानको कोटीमा राख्ने गर्दछन् । अहिले गठबन्धनको सरकार छ ।
गठबन्धन भित्र पनि आवद्द रफुकारहरु त्यहि कर्म दोहोराइ रहेका छन्। यि रफुकारहरु, सिंह दरबारमा छन्, बालुवाटारमा छन् पार्टीका हेडक्वाटरहरूमा छन् । पत्रकारको भेषमा छन्, एफएम र युटुबहरूमा छन्, एनजीओ, आइएनजिओहरूमा छन् प्रदेशमा छन्, नगरहरुमा पनि छन्। उनीहरु त्यहाँबाट दक्षिणा प्राप्त भएन भने भ्रष्टाचारको डण्डा देखाउछन, अख्तियारको भुत देखाउछन् र नियमित दक्षिणा प्राप्त गर्ने वातावरण बनाउदैछन् अनि सब ठिकठाक रहेको बयान गर्ने गर्दछन् । सरकारको बारेमा प्रश्न उठ्यो, देशले ओरालो यात्रा गरि रहेको विश्लेषण भैरहँदा राजनैतीक रफुकारहरुले भ्रष्टाचार माथि सरकारले धावा बोली रहेको कुरा गर्छन ।
केहि मान्छे गिरफ्तार हुँदा यो त फिलिमको ट्रेलर मात्र हो, फिलिम आउनै बाँकि छ भन्नसमेत भ्याएका थिए । आयल निगम नाफामा गएको, नेपाल एयरलाइन्स नाफामा गएको भनेर सरकार अग्रगमनको यात्रामा हिँडि रहेको भनेर रफु गर्ने काम त गरे तर उनले नेपाल सार्क मुलुकहरुमा सबैभन्दा गरिब राष्ट्रको स्तरमा झरेको देखेनन् । उनीहरुले सारा गाउँका गाउँ रित्तिएको, सारा युवायुवतीहरु विदेश पलायन भएको, देशमा भष्ट्राचार बढेको , अधिकांश उद्योग कलकारखाना रित्तिएको र अर्थतन्त्र धरासायी भएको देखेनन्, किनकि उनिहरुको आखाँले नकार देख्नै सक्दैन ।
अरुले देशका समग्र सुचकहरु अगाडी बढेका छैनन् भन्ने कुरा भन्दा उनिहरु मानिरहेका थिएनन् तर अस्ती मात्र सरकारको समिक्षा बैठकले सन्तोषजनक काम नभएको, परिणाम राम्रो नभएको निष्कर्ष निकाल्यो र अहिले प्रचण्डजी भन्दै हुनुहुन्छ – ‘अब म निरन्तरतामा क्रमभंग गरेर अगाडी बढनेछु ।’ केहि महिना अगाडि भारतीय मुलका आफ्ना साथिले लेखेको किताब बिमोचनमा प्रचण्डजीको शब्द चयन बिग्रीएको, ब्यापक आलोचना भयो, बिपक्षीलाई मौका मिल्यो, सदन अबरुद्ध गर्नेसम्मका कुरा उठे तर रफुकारहरु भने रफु गर्न मै व्यस्त देखिन्थे, तर प्रचण्डजीले शदनमै उभिएर त्यो कुराको आत्मबोध गर्नुभएको थियो।
युवाहरु विदेशीएको सन्दर्भमा प्रचण्डजीले असि नब्बे हजार तलब खाने शिक्षकहरु किन बिदेसिन्छन! भन्नुभयो । त्यो भनाई यथार्थमा मेल खादैनथ्यो, त्यो कुरा नियतबस नभएर अज्ञानताबस बोलिएको कुरा थियो । राजनैतिक रफुकारहरुले भने त्यसलाई पनि रफु गर्न भ्याएका छन् केहि महिना अगाडि काठमाडौँ महानगरपालिकाको गाडि ट्राफिक प्रहरीले रोकेर दुई मिनेट सोधपुछ गरेर छाडेको थियो, बालेनजीलाइ रिस उठ्यो, वहाँले सिंह दरबारमा आगो लागाइदिन्छु भन्नुभयो, जो कुरा गलत थियो, सामान्य नागरिक भएको भए मुद्दा लाग्न सक्दथ्यो, त्यो बालेनजीको कमजोरी थियो, त्यो बिबेक गुमाएर आवेगमा बोलिएको कुरा थियो ।
त्यो वहाँको कमजोरी थियो भन्नेहरु माथि बालेनका रफुकारहरु चिच्चाए, उनले ठिक बोलेको ठोकुवा गरे, कतिपय रफुकारहरुले बालेनले सिंह दरवारमा आगो लगाउँछु भनेको त्यहाको भस्ट्राचार माथि आगो लगाउछु भनेका हुन भनेर पनि शब्दको रफु गर्ने प्रयास गरे । संस्कृति मन्त्री सुदन किरातिजीको प्रस्तुतिको क्रममा शब्द चयनमा त्रुटि भयो, त्यसलाई बिपक्षी रफुकारहरुले मसला बनाए, यता किरातजीका रफुकारहरुले वहाँको पक्षमा रक्षा कबच बनेर उभिन पुगे ।
त्यो सामान्य कुरा थियो,“मेरो प्रस्तुतिमा शब्द चयन गर्दा कहि कतै नागरिक समाज, कुनै समुदाय वा सम्प्रदायमा अथवा कसैको भावनामा ठेस लागेको भएमा म आत्मसात गर्न चाहान्छु “के यत्तिकुरा भन्न सकिदैन ! के यत्ति कुराले हामिलाई सानो बनाउछ र ! मेरो विचारमा हामि जति सानो बन्छौ,जति सरल बन्छौ,जति सादगि बन्छौ, जति नैतिकवान र इमानदार बन्छौ जति धेरै अरुको इज्जत र सम्मान गर्दछौ, त्यत्ति नै हामि महान हुने गर्दछौं ।
पछिल्लो हप्ता प्रचण्डकी नातिनीको विवाह गोकर्ण रिसोर्टमा आयोजना गरिएको थियो, त्यसले बाहिरी रफुकारलाई मात्र होइन भित्र पनि हलचल ल्याइदियो । पुर्व अखिल अध्यक्ष लेखनाथजी, धेरै पुराना कमरेड नरेन्द्रजङ पिटरजीले समेत विवाह आयोजनाको बारेमा आलोचना गर्नुभयो, यो विवाह अन्य सामान्य पार्टी प्यालेसमा गरेको भए हुदैनथ्यो! प्रचण्डजी सामान्य जनता होइन, वहाँ प्रधानमन्त्री मात्रै पनि होइन, वहाँ जनयुद्धको कमान्डर पनि हो, वहाँको खानपिन, बसाइ उठाइ, रहनसहन, वहाँले देखाउने आचरण, बोली र व्यवहारले महत्व राख्दछ, वहाँले गर्ने प्रत्येक कामकारबाहीले समाजमा प्रभाव पार्ने गर्दछ । ति कुराहरू बारे रफुकारहरुले रफु गरेर लुकाउन सकिदैन, त्यो पार्टीले आफुलाइ सर्वहारा वर्गको पार्टी भनेको छ, त्यसको सर्वोच्च कमान्डर कमरेड प्रचण्डजी हुनुहुन्छ भने जनताले गम्भीरताका साथ वहाँको वारेमा अध्ययन गर्ने कुरालाई अन्यथा लिनु हुँदैन्।
नयाँ भनेर जन्मिएको रास्वपा पनि यो रफुकारको चेतनाबाट माथि उठेको देखिँदैन, त्यो पार्टीसँग सम्बन्धित रफुकारहरुले रवि लामिछानेजीले गरेका हरेक कमजोरीहरुको रफु गर्ने गरेका प्रशस्तै उदाहरणहरु छ्न। समग्रमा भन्नपर्दा राजनैतिक रफुकारहरु प्रत्येक पार्टीहरु र प्रत्येक समुदायमा विद्यमान छन् । राष्ट्रिय रफुकार मात्र होइन, विदेशी रफुकार समेत विद्यमान रहेका छन् । यी रफुकारहरुको चेतना जडतामा आधारीत छ, यी जडशुत्रवादिहरु राम्रो भित्र नराम्रो, नराम्रो भित्र राम्रो देख्न सक्दैनन् । यिनीहरु या त
नकार मात्रै देख्दछन, या त सकार मात्रै । आफ्नो नेता सदावहार महान, अर्काको नेता सदावहार गर्दार, आफ्नो समुह अब्बल र अर्को समुह कमसल, आफ्नो धर्म अब्बल, अर्काको कमसल, आफ्नो जाती अब्बल, अर्काको जाती कमसल ! यो नै एकांकि र अधिभुतवादी चेतना हो, यो नै विखण्डन र बिग्रहको आधार हो । यो चेतना नसच्चिदासम्म प्रगतीमा अगाडी बढ्न कठिनाई पर्दछ । राम्रोलाई राम्रो भन्न सिकौं, नराम्रो लाई नराम्रो भन्न सिकौं, आफ्नो पार्टीको, आफो नेताको कमजोरी माथि जबरजस्त, हमला गरौँ, सत्यलाई सत्य हो भन्ने हिम्मत गरौं ।
जबसम्म हामिले नेतृत्वका कमजोरीहरु माथि प्रहार गर्दैनौ, तबसम्म नेतृत्व रुपान्तरण हुँदैन् । त्यसैले हिम्मत गरौँ, खासगरी कम्यूनिष्ट कित्ताका कार्यकर्ताहरु ! तपाइहरु नेतृत्वको रफुकार बन्ने होइन, तपाइहरु डाक्टर बन्ने हो जस्ले गर्दा बिमार नेतृत्वको उपचारमा मद्दत पुगोस । माओले आफ्नो नेतृत्वमाथि हेड्क्वाटरमा बमको वर्षा गर भन्ने कुरा स्मरण गरौं । निच र दासता जस्तो घृणित रफुकारको कार्यलाई छाडौँ, निर्भिक, निडर र स्वभिमानि कार्यकर्ता बनौं । त्यो चेतनाको विकास हुन सक्यो भने तपाई दास चेतनाबाट स्वभिमानि मानवको चेतनामा रुपान्तरित हुनुहुनेछ ।
नेतृत्वले सुध्रने मौका पाउने छ, पार्टी राम्रो बन्ने छ, देशले योग्य नेतृत्व प्राप्त गर्नेछ । सबैले यसरी नै आलोचनात्मक चेतको विकास गरौं त ! देश प्रगतिको दिशामा अगाडि बढ्छ कि ! मैले यसरि सोचे, यहाँहरुले नि !
प्रतिक्रिया