ताजा अपडेट »

धीतै नमर्ने रानी झरना

आइतबार, ०८ पुस २०८०, ११ : ३९
234 Shares
आइतबार, ०८ पुस २०८०
234 Shares

रानी झरना हेर्दै सुन्दर,मनमोहक र आकर्षक छ । पाल्पा जिल्ला, तिनाउ गाउँपालिका वडा नं. २, ढापखोलामा पर्ने यो झरनाको शिर भने महापुर फाँटभन्दा माथि साठीमूरि र भित्रीखेतमा रहेको छ । झरनाभन्दा चार किलोमीटर माथि, हरियाली गाउँ नजिकै यसको मुहान पर्छ । त्यहीबाट निरन्तर बग्दै आउने पानीले रानी झरनाको वहावलाई निरन्तरता दिएको पाइन्छ । कलकल बग्ने झरनाले मिठो संगीत दिएको छ । कञ्चन झरना,त्यसको सुसेलीले मनमा आनन्द दिन्छ । लाग्छ,पिर बिसाउने राम्रो थलो रानी झरना बन्न सक्छ ।

नेपाल एकीकरण हुनु अघि यही झरना माथिका गाउँमा भुरे,टाकुरे राज्यहरु थिए भन्ने अनुमान लगाउन सकिन्छ । त्यहाँ भुरे,टाकुरे राजा नहुने कुरै भएन । उनीहरुका रानी हुने नै भए । रानी भन्ने वित्तिकै सुन्दर र गहनाले सजिसजाउ हुने नै भइन् । तिनै रानीले झरनामा नुहाउन आउँदा गहना खसालिन् रे । अनि झरनाबाट बनेको पोखरीमा रहेका माछाले गहना निले रे । भएका सबै माछा पहँलै भए रे । माछा हेर्दा त सबै सुन्दर र गहना लगाएका जस्ता पनि देखिए रे । यी सबै किंवदन्ती हुन् । अर्थात् रे का कुरा हुन् ।

आज यही रानी झरना र त्यसबाट बनेको पोखरी अत्यन्तै सुन्दर देखिन्छन् । धर्मात्मीहरुले पोखरीमा गहना लगाएका सुन्दर माछा देख्छन् रे । कति सत्य हो उनीहरुले नै जानून् । तै पनि कहावत,जनश्रुतिलाई सुन्दिने त हो हामीले । विश्वास,अविश्वास गर्ने आफ्नै विवेक हुन् । आफ्नै विश्वास हुन् । आफ्नै तर्क हुन् । रानी झरना पुगेपछि कलात्मक काठका रेलिङ्गहरु,भाइरल झोलुङ्गे पुल,झरना नजिकैको शिवजीको मन्दिर, नेपालको झण्डा, झरना बारेमा लेखिएको सूचना, शौचालय व्यवस्थित देखिन्छन् ।

रानी झरनाको नामकरण नै उल्लेखनीय छ । सम्भव पहिलो पटक २०७४ सालमा मैले त्यसको नाम ‘क्वीन फल्स’ राखेर पार्टीको घोषणा पत्रमा विकासका निम्ति पहल गरेको हिजोजस्तै लाग्छ । वडा नं २ को वडापालिकाले सांकेतिक वजेट विनियोजन गरेर मैले राखेको झरनाको नामलाई काम गर्ने अठोटका साथ तत्कालनी वडाध्यक्ष राजेश श्रेष्ठले पहल गरेको देखिन्छ । खास गरी यो झरनाको पूर्णस्वामित्व स्थानीय ढापखोला सामुदायिक वन उपभोक्ता समूहमा निहित छ ।

पछिल्लो सयम यो सामुदायिक वनले पर्यापर्यटन प्रवद्र्धन र आयस्रोत वृद्धिका लागि रानी झरनाको सौन्दर्यता बढाउने काम गरेको छ । आकर्षक प्रवेशद्वार,व्यवस्थित सिंढीले पनि झरनालाई थप सुन्दर बनाएको देखिन्छ । वनको कामलाई डिभिजन वन कार्यालय, पाल्पा, स्थानीय गाउँपालिका,वडापालिका र स्थानीय वन उपभोक्ताका सार्थक सहभागिताले आजको रानी झरना बन्न सफल भएको सत्य हो । श्रमदान र सीप पोखेका छन् वनका उपभोक्ताहरुले । मिहिनेत र मनका अठोटको प्रतीक ठानेका छन् रानी झरनालाई । प्रवेश शुल्क लिइएको छ । सरसफाइमा ध्यान दिइएको छ । पोखरीमा पौडी खेल्नका लागि लाइफ ज्याकेटको प्रवन्ध छ । भविष्यमा पिकनिक स्पट बनाउने, तालिम हल बनाउने र थप सुन्दर बनाउने अभियानमा लागेको वनका अध्यक्ष कुम्भकला खड्काले बताइन् ।

यहाँसम्म हिउँद,वर्खामा पनि पर्यटकहरु आउनका लागि राम्रो बाटो हुन सकेमा रानी झरनाले थप आम्दानी बढाउन सक्ने स्थानीय वन उपभोक्ता लक्षमण जीसीले बताए । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले रानी झरनालाई पालिकाले एउटा महत्वपूर्ण पर्यटकीय क्षेत्र मानेको हुँदा त्यहाँसम्म पुग्ने बाटो र भौतिक सुविधामा आफूहरुले सक्दो सहयोग गर्ने संकल्प लिएको सुनाए ।
औद्योगिक नगरी बुटवलबाट उत्तर पाँच किलोमीटर र पर्यटकीय नगरी तानसेनबाट दक्षिण–पश्चिम ३४ किलोमीटर दूरीमा रहेको दोभानबाट रानी झरना आइपुग्न पाँच किलोमीटर यात्रा गर्नुपर्छ ।

तिनाउ गाउँपालिका भवन,दोभानदेखि मोटरमा ३० मिनेटमा रानी झरना आईपुग्न सकिन्छ । दोभानबाट खानी पहुँचमार्ग खुर्सानेसम्म ग्राभेल बाटो छ भने त्यहाँबाट पुल तरेर हिडेर १५ मिनेटमा रानी झरना आइपुग्न सकिन्छ । त्यसैगरी गाउँपालिका भवनबाट दोभान मावि नजिकैको पुल तरेर गणेशटोल,झेर्दी तरेर खोडेदमार,बाउन्ने खोला तरेर मुने हुँदै वर्रे,झ्याङ्गला,बगाहको रानी झरना आइपुग्न कुनै कठिन छैन । हिउँदमा त सजिलै छ भने बर्खामास भने बाटोको समस्या त छँदैछ ।

ढापखोला सामुदायिक वनको लगानीमा धेरै संरचनाहरु बनेका छन् रानी झरना परिसरमा । त्यसको संरक्षण भइरहेको छ । थप आवश्यक संरचनाहरु वातावरणमैत्री हुनु जरुरी देखिन्छ । प्राकृतिक वनसँग वातावरणमैत्री संरचना निर्माण हुन सकेमा आउने पर्यटकहरुलाई समेत आकर्षण गर्नेछ । गत शिवरात्रिमा यस झरनाको विधिवत् उद्घाटन लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्तिमगर(वसन्त)ले गरेका थिए ।

नियमित आम्दानीको स्रोत बनिरहेको यो रानी झरनाको व्यापक प्रचारप्रसार,दिगो व्यवस्थापन र पर्यटन प्रवद्र्धनमा जोड दिन सकिएमा यसको भविष्य सोचेभन्दा अत्यन्तै सुन्दर हुनेछ । त्यसैका लागि स्थानीय सरकार,प्रदेश र संघीय सरकारको भूमिका सकारात्मक र सहयोगी हुन जरुरी देखिन्छ । स्थानीय सामुदायिक वन, सामुदायिक वन समन्वय समिति, स्थानीय युवा क्लव, आमा समूह,विद्यालय,इको क्लव र उपभोक्ताका चासो र चिन्तनले नै रानी झरनाको वृद्धि र विकास सम्भव छ ।

एकपटक पुग्नै पर्ने पर्यापर्यटकीय गन्तव्य हो रानी झरना । अनि, पुगेपछि पुगौं,पुगौं लागि रहने मनमोहक र आकर्षक झरना हो रानी झरना । एक,दुई पटकको दृश्यावलोकनले रानी झरनाको धीतै मर्दैन । त्यसो भए नपुगेर भयो त रानी झरना ! आउनुस् ,रानी झरना धीत नमरुञ्जेल हेरौंला । पोखरीमा पौडी खेलौला । भाइरल पुलमा सेल्फी खिचौंला । नेपालको झण्डालाई साक्षी राखेर शीर उँचो बनाउने फोटो खिचौला । शिव जीको मन्दिरमा दर्शन गरौंला । ड्राई वन भोज खाउँला । सुन्दर रानी झरनालाई मनको क्यामेराले करोडौं पटक खिचौंला ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।