ताजा अपडेट »

आफ्नै बोलीले विवादमा फसे मन्त्री किराँती

विहीबार, ०५ पुस २०८०, ११ : ३९
72 Shares
विहीबार, ०५ पुस २०८०
72 Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विवादमा तानिएका छन् । बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा गरेको एउटा उग्र भाषणले मन्त्री किराँती विवादमा मुछिएका हुन् । 

उनले क्रिस्चियन धर्मको घृणा गर्नेलाई हतकडी लगाएर जेल कोच्नुपर्ने अभिव्यक्ति दिएका थिए । ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले भने।

उनले आफू कुनै धार्मिक मान्छे नभएको पनि बताए । ‘म त राज्य हो नि । म राज्यमा बसेर धर्म मानेँ भने मैले नमान्नेमाथि दमन गर्छु । राज्यमा बस्नेको धर्म हुँदैन । त्यसकारण धर्मनिरपेक्ष राष्ट्र हुुनुपर्छ ।’ धर्म मान्ने स्वतन्त्रतामाथि आफूले सम्मान गर्ने पनि उनको भनाइ थियो । 

उनले जिसस क्राइस्ट महान् नेता भएको पनि बताए । उनी विद्रोही नेता भएको दाबी गर्दै तत्कालीन अवस्थामा त्यो देशको शासन नमान्दा मृत्युदण्ड दिएको उनको भनाइ थियो ।

मन्त्री किराँतीको अभिव्यक्ति अहिले चौतर्फी आलोचना भइरहेको छ । उनको राजीनामा मागिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको उत्तेजक र पदीय गरिमाविपरीत भएको टिप्पणी गरेका छन् ।

उनले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्धेष फैलाउने मन्त्रीले पदमा कसरी मिल्छ भन्दै प्रश्न गरेका छन् । ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै  खेदजनक  छ’, लामिछानेले सामाजिक सञ्जालमा बिहीबार भनेका छन्, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’

यता, नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पनि किरातीको विवादस्पद अभिब्यक्तिप्रति विरोध गरेका छन् । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री किराँतीको अभिब्यक्ति प्रति कटाक्ष प्रहार गर्दै पूर्वमन्त्री बाँस्कोटाले असहमत दर्ज पनि गरेका छन्। 

‘संस्कृति मन्त्री किरातीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्र द्रोहीको संख्या (हिन्दु, बुद्ध, मुस्लिम आदी) करीब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि  प्रमाणित भयो। धर्म ब्यक्तिगत स्वतन्त्रता हो तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।’

यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती बर्खास्त गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।

थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानून अनुसार कारबाही गर्न पनि माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।