ताजा अपडेट »

दाङमा टिप्परको ठक्करबाट २ युवाको मृत्यु प्रकरण : पीडित परिवार र व्यवसायी बीच यस्तो भयो सहमति

आइतबार, ०१ पुस २०८०, १९ : ०२
74 Shares
आइतबार, ०१ पुस २०८०
74 Shares

दाङ । मोटरसाइकलमा सवार प्यूठानका दुई किशोरको दाङमा टिप्परको ठक्करबाट मृत्युपछि उत्पन्न तनाब छलफल पछि सहमतिमा टुँगिएको छ ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिका बीचमा मृतक दुई किशोरका आफन्तलाई क्षतिपूर्ती बापत जनही साढे ६ लाख क्षतिपूर्ती उपलब्ध गराउने तथा ट्रक धनिले नयाँ मोटरसाइकल किनेर दिने सहमति भएको हो ।

मृतक दुबै जनाको शब प्यूठानस्थित घरसम्म पुर्याइदिने र दुर्घटनापछि क्षतिपूर्तीका लागि प्यूठानबाट दाङ आएका मानिस तथा आफन्तलाई पनि घरसम्म छोड्ने बन्दोबस्त ट्रक समितिले नै गर्ने सहमति कायम भएको छ । सहमति कायम भएपछि उत्पन्न बिबाद समाधान भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए ।

सहमतिपछि आफूहरु शव लिएर जिल्ला फर्कने तयारी गरिरहेको उपाध्यक्ष पोखरेलले बताए । प्यूठानको झिमरुक गाउँपालिका-४ बाङ्गेका १७ बर्षीय बिशाल जिसी र नौंबहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । दुर्घटनापछि मृतक दुबै जनाको शब प्रतिष्ठानमै राखिएको थियो ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट-तुलसीपुर तर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा शुक्रबार राति दश बजेर २० मिनेट जाँदा ठक्कर दिएको थियो ।गाउँपालिकाका उपाध्यक्ष पोखरेलले उचित क्षतिपूर्ती र न्यायको माग गर्दै शनिबार बेलुका नै आफूहरु दाङ आइ प्रहरी प्रशासन र ट्रक धनिसँग छलफल गर्न खोजेपनि बेवास्ता गरेका कारण आइतबार बिहानैदेखि सडक बन्द गर्नु परेको बताएका थिए ।

पीडितको आवाज कसैले नसुनेपछि बिहान सात बजेदेखि घोराहीस्थित तुलसीपुर चोकमा यातायात अवरुद्ध गर्न बाध्य भएको र त्यही क्रममा प्रहरीले आफूहरुलाई जबरजस्त उठाएर लगेको उनले बताएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भने दुर्घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिइ सकेको अवस्थामा बिमा बापत स्वतहः क्षतिपूर्ती उपलब्ध हुने ब्यबस्था बिपरित जबरजस्त सार्वजनिक सवारी बन्द गर्न खोजेपछि आन्दोलनमा उत्रिएकाहरुलाई वार्ताको लागि लगिएको जानकारी दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।