सञ्चारबिद डोमिनिक भन्छन् “आमसञ्चार एउटा प्रकृया हो जसमा एक वा बढी यन्त्रहरुको सहयोगबाट जटिल तर संगठनात्मक रुपमा छरिएर रहेका श्रोता वा दर्शकहरुका लागि सार्बजनिक जानकारी उत्पादन वा प्रवाह गरिन्छ”। आमसञ्चार र पत्रकारिता अध्ययन पुस्तकका लेखक भानुभक्त आचार्यका अनुसार नेपाली पत्रकारिताको श्री गणेश गर्ने श्रेय युवाकवि मोतीराम भट्टलाई जान्छ । समाजलाई सञ्चारसँग जोड्ने , गतिशिल बनाउने र तत्कालिन अबस्थाका समस्याहरुलाई पत्रकारिता मार्फत उजागर गर्ने प्रयासको थालनी सोही समयदेखि भएको पाइन्छ (आचार्य, २०७३)।
विक्रम संवत् १९४३ सालमा भारतको बनारसमा गोर्खा भारत जीवन सुरु भएदेखि अहिलेसम्म प्रकाशित पत्रपत्रिका, प्रसारित रेडियो र टेलिभिजनको सङ्ख्या उल्लेख्य रहेको छ । नेपालमा २००७ सालमा सुरु भएको रेडियो प्रसारण, २०४१ सालमा सुरु भएको टेलिभिजन प्रसारण र २०५६ सालमा सुरु भएको अनलाइन प्रकाशन यसका दृष्टान्त हुन् । नेपालमा पत्रकारिताको औपचारिक शिक्षा भने वि.सं. २०३० को दशकमा सुरु भएको पाइन्छ । अहिले आमसञ्चार र पत्रकारिता विषय कक्षा ९ देखि विद्यावारिधि तहसम्मको अध्ययन, अध्यापन हुने गरेको छ ।
प्रेस काउन्सिल नेपालको पत्रपत्रिका व्यवस्थापन प्रणालीमा देशभरबाट आर्थिक वर्ष २०७८/०७९ सम्ममा कुल १ हजार १२१ पत्रिका आबद्ध भएका छन् । ३ हजार चार सय ९४ अनलाइन सूचीकृत भएका छन । १ हजार १४६ एफ. एम. रेडियो रहेका छन् । स्याटलाइट टिभीको सङ्ख्या २२३ रहेको छ । नियमित रूपमा प्रकाशित पत्रपत्रिकाको सङ्ख्या आठ सय ६७ रहेको छ । प्रेस काउन्सिल र सूचना तथा प्रसारण विभागका तथ्याङ्कहरूले मानिसले सञ्चारलाई कत्तिको महत्व दिइरहेको छ भन्ने दर्शाउँछ । आज मिडियाको डिजिटल रूपले मिडिया स्वयं एक–अर्कामा विलिन वा एकीकृत भएको स्थिति छ । इन्टरनेटमै पत्रिका, रेडियो र टिभी पढ्न र सुन्न सकिन्छ । नागरिकको हात हातमा भएको मोबाइलबाटै कम्प्युटर र क्यामराले गर्ने सबै काम गर्न सकिन्छ । व्यक्तिगत रूपमा चलाइएका ब्लग र सामाजिक सञ्जाल कतिपय मिडियाभन्दा लोकप्रिय बनिरहेको अवस्था छ ।
सञ्चार भनेको सूचना र विचारको आदान–प्रदान हुने सामाजिक प्रक्रिया हो । मानिसलाई सामाजिकीकरण गर्ने मूल माध्यम नै सञ्चार हो । मानिसभित्र रहेका विचार, भावना र सोचलाई एक–आपसमा आदानप्रदान गर्न मूलतः सहयोग पु¥याउने भएकाले सञ्चार र समाजको अन्तरनिर्भरतापूर्ण सम्बन्ध रहेको हुन्छ । सञ्चारको क्रमबद्ध विकासले मानिसलाई यो अवस्थासम्म ल्याएको हो भन्नेमा दुईमत नहोला ।
मानव सभ्यताको विकास क्रमसँगै मानिसहरूबिच बढ्दै गएको स्वार्थपूर्ण सम्बन्धले शान्तिका लागि समाजका विभिन्न पाटाहरूको अध्ययन र अनुसन्धानतर्फ उन्मुख गराएको देखिन्छ । जब मानिसले सूचना र सन्देश प्राप्त गर्नका लागि सञ्चारमाध्यममा निर्भरता बढाउँदै गयो, त्यसले अन्तरनिर्भरताको पक्षलाई मलजल गरेको देखिन्छ । पछिल्ला दिनहरूमा आएर मानिसहरूले सञ्चारमाध्यमलाई आवश्यकताअनुसार उपभोग गरेको पाइन्छ । सूचना प्राप्तिदेखि मनोरञ्जनका लागि मात्र होइन, सामाजिक सम्बन्धहरूको सुरुवातदेखि सुधार गर्नसमेत सञ्चारमाध्यमको प्रयोग गरिएका उदाहरणहरू प्रशस्तै छन् ।
सामाजिक सम्बन्धहरू व्यक्तिको स्वभाव र व्यवहारले निर्धारण गर्ने गर्दछ । समाजले नरुचाउने सम्बन्धहरूले समाज नै विकृत बनाउँछ । व्यक्तिको आचरण, व्यवहार तथा अभ्यास नै समुदायको दर्पण भएकाले समाज त्यसबाट अछुतो रहन सक्दैन । व्यक्ति, समुदाय हुँदै समाजमा पर्ने प्रभावले सामाजिक अन्तरक्रियाहरूलाई सकारात्मक वा नकारात्मक दिशानिर्देश गरेको हुन्छ।
पछिल्लो समयमा सामाजिक सञ्जालहरूको प्रयोग गर्ने युवाहरूको सङ्ख्या बढिरहेको छ । सञ्चारमाध्यम भनेको समाचार, जानकारी मात्रै होइन, विचारसमेत प्रवाह गरिने माध्यम भएकाले नवीनतम् प्रविधिहरूसँग जानकार हुनु आवश्यक छ । तर सञ्जालहरूलाई सावधानीपूर्वक प्रयोग नगरिएकै कारण विभिन्न सामाजिक अपराधका घटनाहरू बढिरहेका छन् । यसले समाजलाई सकारात्मक गतिमा चुनौती थपिदिएको छ । यद्यपि, नयाँ प्रविधिलाई उपेक्षा होइन, सावधानीपूर्वक आत्मसाथ गर्नु नै अनिवार्य आवश्यकता हो ।
सामाजिक मुद्दाको बुझाइमा हुने असमझदारीले समाजमा द्वन्द्व सिर्जना हुन्छ । यसमा व्यक्तिगत स्वार्थहरूको टकरावको मुख्य भूमिका रहन्छ । समाजका हरेक क्षेत्रमा विविधताभित्रको सुन्दरता छ । विविधताभित्र फरकपन छ । फरकपनलाई स्वीकार गर्ने वा नगर्ने धारणा विद्यमान छन् । सामान्य असमझदारीहरू केही समयको अन्तरालपछि द्वन्द्वको रूपमा प्रकट हुन सक्छन् । भनिन्छ, समाजमा रहेका स्वार्थ, असहमति तथा असमझदारीहरू द्वन्द्वका झिल्का हुन् । बेलैमा सम्बोधन गरिएन भने यसले नकारात्मक अवस्थाको सामना गर्नुपर्ने स्थिति सिर्जना हुन्छ । त्यसैले, घटनाक्रमहरूलाई अनावश्यक बढाइचढाइ गर्नुभन्दा सत्यतथ्यको गहिराइमा पुग्ने दायित्व सञ्चारकर्मीको हो ।
प्रचारमुखी समाचारहरूले समाजको वास्तविकतालाई उजागर गर्न सक्दैन । बरु यसले समाजलाई नै गलत दिशा निर्देश गरिरहेको हुन्छ । अहिलेको समाज घृणात्मक अभिव्यक्ति र गलत तथा मिथ्या सूचनाको प्रभावमा छ । गाली गलौजका कुरामा मज्जा मानीमानी लेख्ने र बोल्नेको सङ्ख्या पनि कम छैन । यसका लागि समाजका अगुवादेखि राजनीतिक दलका नेताहरूसमेत जिम्मेवार छन् । म नै सर्वेसर्वा हो भन्ने सोचाइ र व्यवहारले सामाजिक सम्बन्धहरूलाई विषाक्त बनाएको छ । कतिपय सञ्चारमाध्यमहरू सत्य–तथ्यभन्दा अफवाहलाई प्रचारप्रचार गर्न दुरुपयोग भइरहेको देखिन्छ । यो गम्भीर आत्मसमीक्षा र स्वनियमनको विषय हो । घटना र सन्दर्भसँग जोडिएका सामग्रीहरूको प्रकाशन तथा प्रसारणपूर्व त्यसको गहिराइमा पुगेर गरिएको रिपोर्टिङ हो या होइन भन्ने हेक्का राख्नु अनिवार्य हुन्छ ।
समाचारहरूमा गहनता र वस्तुपरकता आवश्यक पर्दछ । शब्द चयन आफैँमा अनिवार्य सर्त हो । हरेक शब्दका अर्थले समाजलाई संयमित बनाउने कि हिंसात्मक बनाउने भन्ने निर्धारण गरिरहेको हुन्छ । भड्कावयुक्त भनाइले कहिल्यैै पनि शान्तिको कामना गरिरहेको हुँदैन । पक्षधरताले विश्वासको वातावरण घटाइरहेको हुन्छ । सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले पक्षधरतालाई घटाउँदै निष्पक्षतालाई बढावा दिने कार्य गर्नु पत्रकारिताको मर्म र भावना हो । कहिलेकाहीँ प्रस्तुतिले पनि सद्भावलाई खलबल्याउने कार्य गर्न सक्छ । संयमित व्यवहार, उपयुक्त शब्द चयन र नरम प्रस्तुति सामाजिक सद्भाव कायम गर्नका लागि सञ्चारमाध्यमहरूले गर्न सक्ने न्यूनतम योगदान हुन् ।
अहिलेको समाजमा निराशा र आक्रोश छ । यो अवस्थामा तथ्यभन्दा भ्रमहरूले स्थान पाउने गर्दछन् । प्रेरक प्रसङ्गहरूभन्दा घृणात्मक अभिव्यक्तिहरूलाई रुचाउने र विश्वास गर्नेहरूको सङ्ख्या बढी हुन्छ । सामाजिक सद्भाव, मेलमिलाप तथा सकारात्मक धारणाहरूको विमर्श गर्नेहरूलाई निरुत्साहित गरिने सम्भावना अधिक हुन्छ । आशा जगाउनेहरूभन्दा निराशाको व्यापार गर्नेहरूको बोलवाला हुन्छ । यस्तो अवस्थामा समाजलाई असन्तुलित बनाउने र सामाजिक अराजकता बढाउने प्रमुख पात्रहरूलाई पहिचान गरेर उनीहरूलाई संवादमार्फत सामाजिक कार्यको बोध गराउन सञ्चारमाध्यमहरूले भूमिका खेल्न सक्छन् ।
समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्दछ । सकारात्मक कुरालाई पटक–पटक प्रकाशन तथा प्रसारण गरेर त्यसलाई स्थापित गराउने दायित्व पनि सञ्चार क्षेत्रको हो । अन्यथा मिथ्या सूचनाहरू स्थापित हुने र सामाजिक सद्भावमा धावा बोलिरहने सम्भावना जीवित रहन्छ । नागरिकलाई जबर्जस्ती समाचार थुपार्नेभन्दा उनीहरूका चाहना र वास्तविक चासोलाई सम्बोधन गर्न सकियो भने मात्रै पत्रकारिताप्रति जनविश्वास बढाउन सकिन्छ ।
समाजमा मिडियाले शान्ति, सद्भाव, एकता र परिवर्तनका लागि खेलेको भूमिकाले नै उसको शान्ति र सद्भावप्रतिको योगदान मापन हुन्छ । समाजशास्त्री एवं प्रसिद्ध द्वन्द्वविज्ञ जोहान गाल्टुङले शान्ति पत्रकारिताले समाजलाई शान्ति, सद्भाव र मेलमिलापतर्फ प्रेरित गर्ने तर्क गर्दछ । शान्ति, सत्यता, गहनता, जनता र समाधानलक्षित मात्रै शान्ति पत्रकारिता हुने भन्दै गाल्टुुङले समाजलाई स्थिरता र समृद्धितर्फ मागदर्शन गराउने मत अभिव्यक्त गर्दछन् । शान्ति र सद्भावका लागि समाजमा रचनात्मक चेतना बढाउनु नै मिडियाको मुख्य धर्म हो ।
मिडियाले सामाजिक जीवनलाई सजिलो बनाइदिएको छ । सजिलोलाई भरपर्दो बनाउनु उसको दायित्व हो । जीवनका हरेक पाटाहरूमा असर पु¥याउने मिडिया आफैँमा विश्वसनीय हुुनुपर्दछ । विश्वसनीयता भएन भने सामाजिक पुँजी गुम्ने गर्दछ । सामाजिक पुँजी र परिचय भनेको सामाजिक प्राणीका लागि सबैभन्दा महत्वपूर्ण हुने गर्दछ । सञ्चारमाध्यमको सामाजिक पुँजी भनेको जनतासमक्ष सही सूचना पु¥याउनु हो । सही सूचनाले समाजमा सकारात्मक अन्तत्र्रिmयाहरू बढाउने गर्दछ । सामाजिक सम्बन्धहरूका सबल पक्षहरूलाई उजागर गर्ने प्रेरणा दिन्छ ।
सकारात्मक सक्रियता बढाउँदै अन्तर्कृयात्मक क्षमता बोकेका नागरिक उत्पादन गर्ने कार्यमा योगदान पुर्याउने गर्दछ । मिथ्या र भ्रमपूर्ण सूचनाहरूले सामाजिक सम्बन्धहरूमा आक्रोशको मात्रा बढाउने, बेमेल र अस्वस्थ प्रतिस्पर्धाहरूलाई आमन्त्रण गर्ने तथा सामूहिक सहकार्यमा नै विचलन पैदा गर्ने अवस्था सिर्जना गर्ने गर्दछन् । त्यसकारण सञ्चारमाध्यमहरूले समाजको आवश्यकता र महत्वलाई बोध गर्नु आवश्यक छ ।
हाम्रो समाज भनेको प्रजातान्त्रिक समाज हो । यो समाजभित्र विविधता छ । बहुलता छ । सम्बन्धहरूको सौन्दर्यता छ । समानुभूति छ । सहयोगको हार्दिकता छ । निरक्षरदेखि आलोचनात्मक चेत भएका व्यक्तिहरूको बसोवास छ । मिडियालाई बुझ्ने, विश्लेषण गर्ने अभिव्यक्तिहरू प्रकट गर्ने र रचनात्मकताका लागि आवश्यक पर्ने सिपहरूसमेत भएका व्यक्तिहरू रहेका छन् । एउटा मात्रै सञ्चारमाध्यममा भर पर्ने र नपर्ने दुबै प्रकृतिका व्यक्तिहरू समाजमा बसिरहेका हुन्छन् । उनीहरूले समाचार वा सन्देशलाई आ–आफनै ढङ्गबाट बुझ्ने, विश्लेषण गर्ने र प्रश्न गर्ने गर्दछन् ।
सूचनाका लागि धेरै स्रोतहरूको विश्लेषण गर्नेहरूभन्दा कम स्रोतहरूको अधिक विश्वास गर्ने व्यक्तिहरू समाजको शान्ति र सद्भावका लागि जोखिम समूहभित्र पर्दछन् । उनीहरूको सूचनामा पहुँच बढाउनु आवश्यक छ । विश्लेषण गर्ने र प्रयोग गर्ने क्षमता बढाउनु अनिवार्य छ । यसले मिडिया उपभोक्तालाई मिडियाको नियतमाथि प्रश्न गर्न र मिडियाको कुनै पनि नकारात्मक प्रभावबाट मुक्त राख्न सहयोग पु¥याउँछ । मिडियाले सामाजिक विविधतालाई उपेक्षा गर्नुहुँदैन । जातीय र लैङ्गिक विभेदलाई प्रोत्साहन गर्नुहुँदैन। धार्मिक सम्प्रदायलाई एक–अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन । हिंसालाई बल पुर्याउने वा भड्काउने खालका समाचारलाई स्थान दिनुहुँदैन । समाचारले पक्षधरता देखाउनु हुँदैन ।
मिडियाले सीमान्तकृत समुदायको आवाज बोल्नुपर्दछ । समस्याहरूको उठान मात्रै होइन, समाधानसहितको खबरदारी गर्नुपर्दछ । आवाजविहीनहरूको भाषा बोल्नुपर्दछ । सामाजिक जवाफदेहिताको लागि पहरेदार बन्नुपर्दछ । समाजमा रहेका सूचनालाई प्रशोधन गरी समाजकै उन्नयनका लागि प्रयोग गर्नुपर्दछ । सूचना र सञ्चारको प्रमुख माध्यम मिडिया भएकाले समाजको आग्रहलाई बेवास्ता गर्ने होइन, सहकार्यको ढोका खोल्नुपर्दछ । दुष्प्रचारले सबैलाई हानि पुर्याउने भएकाले जिम्मेवार र मर्यादित भूमिका आवश्यक छ । जनस्तरमा रहेको मैत्रीपूर्ण सम्बन्धलाई सम्मान गर्दै त्यहाँ रहेका विकृतिलाई उजागर गर्नु सञ्चारमाध्यमको दायित्व हो ।
सही, निष्पक्ष र तथ्यपूर्ण समाचारले सामाजिक सद्भावका लागि योगदान पुर्याउँछ । समाजलाई सही सूचनाले एकाकार बनाउनुपर्दछ । प्रमाणित नभएका र काल्पनिक सूचनाहरूलाई निरुत्साहित नै गर्नुपर्दछ । जातीय, धार्मिक तथा भौगोलिक रूपमा फरक भए पनि सम्मानपूर्वक सहकार्य गरिरहेको समाजलाई सद्भावमैत्री बनाउन सञ्चारमाध्यमले रचनात्मक नेतृत्व, उत्प्रेरणा, क्रियाशीलता तथा सामाजिक उत्तरदायित्वसहितको योगदान दिन सक्छन् । त्यसैले भन्न सकिन्छ मर्यादित, सिर्जनशील र सकारात्मक अग्रसरता प्रेरित सद्भावपूर्ण समाजका लागि सञ्चारको भूमिका अहम रहन्छ ।-सामाजिक परिर्वतन केन्द्रको ब्लगबाट- (लेखक पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुन्)
प्रतिक्रिया