पार्टीहरूले मिशन चौरासीको चर्चा गर्न थालेका छन्, रवि लामिछानेले त कांग्रेस, एमाले, माओवादी लगायत प्रतिपक्षी र सत्ता गठबन्धनका सहयात्रीहरुलाई पुरानो कित्तामा राखेर भनिसकेकै छन कि राजनीतिको एउटा सटर त बन्द हुनै पर्दछ कि तपाइहरुको कि हाम्रो ।
एमाले पाटीर्, संगठन र मत संख्या दुवैको हिसावले जेठो पार्टी हो । उसले मिशन चौरासीको कुरा गर्नु सान्दर्भिक नै छ । त्यसै गरि नेपाली कांग्रेस पनि मतसख्याँको हिसाबले, सभासदको हिसाबले, सत्ताधारी भएको हिसाबले मिशन चौरासीको विषयलाई अस्वभाविक मान्न पर्दैन, शेखर, गगन र विश्वप्रकाशहरुले चौरासीमा बिना तालमेल नै अगाडि बढ्ने भनेर पनि भनी सक्नु भएको छ ।
त्यसैगरि अर्को शक्ती राप्रपा जो गणतन्त्रको स्थानमा राजतन्त्र स्थापनाको विचार राख्दछ, उसले पनि यो विषयको चर्चा गर्न सक्दछ किनकि यतिबेला गणतन्त्रका पक्षधरको कार्यशैली, व्यवहार र गलत नेतृत्वका कारण देशको सामाजिक, राजनैतीक र आर्थिक व्यवस्था जुन तहस नहस हुन पुग्यो र गणतान्त्रीक फोर्सहरू जुन बदनाम हुन पुगे, त्यसले जनतामा देखा परेको असन्तुष्टिलाई आफ्नो विचारमा रुपान्तरण गर्न सकिन्छ कि भन्ने कल्पना गर्नुलाई असान्दर्भिक भन्न सकिने ठाउ छैन ।
यस प्रकारको परिवेश र परिस्थीतिमा बाँकी रहेका राजनैतीक शक्तिहरु जो आफूलाई अग्रगमन र परिवर्तनकारी भन्ने गर्नु भएको छ , वहाँहरुको मिसन चौरासीको मार्गचित्र के हुने? वहाँहरु कसरी अगाडि बढ्ने ? भन्ने प्रश्न आजको गम्भीर प्रश्न हो, के अब पनि वहाँहरू हिजोका दिनमा जस्तै दुइ ठूला पार्टीहरुको दरबारमा प्रभु हामिलाई केहि प्रतिशत सिट छुट्टाइदिन पर्यो, हामि त्यसैमा सन्तुष्ट भएर दुःखम सुखम जीवन निर्वाह गरि बस्नेछौ भन्दै सिल्टीको थाली थाप्ने कि यथास्थितिमा क्रमभंग गर्दै देशको आवश्यकता र जनताको मनोविज्ञानलाई आत्मसात गरि अगाडि बढ़ने ?
अब आगामी दिनहरूमा एक्ला एक्लै हिजोका पुरानाबासी विचारहरु, इतिहासका पंट्यारलाग्दा बहसहरूले भविष्यमा कुनै सकारात्मक परिणाम आउनेछ भनि कल्पना गर्नु शिवाय मुर्खता अरु केहि हुने छैन। माधव नेपाल एक्लै, प्रचण्ड, एक्लै बाबुराम एक्लै, बिप्लव एक्लै,उपेन्द्र एक्लै परिणाम निकाल्ने छु भनेर कल्पना गर्नु भएको छ भने तपाइहरुको मात्र बालहठ हुनेछ । यदि त्यसरी नै सोच्नु भएको छ भने सिपी मैनाली, नारायणमान विजुक्छे र मोहनविक्रमको हैसियतमा तपाइहरु पनि पुग्नु हुनेछैन भनेर कसरी भन्न सकिन्छ र ?
परिस्थिति यदि धेरै गम्भीर बनी सक्यो कि अब पुरानै तरिकाबाट नँया परिणाम खोज्नु असम्भव जस्तै बनि सकेको छ, त्यसैले अब अन्य पार्टीहरुले जस्तै हामिले पनि मिशन चौरासीको मार्गचित्र अगाडि सार्नु पर्दछ, नयाँ भिजन र नयाँ मिशनका साथ अगाडि आउन पर्दछ । के हामिले त्यसरी अगाडि बढ्ने हिम्मत गर्दछौं? नेताजीहरु हिम्मत गरौं, हिम्मत गर्नै पर्दछ, आफ्नो इतिहास आफै सक्काउने मुर्खता कसैले पनि गर्नु हुदैन ।
के हामिले मिसन चौरासी सफल पार्न सक्दछौँ ? हो हामिले मिशन चौरासी सफल पार्न सक्दछौ, सफल मात्र होइन कि हामि दुई तिहाइ बहुमतका साथ अगाडि बढ्न सक्दछौँ तर त्यस्को लागि नेतृत्वमा त्याग, हिम्मत र साहसको आवश्यकता पर्दछ, कुनै वस्तु प्राप्त त्यसैले मात्र गर्न सक्दछ जसले गुमाउने पनि हिम्मत राख्दछ । सिद्धार्थ गौतमले राजपाठ, दरबार, सुख सुविधा र परिवार समेत त्याग गर्ने हिम्मत गरेकै कारण गौतमबुद्ध बन्न सकेका थिए ।
महात्मा गान्धीको नाम स्वर्ण अक्षरले यसै लेखिएको होइन, यसर्थ हामिले महात्मा गान्धी बन्ने हिम्मत गरौं, मिसन चौरासी सफल पार्नको निम्ति हामी यसरी अगाडी बढ़ने हिम्मत गरौं ।
पहिलो: शासकीय स्वरूप परिवर्तन गरि सभासद्ले कार्यकारिको निर्वाचन गर्ने ठाउँमा जनताको प्रत्यक्ष मताधिकारद्वारा कार्यकारी प्रमुखको निर्वाचन गर्ने व्यवस्था गरौं, यसले सासंद किनबेच, ब्लेक मेलीङ् र सत्ता परिवर्तनका ढोकाहरु बन्द हुनेछन् र स्थायी सरकार निर्माणको आधार तयार हुनेछ ।
दोश्रोः गणतन्त्र प्राप्ति पछि सत्तामा रहेका प्रथम श्रेणीका कर्मचारी र सबै भिभिआईपीहरुको सम्पतिको छानबिनको व्यवस्था गरौं।
तेस्रो: प्रधानमन्त्रीदेखि वार्ड अध्यक्षसम्मको सेवा सुविधा कटौतीको प्रस्ताव गरौं।
चौथोः संविधानमा उल्लेख भएका तर सिंहदरबारले अठ्ठाएर राखेका सबै तल्लो तहका अधिकारहरु सिंह दरबारबाट खोसेर सम्बन्धित स्थानमा ल्याउने व्यवस्था गरौं।
पाँचौंः काम भ्रष्टाचार निर्मलिकरणको निम्ति अधिकार सम्पन्न शक्तिशाली आयोगको ब्यवस्था गरौं।
छैटौंः प्रचण्ड, बाबुराम, माधव झलनाथ, उपेन्द्र, विप्लव, तपाइहरुले नेतृत्व गरेका पार्टीहरु विघटन गर्ने प्रस्ताव गर्नुहोस र विघटनको दिशामा अगाडी बढ्नुहोस ।
सातौ : प्रचण्ड, बाबुराम, माधव र झलनाथ कुनै पनि कार्यकारी भुमिकामा नरहनुहोस, विचारकको रुपमा प्राधिकारको भुमिका मात्र निर्वाह गर्नुहोस ।
आठौ : नेतृत्वमा बिप्लव, घनश्याम, नारायणकाजी, रामकुमारी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, मिलन पाण्डे आदी कैयौं क्षमतावान र प्रतिभाशाली नयाँ नयाँ अनुहारलाई बिना संकोच नेतृत्व हस्तान्तरण गर्ने हिम्मत गर्नुहोस।
नवौंः वृहत संयुक्त राष्ट्रिय एकता महाधिवेशनबाट यी माथिका प्रस्तावहरु सहित विकास, समृद्दि र सुशासनका योजना सहित सामुहिक नेतृत्व निर्माण गरि अगाडी बढौं।
दशौंः जनतासँग सरोकार नभएका, आजको वर्तमान वस्तुगत परिस्थितिसँग मेल नखाने, एकतामा बाधा पुराउने खालका सबै खाले वाद र विचारहरुबाट मुक्त हुने दिशामा अगाडि बढौँ ।
हामिले यदि यसो गर्न सक्ने हो भने एक्काइसौं शताब्दीको माक्र्सवाद, एक्काइसौ शताब्दीको समाजवाद, एक्काइसौं शताब्दीको माओवाद, प्रचण्डपथ, बिप्लबपथ, बाबुरामपथ, सबैपथ यसैमा समाहित हुनेछ, बिप्लबको जनक्रान्ती पनि यहि मार्गबाट सम्पन्न हुनेछ, बिपिको प्रजातान्त्रिक समाजवाद, मदन भन्डारिको बहुदलीय जनवाद, पुष्पलालको नयाँ जनवाद र प्रचण्ड बाबुरामको एक्काइसौं शताब्दी को जनवाद पनि यहीँ मार्गबाट प्राप्त गर्न सकिनेछ र संसार भरिका क्रान्तीकारी परिवर्तनकारीहरुले यो नयाँ विचारको सिको गर्ने छन्, र
नेपाल विचार निर्माणको क्षेत्रमा अग्रस्थानमा रहनेछ । यदि सबै नेतृत्वले यो अकल्पनीय र दुष्साहस जस्तो देखिने अहिलेसम्मको सम्भवत नौलो खाले निर्णय गर्ने हिम्मत गर्ने हो भने इतिहास नयाँ सिराबाट अगाडि बढ्ने छ र तपाइहरुको नाम स्वर्णिम अक्षरमा युगौँ युग सम्म लेखिने छ, तपाइहरु प्रति घृणा भाव होइन विस्वाश, माया र सम्मानमा अकल्पनीय वृद्धि हुनेछ, तपाइहरुले महिनौं अभियान चलाएर पचास जना सदस्य थप गर्न नसकेको वर्तमान अवस्थामा हजारौं हजार नेता कायकर्ता यो महाअभियान र मिशन चौरासीमा जोडिने छन्, कसैले दुर्गा प्रसाइको खोजी गर्ने छैन, रविन्द्र मिश्रका विचार बिक्ने छैनन, हिरोइजमको विकास हुने छैन, राजतन्त्रले टाउको उठाउने ठाउ पाउने छैन ।
विवेकशील साझा पनि यहि जोडिने छ, जनता पहिलोु को अभियनता डम्मर खतीवडाको टिम पनि यहि जोडिनेछ, सारा जनता कार्यकर्ताको शरिरमा अभुतपुर्ण रक्त संचार हुनेछ । जोस, उमंग र उत्साह भरिएर आउनेछ। निर्वाचनमा उम्मेदवार बन्नको निम्ति एउटा मापदण्डको विकास गरौं, बनाइएको मापदण्ड कसैले उल्लंघन गर्न नसक्ने विधिको विकास गरौं, यदि यसो गर्ने हिम्मत गरेउ भने पार्टीलाई आफ्नो जमीनदारी र विर्ता ठान्ने चेतना र चिन्तन माथि जवरजस्त धक्का हान्ने हिम्मत हामिले गरेउ भने हाम्रो विजय यात्रालाई रोक्नकाल्पनीक इन्द्रले पनि सक्ने छैनन् ।
आशा गरौं, नाम लिएका नेताहरुको मात्र सक्रिय जीवन अनुमानित बीस वर्ष मात्र बाँकी होला, त्यसैले वहाँहरुमा सद्बुद्दी पलाओस, इतिहास निर्माण गर्ने यो स्वर्णिम अवसरलाई वहाँहरुले बुझ्नुहुनेछ भन्ने विश्वास गरौं । जीवन र मृत्यु सगँसगैँ भए जस्तै चुनौती र अवसर पनि एक सिक्काका दुई पाटा हुन, त्यसैले यो अवसरलाई प्रयोग गरौं, म जस्ता हजारौं इमानदार नेता कार्यकर्ताको भावनाको सम्मान गरौं, यदि यो मार्ग अवलम्बन गर्न तपाइहरु आनाकानी गर्नुभयो भने र आफ्नो कथित जिमिदारी र विर्ता कायम राख्ने, पानीको कुन्टोमा मात्र रमाउने, विशाल समुन्द्रमा हाम फाल्न हिम्मत नगर्ने हो भने मिसान चौरासी नजिक आउँदै गर्दा तपाइहरुको जिमिदारी र विर्ता घट्दै जानेछन र हामिजस्ता पचासौं कार्यकर्ता बाध्यताबस भिष्मपितामहुको बाटो अवलम्बन गर्न बिबस हुनेछौँ । समयमै सबैले सोचौँ ।
प्रतिक्रिया