बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने बताएका छन् । हाल १५ शय्यामा सञ्चालित उक्त अस्पतालको बुधबार अनुगमनपछि उनले यही आर्थिक वर्षमा नै अस्पतालमा शय्या थपिने उल्लेख गरे ।
‘अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक वर्षमा नै थप ३५ शय्या थप गर्न पहल गर्नेछु ।”–मुख्यमन्त्री चौधरीले भने । प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले मुख्यमन्त्री चौधरीलाई अस्पतालका बारेमा जानकारी दिएका थिए ।
सो अवसरमा निर्देशक डा श्रेष्ठले अस्पतामा आवश्यक भौतिक संरचनाका साथै निर्माणाधीन भवनको बारेमा पनि जानकारी गराएका थिए । विसं २०५५ मा स्थापना भएको उक्त अस्पतालले लुम्बिनी मात्र नभइ कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई समेत सेवा दिँदै आइरहेको छ । प्रदेश अन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको उनले बताए ।
निर्देशक डा श्रेष्ठले प्रदेश प्रहरी अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना रहेको जानकारी दिए ।
प्रतिक्रिया