मंसिर महिना, महिना कम पर्व बढी हो । किनकी नेपालीले मंसिर महिनामा बिहे गरेर, पिकनिक वा भ्रमण गरेर र दशैं तिहार जस्तै रमाइलो गरेर मनाउने गर्छन् । मुख्यतया हिन्दु नेपालीका पर्वहरू भाद्रमा पर्ने तीजबाट सुरु भएर असोजमा दशैं, कार्तिकमा तिहार र मंसिरमा पर्ने बिहेसम्म चल्ने गर्छन् । हरेक नेपाली मंसिर महिनामा कम्तीमा एउटा बिहेमा त गएकै हुन्छ । मंसिर महिना यस्तो महिना हो जसले अविवाहितलाई मात्र होइन विवाहितलाई पनि सबै कष्ट भुलेर बिहे गरौँ गरौँ लाग्छ । फेरि दु:ख सम्झन्छ, ह्या एउटै बिहे त यति भारी छ भन्छ, अनि मन खोलेर नाच्छ ।
'माकुर माकुर घुर' यो बिहेको राष्ट्रिय गान हो । यो गीत बिना कुनैपनि बिहे सम्पन्न नै हुन्नन् । बिहेमा जान नपाएकाहरू पिकनिक वा भ्रमण मनाएर आफ्नो चाहनालाई पूरा गर्छन् । अन्य पर्वहरू विभिन्न महिनामा परिरहे पनि उल्लेखनीय पर्वहरू भाद्रदेखी मंसिरसम्म पर्ने गर्छन् । त्यसैले मंसिर महिनामा बिहे पर्वको महिना भनेर उल्लेख गर्नुको विशेष कारण छ । मंसिर महिना विवाहले सम्बन्ध जोडिने महिना मात्र होइन कैयौंको प्रेम सम्बन्ध तोडिने महिना पनि हो । केही जोडिएका र केही तोडिएका सम्बन्धहरूलाई थोरै उल्लेख गरौँ । मेरो एकजा साथीको ८ बर्ष लामो प्रेमसम्बन्धमा एकाएक ब्रेक लागेछ गत सालको मंसिरमा ।
सम्बन्ध टुट्नु एकदुई दिन अगाडिसम्म नर्मल कुरा भएको रहेछ तर एकदिन एक्कासी प्रेमिकाले ' हाम्रो घरकाले मेरो बिहे एकजनासङ्ग तय गरेछन्' भनिन् रे । विचरा ती साथीले के भनुन् ? त्यहीपनि ' अन्तिम निर्णय त तेरै थियो होला नि, मुन्टामा छोपेर जबर्जस्ती मण्डपमा त राखेनन् होला नि ? 'भनेर एकपटक झर्किएछन् चित्त बुझाउन । प्रेमिकाको अन्तै बिहे हुने खबरले अत्यन्तै विक्षिप्त बनेका ती साथीलाई दुईचारजना अरू साथीहरूले जवर्जस्ती बाइकमा राखेर प्रेमिकाको बिहेमा पुर्याएछन् । बिहे कहाँ हुँदै छ भन्ने पक्का लोकेसन थाहा नभए पनि मिति मात्र थाहा भएको आधारमा वरपरका मान्छेलाई सोध्दै, ठाउँठाउँमा राखिएका शुभविवाह लेखिएका ब्यानरमा हेर्दै ठाउँ पत्ता लगाएछन् । गएर प्रेमिकालाई हेर्दै प्रेमिकाको विवाहमा उधुम नाच्ने मात्र होइन, उनका आफन्तसङ्ग गफ लगाउने र पानीपुरी र जेरिमा बसेका मान्छेलाई हटाएर आफै सर्भिस गरेर आएछन् ।
त्यति हुँदापनि मनलाई शान्त नभएपछि सरकारी जागिरेले मेरो प्रेम तहसनहस गर्यो त्यसलाई देखाउन भए पनि अधिकृत हुन्छु भन्ने साथीले, अहिले बेलाबेला नयाँ प्रेमिकासङ्ग घुमेका फोटोहरू पोस्ट गरेको देख्छु । मैले उसकै विवाहमा उधुम रमाइलो गरेर आएँ भनेर सुनाइरहन्थे ती साथीले तर लामो समयपछि त्यही पाहिलाकी प्रेमिकासङ्ग एकपटक भेट भएछ र आफुले नाचेको कुरालाई उप्काएछन् । रमाइलो के भएछ भने ती प्रेमिकाले त्यति विधि नाचेको र हर्कत गरेको कुनै कुरा देख्दै देखिन्छन् कारण के भने उनले त्यतिबेला आफुले प्रयोग गर्ने चस्मा नै प्रयोग नगरेकी रहेछन् । जसले गर्दा केहि दुरिमा नाचेको मान्छेलाई ठम्याउन सकिनन् ।
त्यस्तै एकजना अर्को साथीको कलेज जीवन सुरु भएपछि सुरु भएको ५ बर्षे प्रेम सम्बन्ध अन्तिम बर्षको रिजल्ट आउनु अघि नै टुट्यो । राम्रै भएको सम्बन्धमा एकाएक हरेक ठाउँबाट ब्लक खाएछन् । एक दिन, दुई दिन, ४ दिन गर्दै दिन बितिसक्दा पनि कतै उपाय लागेनछ र बल्ल आफ्नो मनको पीडा पोख्दै उनले मलाई सुनाए, " आज म ब्लक भएको १५/१६ दिन भयो, के कसो हो वास्तै छैन । तेरो फोन उठ्छ कि खबर गर त । ब्लक गर्नु एकदुई दिन पहिल्यै एकजना बुटवलमा ब्यापार गर्ने केटाले बिहेको प्रस्ताव गरेको छ भन्ने सुनाएकी थिई । अनि हाम्रो घरमा हामी ब्राह्मण तपाइँ क्षत्री त्यहिभएर तपाइँसङ्ग मेरो बिहे हुन दिन्नन् होला भनेर पनि सुनाएकी थिई ।
"त्यतिबेला मेरो फोन त उठेन तर केही दिनपछी साथीको प्रेमिकाको फेसबुक एकाउण्टबाट अपलोड भएको 'मेरो सबैकुरा' भन्ने क्याप्सनसहित एकजनासङ्ग छातीमा टासिंएको फोटो स्क्रीनशट गरेर साथिलाई पठाइदिएं । उनले पीडा सुनाउँदै भन्न थाले, "मलाई क्षत्री भएर घरकाले दिन्नन् होला भनेकी आफू पनि क्षत्रीसङ्गै भागिछे, लभम्यारिज गर्ने हो भन्ने गर्थी आखिर लभम्यारिजै गरि, लभ मसङ्ग म्यारिज उसङ्ग । उसका अगाडी कार लिएर हिड्ने हो ।"अन्य साथीका यतिका कुरा गरेपछी आफ्ना पनि केही कुरा खोल्नैपर्छ । कैयौं साथीलाई प्रेम टुटेपछी मैले 'यस्ता वाहियात कुरामा समय खेर फालेर तनाव लिने होइन, अगाडि बढ्नुपर्छ' भनेर सुझाव दिने गर्थें ।
ती साथीहरूले आफै परेपछी थाहा पाउँछौ भन्ने गर्थे । यो मंसिरमा मेरो प्रेमिकाको पनि बिहे भयो एकजना अस्ट्रेलिया बस्ने केटासङ्ग । उनले मसङ्ग बिहे नहुनुको पछाडी अनेक कारण दिएर बिदा भईन् । ऊनी मभन्दा एकबर्ष जेठी भएकाले उमेर नमिल्ने, घरकाले बाहिर गएका केटासङ्ग बिहे गर्न खोजेका लगायत लगायत । प्रविधिको प्रयोग गरेर डिजिटल इङ्गेजमेन्ट गरेका उनीहरु बिहे भने दुबैजनाको प्रत्यक्ष उपस्थितीमै सुसम्पन्न गरेका रहेछन् । उनले कैयौंपटक भन्ने गर्थीन्," यदि केही कारणले एकअर्कासङ्ग हाम्रो बिहे भएन भने पनि मेरो बिहेमा तिमीलाई अङ्गालो हालेर रोएर बिदा हुनेछु ।"
तर उनले आफ्नो बिहेमा आश गरेर बसेको मलाई अङ्गालो त परै जाओस् निम्तोसम्म गरिनन् । माथिका साथीसङ्ग प्रेरित भएको मैले उनले नबोलाए पनि उनको बिहेमा नाचेर आउने भन्ने योजना उनकै बिहेका दिन परेको मेरो अङ्कलको बिहेमा म स्वयं व्यवस्थापक बन्नुपरेकाले सफल हुन सकेन । साथीहरूलाई पीडा सुनाउने हो भने 'कस्तो हुने रहेछ आफुलाई पर्दा ?' भनेर जिस्काउने गर्ने गरेका छन् । हरेक माध्यमबाट सम्पर्क टुटाएर बसेकि उनले जानेबेलामा "हाम्रो बीचमा विवाह हुन नपाए पनि पहिलो प्रेमको रूपमा हाम्रो सम्बन्ध रह्यो यसमा म खुसी छु, सम्बन्ध नै नभए पनि जीवनमा कहिल्यै सम्पर्क टुट्ने छैन" भनेकी थिइन् अहिले ती म्यासेज सम्झेर एक्लै हास्ने गर्छु ।
प्रतिक्रिया