बुटवल । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुषालले देशका किसानलाई धेरै भन्दा धेरै दुध उत्पादन गर्न आग्रह गरेका छन् । उनले किसानले जति धेरै भैंसी पालेर दुध उत्पादन गर्छन्, त्यती नै बजारीकरण हुनेगरी सरकारले काम गरिरहेको बताए ।
शुक्रवार बुटवलस्थित लुम्बिनी दुग्ध विकास संस्थान (डी डी सी) को फ्रेस मिल्क प्लान्ट उद्घाटन गर्दै उनले किसानले उत्पादन गरेको दुध खपत गराउनेगरी सरकारले छिमेकी मुलुकसंग छलफल गरी बजारको बाटो तय गरेको बताए । हामीले प्रधानमन्त्री चीन भ्रमणका बेला उनीहरुले भैंसीको मासु खरिद गर्न तयार रहेको सम्झौता पत्रमा हस्ताक्षर गर्दा दुध समेत खरिद गर्नुपर्ने आग्रह गरेका थियौं, उनले भने, मासु भन्दा केही कम भएपनि चीन दुध र दुग्धजन्य वस्तु खरिद गर्न समेत तयार रहेको छ ।
उनले नेपाली किसानले मासु बेच्नका लागि मात्र भैंसी नपाल्ने जानकारी चिनीया प्रतिनिधीलाई गराएकाले उनीहरु दुध खरिद गर्न राजी भएको बताए । मन्त्री भुषालले यो पक्ष नेपाली किसान तथा दुग्ध विकास संस्थानका लागि खुसीको पक्ष भएकाले कृषिमय देश बनाउन किसान र सरकार एक भएर लाग्नुपर्ने जनाए । दुग्ध विकास संस्थानले उत्पादन भएका दुधका पदार्थ र दुध बजारमा विक्रि गर्न बजार खोज्न जरुरी रहेको बताए । किसानको दुध खरिद गर्न डराउने, बजारीकरण पनि नगर्ने भए संस्थानको काम छैन, उनले भने, किसानको अभिभावकत्व निभाउन यस्ता संस्थाले नै बजार खोज्ने र मुल्य पाउनेगरी दुध विक्रि वितरणको वातावरण बनाउनुपर्छ ।
देशमा दुध बढी भएको छ भन्ने भ्रामिक समाचार आएको प्रति आक्रोश पोख्दै उनले केही व्यक्तिले निहित स्वार्थ पुरा गर्नका निम्ति यस्ता समाचार दिएको बताए । उनले समाचार आएजस्तो समस्या नरहेको बताए । उनले बाग्मीत प्रदेशको हेटौंडामा ठुलो दुध पाउडर प्लान्ट निर्माण गरी बेसिजनमा उत्पादित दुधलाई पाउडर बनाएर स्टोर गर्ने योजना बनाएको जनाए । साथै यस्ता धेरै प्लान्ट बनाउनेगरी काम समेत भइरहेको उनले बताए । भुषालले सरकारले घडेरी मुक्त क्षेत्र पत्ता लगाई त्यसमा लाखौं लाख भैंसी पाल्ने र त्यसबाट उत्पादित दुध, दुग्धजन्य पदार्थ साथै मासु निर्यात गर्नेगरी काम गरिरहेको बताए ।
अहिलेपनि बाहिरबाट आउने भैंसीको मासु खपत भइरहेकाले बाहिर विक्रि गर्नेगरी बजार खोजेर बाहिरका आयातीत उत्पादन पुर्णरुपमा बन्द गर्ने उनको भनाई छ ।
दुग्ध विकास संस्थानका पदाधिकारी नै बाहिरबाट दुध ल्याउन दिनुपर्यो भन्दै डेलिगेशनमा जाने प्रवृत्तिले पनि देशका किसानले गरेको उत्पादनले बजार पाउन नसकेको उनले बताए । मन्त्री भुषालले यहांका किसानले अब उत्पादन गर्न सकिंदैन भन्ने दिन आएमा मात्र बाहिरको आयात गर्ने अनुमति दिने बताए ।
डी डी सी का महाप्रबन्धक सन्जिब झाले उक्त फ्रेस मिल्क प्लान्ट सरकारको स्वामित्वको नेपालकै पहिलो बुटवलमा बनाउन सफल भएको बताए । उनले उक्त प्लान्ट भवन निर्माणका लागि डीडीसीले ५५ लाख खर्च गरेको तथा अन्य सहयोग नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजनाबाट १ करोड ५५ लाख प्राप्त गरी प्लान्ट जडान कार्य सम्पन्न गरेको बताए । उक्त प्लान्टमा ७ वटा विभिन्न प्रकृयाबाट दुध स्टर्लाईज गरी प्लाष्टिकको प्याकेजिङ गरेर बजारमा पठाईन्छ । २ सय एम एल को बोतलमा उपलब्ध हुने दुधको मुल्य ७० रुपैयां प्रति बोतल तोकिएको छ । उक्त दुध ३ महिनासम्म खपत गर्न सकिन्छ । पोषिलो र स्वस्थकर दुधले बजारका अन्य पेय पदार्थलाई विस्थापित गर्नेगरी बजारीकरण गर्न आफुहरु लागिपर्ने बताए ।
प्रतिक्रिया