ताजा अपडेट »

पढ्ने शिक्षक

शनिबार, ०९ मंसिर २०८०, १२ : ४६
191 Shares
शनिबार, ०९ मंसिर २०८०
191 Shares

पढेर वा परेर नै ज्ञानी र व्यवहारिक बन्छ मानिस । पढ्नु ,हजारौं गुणा राम्रो काम हो नपढ्नुको तुलनामा । समयले मानिसलाई पढ्ने बनायो तर मानिस पढ्न अल्छी मानिरहेको पाइन्छ । पढेर नै लेख्न सकिन्छ । एक शब्द लेख्न १०० शब्द पढ्नुपर्छ । मानिस, प्रायः बाध्यतााले कोर्षका पुस्तक पढ्छ । औपचारिक शिक्षाका निम्ति । शिक्षाविदहरु भन्छन्–अनौपचारिक तरिका र आकस्मिकताले पनि सिक्न सकिन्छ । यो झन् व्यवहारिक हुन सक्छ ।

जीवन सिकाइ हो । सिकाई पढाई र व्यवहारिकताबाट प्राप्त हुने गर्छ । सिक्नका निम्ति सधैं घरमा अभिभावक र छिमेकी हुन्छन् नै र उनीहरुले निरन्तर सिकाइ दिन्छन्भन्ने कुरा सत्य नहुन पनि सक्छ । त्यसमा पनि शिक्षकले धेरै नै पढ्नुपर्छ कारण उनीहरुबाट धेरैले सिक्नुछ । सिक्नका लागि सिकाई अनिवार्य सर्त हुन सक्छ । शिक्षकको ज्ञानको भण्डार ठूलो हुने भएकैले उसबाट विद्यार्थी,शिक्षक–साथी,अभिभावक र छिमेकीले धेरै कुरा सिक्न सक्छन् ।

बुढापाकाहरु भन्छन्–आधाघैंटो पानी बढी छचल्किन्छ,रित्तो भाँडो ठूलो आवाजमा बज्ने गर्छ । यी कुराहरु कति हदसम्म सत्य पनि होलान् । त्यसैले ऋग्वेदमा भनिएको रहेछ–तिमी जहाँ छौ,जस्तो अवस्थामा छौ तर दिनमा पाँच मिनेट पुस्तक उघार । यसको अर्थ गहन छ । पुस्तक उघारेरमात्र छाडिदैन । चाख लागे निरन्तर पढिन्छ ।

सयौंवर्ष बाँच्दा पनि सिक्न नसकिने ज्ञानगुनका कुराहरु पुस्तक पढेर महिनौं दिनमा प्राप्त हुन पनि सक्लान् ! उपयुक्त पुस्तक अमृतभन्दा पनि बढी गुणी हुन सक्छ । त्यसैले भनिन्छ–गलत पुस्तकको अध्ययन विष सेवनभन्दा पनि हानीकारक हुने गर्छ ।
पुुस्तक पढ्ने रुची ब्यक्ति पिच्छे फरक हुन सक्छ । ब्यक्तिका आ–आफ्ना रुची,चाहना र भावनाका कारणमात्र होइन आवश्यकताले पनि पुस्तक छनौटका आधार तयार पार्न सक्छ । औपचारिक शिक्षाका निम्ति पुस्तक रोजाईभन्दा पनि आवश्यकता ठहरिन्छ भने विभिन्न ज्ञान,सीप र व्यवहार परिवर्तनका लागि ब्यक्तिका रुची,चाहना आकर्षित हुने गर्छन् ।
प्रसङ्ग शिक्षकको नै हो ।

शिक्षकले किन पढ्ने ? औपचारिक शिक्षा हासिल गरी शिक्षक भएर शिक्षण पेसा अंगालेपछि तह वा श्रेणी बढुवाका लागि मात्रै पुस्तक पढ्ने हो भन्ने बुझाईले शिक्षकलाई ज्ञानको सीमित दायरामा कस्ने गर्छ । शिक्षक वृहत् आकास र शिक्षण फराकिलो भूमिजस्तै हुन् । संसारलाई सञ्चारले साँघुरो बनाएको छ । ज्ञानको दायरा फराकिलो बनाउनका लागि सञ्चारसँगको सामीप्यता अनिवार्य भइसकेको वर्तमान अवस्थामा शिक्षकले आफूलाई पुनर्ताजगी बनाइ राख्नका लागि पढ्नु अनिवार्य छ । राम्रा कुरा पढेर कहिल्यै खेर जाँदैन । पढेर नै मानिस विद्वान कहलिएको छ ।

शिक्षक र पानी उस्तै हुन् । नदीको प्रभावमा प्रत्येक थोपा नयाँ पानी हुने गर्छ । शिक्षक पनि ज्ञान र व्यवहारले सबैका अघि सधैं नयाँ हुने प्रयास गर्दछ । त्यसका लागि शिक्षक अध्ययनशील हुनु पर्दछ । नौलो ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्नका लागि शिक्षकसँग ज्ञानको भण्डार हुनुपर्छ । त्यसका निम्ति अध्ययन निःसर्त हुन सक्छ ।

नेपाली समाजमा शिक्षकलाई दोस्रो दर्जाको निजामति कर्मचारी ठानियो । अन्त कतै रोजगार नपाएर शिक्षक हुने त हुन भन्ने हेय मानसिकताले राज जमायो । विद्यार्थीको पहिलो रोजगाई शिक्षक बन्ने कुरा प्रायः शून्य रह्यो । डाक्टर,इन्जिनियर,पाइलट,नर्स, वकिल बन्ने चाहनाका अघि शिक्षक निर्धो सावित भयो । कहि नपाएर त शिक्षक भएको हो भन्ने गलत सोचाइँका अघि शिक्षकले दरिलो खम्बा बन्ने आँट गर्न सकेन ।

बेलाबेलामा स्वतःशिक्षक बनाउने सरकारी अदूरदर्शिताको परिणाम नै आजको गिर्दो शैक्षिक नतीजा र लाजमर्दो शिक्षकका रुपमा परिभाषित छन् । यसले नै शिक्षा क्षेत्रलाई धुमिल्याउने काम गरेको सत्य हो । खुल्ला प्रतिस्पर्धा,आन्तरिक प्रतियोगिता वा मौखिक अन्तर्वार्ता वा जे जसरी शिक्षाक्षेत्रमा शिक्षक छनौटका आधार प्रयोग भइरहेका छन् यसले नेपाली शैक्षिक जगतमा शिक्षक हुँ भनेर गर्व गर्ने गतिलो स्पेश दिन सकेको छैन ।

समयसापेक्ष शिक्षक तयार गर्न नसक्नु,भएका शिक्षक समयानुकूल परिवर्तित हुन नसक्नु वा वर्तमान आवश्यकतालाई सम्वोधन गर्ने विषयवस्तुमा शिक्षकको ज्ञान अपुरो र अधुरो हुनु र समाजले चाहे अनुसारको शैक्षिक गुणस्तरीयता कायम हुन नसक्नु नै आजको मुख्य शैक्षिक एजेण्डा हुन् । ती सबैका लागि मियोका रुपमा रहेका शिक्षकको अब्बल नेतृत्व आजको आवश्यकता हो । शिक्षक नै अगुवा हुन् । उनको सवल र सक्षम नेतृत्वले नै शैक्षिक उन्नयन सम्भव छ । त्यसका निम्ति शिक्षकले समाज,समाजका हरेका उत्पादनका बारेमा चासो र चिन्तन राख्न सक्ने ज्ञान प्राप्त पहिलो आवश्कता रह्यो ।

त्यसैले शिक्षकले पढ्नु प¥यो । त्यो पढाई कितावीमात्र होइन । चौतर्फी हुनुपर्छ । पहिलो कुरो त कक्षाकोठाको बस्तुस्थिति पढ्नुपर्छ । विद्यार्थीका चाहना,भावना र आवश्यकताको पहिचान गर्न सक्ने ज्ञान शिक्षकमा हुनुपर्छ । समकक्षीका योग्यता र क्षमतासँग आफूलाई समाहित गर्ने कला हुनुपर्छ । अभिभावकसँगको सामीप्यता र सहकार्य नै मुख्य मिलनविन्दू हो भन्ने कुरालाई शिक्षकले भुल्नुहुँदैन । सबैका लागि जाती हुन खोज्दा न भूइँको न खल्तीको भइने पो हो कि भन्ने डर पनि कायमै छ ! त्यसैले वर्तमान समयमा पढ्ने शिक्षकको खाँचो छ । जसले कक्षाकोठालाई पढोस् । घरपरिवार,समाज,राष्ट्र पढ्न सकोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।