परिश्रमको फल मिठो हुन्छ । मेहनत गरे माटोमै सुन फल्छ भन्ने उखान पश्चिम पाल्पाको मुझुङ्ग, छहरा गाउँले साहाकार पारेको छ । यतिखेर यहाँका ढिक, कान्ला, खेत बारी, खरवारी जता हेर्यो त्यतै सुन जस्तो पहेलपुर सुन्तला फलेको छ । यस क्षेत्रका किसानको मेहनतले आफ्नै अनुहारमा चमक, जीवनमा खुसी ल्याएको छ ।
पश्चिम पाल्पाको मुझुङ्ग, छहरा, मैनादी, अम्लाबास सुन्तलाखेतीको पकेट क्षेत्र नै हो । जहाँ किसानहरुले रहरलाग्दो सुन्तला खेतीबाट गरेको आम्दानी अरुका लागि लोभलाग्दो र प्रेरणादायी छ । पाल्पा जिल्लाको मुझुङ्ग, छहराका दर्जनौ किसानले ब्यावसनयिक रुपमा सुन्तला खेतीगरेका छन् । महिलाहरु पनि यो खेतीमा लागेर आय आर्जन गरिरहेका छन् । यो खेतीबाट दूई चार लाख आम्दानी गर्ने त पचासौ किसान छन् । यहाँका खरवारी, ढिक ,कान्लामा यतिखेर पहेलपुर रुपमा लटरम्म फलेका सुन्तलाले बगैंचामा पुग्नेहरुलाई निकै आनन्दको अनुभुति मात्र दिदैन माटोमा मूल्य छ भन्ने सन्देश दिन्छ ।
राम्रो सम्भावना, मनग्य आम्दानी
रैनादेवी छहरा क्षेत्रमा करिव ८ हजारभन्दा बढी हेक्टर भूमीमा सुन्तला खेती गरिएको छ भनी किसानहरुले गतबर्ष मात्र १० करोड बढी रुपैयाँ सुन्तला खेतीबाट आम्दानी लिन सफल भएको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउछ । यो बर्ष सुन्तला केही कम फलेपनि मूल्यको हिसावले त्यही हाराहारीमा आम्दानी हुने अनुमान गरिएको छ ।
यसैको कमाईबाट घर खर्च चलाउनुका साथै केटाकेटिको लालनपालन, शिक्षादिक्षा लगाएतमा खर्च गरेर घरखेत जोड्नेको सख्या पनि कम छैन् ।
आज भन्दा ४० बर्ष अगाडि सुन्तला खेतिसुरु गरेका नारायण बहादुर कार्किले २०५७ सालमा राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनीकहाँ हाल ८ सय बुटा फल दिने सुन्तलाछन् । उनी अहिले गाउँमा सुन्तला खेतीको अगुवा कृषकका रुपमा परिचित छन् । उनले गत बर्ष मात्र करिव १६ टन सुन्तला फलाएर नगद १४ लाख रुपैयाँ हात पारे । सुन्तलाको लागि सिचाईको व्यवस्था नहुदा आफै लाखौ रुपैयाँ खर्च गरेर लिफटिङ्ग,कृषि मिटर राखेर सुन्तला खेति बढाउदै गएका उनी यो पेसामा सन्टुस्ट रहेको बताउछन् ।उनको परिवार पनि जमेरै सुन्तला खेतीमा लागेका छन् । उनका छोरा बिनोद कार्किले बजार भन्दापनि प्रबिधिको समस्या रहेको बताए ।
मुझुुङ्गका किसान रामबहादुर कार्कि यो क्षेत्र उत्तरपश्चिम फर्किएको हिमाली हावाले भेटने भएकाले पनि सुन्तला खेतीको लागि उपयुक्त भएको वताउछन् । आफुकहाँ रहेका ५ सय बोटमध्ये २ सय बोटले फल दिएको वताउदै बाँझो खेतमा समेत सुन्तला रोपेको खेत देखाउदै भने यो खेतीले गाउँमा धेरैको जीवनमा सुधार ल्याएको छ । मकै, कोदो खेतीबाट खासै आम्दानी लिन नसकेका किसान यतिखेर सुन्तला लगाएत तरकारी खेतीमै जमेर लागेको अम्बर बहादुर कार्किले बताए । सुन्तलाबाट जुस,जाम ,रक्सि समेत उत्पादन गर्न सकिने र कोल्डस्टोरमा राखेर बेमौसममा राम्रो मुल्य पार्न सकिने भएका कारण पनि यो खेतीमा राम्रो सम्भावना देखेर किसानहरु अगाडी बढेका छन् ।
यस क्षेत्रमा स्थानीय पालिका र कृषि ज्ञानकेन्द्रबाट कृषि कार्यका लागि केही सहयोग प्राप्तहुन थालेपछि किसानहरु सुन्तला खेती तिर आकर्षित भएका हुन् । यद्यपी कतिपय किसान भनी यस्ता सहयोगबाट अझपनि बन्चित छन् ।यस क्षेत्रका सुन्तला पाल्पाका बिभिन्न बजार, बुटवल, भैरहवा, पोखरा, चितवन, बिराटनगर लगायतका बजारमा पुगेका छन् । यतिखेर तानसेन, बुटवल भैरहवाबाट सुन्तला ब्यापारीहरु किसानका सुन्तला बगैंचामा नै पुगेर सुन्तला खरीद गर्न थालेका छन् । सुन्तला खरीद गर्नको लागि बगैंचा हेर्न छहरा पुगेका बुटवलका तरकारी फलफूल थोक ब्यवसायी मोहमद याकुब यो पटक किसानले सुन्तलाको भाउ राम्रो पाएको वताउछन् ।
ठूलो समस्या ग्रीनीङ रोग
यस क्षेत्रमा लामो समयदेखि ब्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका सुन्तला कृषक ग्रीनीङ रोगको समस्या झेलिरहेका छन् । ग्रीनीङ रोग सुन्तलामा लाग्ने एकप्रकारको भाईरस हो । यो रोग लागेपछि पात पहेलो हुने, दाना साना नराम्रो आकारका फल लाग्ने र टेष्ट न आउने तथा बोट नै मर्ने सम्मको समस्या देखापरेको किसान बिनोद कार्किको अनुभव छ ।
गुणस्तरीय उत्पादनका लागि बगैंचा सुधार, मल, पानी कतिखेर कसरी राख्ने जस्ता सवालमा दक्ष प्राबिधिकको अभावले पनि किसानले भोग्दै आएका छन् । पतेरोे र बादरको समस्याबाट पनि किसानहरु आजित छन् । बादरले गर्दा कतिपय किसान राम्रोगरी सुन्तला नपाक्दै हटाउन आतुर छन् । जसका कारण उनीहरुले मूल्य पाउन सकिरहेका छैनन् । यो समस्या पश्चिम पाल्पामा मात्र हैन अन्य जिल्लामा पनि छ ।
रैनादेवी छहरा मुझुङ्ग ५ का वडा अध्यक्ष हुमान सिह कार्कि गुणस्तरीय सुन्तलाको बजारको समस्या नरहेपनि सुन्तलाको पकेट क्षेत्रभएर पनि किसान प्राबिधिक समस्या भोगिरहेका मात्र छैनन् किसानहरुले भोग्न परेको ठूलो समस्या भनेकै ग्रीनीङ रोग हो भन्छन् ।
कृषि क्षेत्रलाई प्राथमिता आवश्यकः
सुन्तला खेती त एउटा उदाहरण मात्र हो । नेपालमा सम्भावना भएका कृषि पैदावार थुप्रै छन् । पछिल्लो समय लक डाउन र कोरोनाले गर्दा कृषिमा सम्भावना देख्ने र काम गर्नेको संख्या बढ्दो छ । तर नेपाल कृषिप्रधान देश भनिएपनि अहिलेसम्म कृषि शिक्षा अनिवार्य हुन सकेको छैन । हाम्रो शिक्षा अझै खास ब्यावसायिक ,सीपमुलक हुन सकेको छैन । नेपालमा कृषिको बिकासका लागि प्रसस्त आधार र सम्भावना भनि छ । धेरै ठाउँमा सडक संजाल पुगेकोले उत्पादित बस्तु बजार सम्म ल्याउन त्यति समस्या भनि छैन् ।
माटोमा बिकासको प्रसस्त आधार, सम्भावना र मूल्य हुदाहुदै पनि कृषिकर्मबाट जेनतेन गुजारामात्रै चलिरहेको अवस्था छ । यसरी गुजारा चल्ने किसानहरुको दुखदायी अवस्थाको अन्त्य गर्न अव बृहत मात्रामा आधुनिक तरिकाले कृषि कार्य गर्ने वातावरण राज्यले दिन सक्नु पर्दछ । सरकारले कृषि क्षेत्रको बिकासका लागि स्पष्ट योजना ल्याउन जरुरी छ । कृषि उत्पादनका आधारमा किसानले सहयोग, अनुदान, मूल्यक र बजारको ग्यारेन्टि पाउने वातावरण बनाउन जरुरी छ । अरुका गाई भैसी, फर्म, तरकारी ,बारी, फलफूल बगैचा देखाएर किसानका नाममा बिचौलीया र कर्मचारी मिलेर बजेटमा बदमासी गर्ने प्रबृत्तिको अन्य हुन पर्छ ।
खेतियोग्य जमिनलाई बाझो राख्न नपाउने नीति नियम कडाईका साथ लागु गर्न जरुरी छ । आयात निरुत्साहित र समृद्धिको कल्पना साकार पार्नका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी छ । कुरा सुन्तलाको मात्र होईन हरियो सागपातदेखि बिभिन्न तरकारी, आलु प्याज र खाद्यान्नको बढ्दो आयात भइरहेको र आर्थिक क्षेत्र जर्जर बनिरहेको यो अवस्थामा कृषि उत्पादन बढाउदै कृषिजन्य उद्योग स्थापनाको कार्यक्रममा सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।
हामी समृद्धिका कुरा गरिरहेका छौ तर समृद्धिको भरपर्दो आधारका रुपमा रहेको कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सकेका छैनौं यसप्रति सरकार र सम्बद्ध निकाय गम्भीर बन्न जरुरी छ । स्थानिय पालिकाहरुले पनि आफ्नो पालिकामा के कस्ता महत्वपूर्ण उत्पादन छन् र उद्योग स्थापना गर्न सम्भव छ छैन त्यसतर्फ पनि ध्यान दिएर अगाडी बढ्न त्यत्तिकै जरुरी छ ।
प्रतिक्रिया