ताजा अपडेट »

वस्तु व्यापारमा भाटभटेनीले बुझायो सर्वाधिक कर 

विहीबार, ०७ मंसिर २०८०, १० : ५१
30 Shares
विहीबार, ०७ मंसिर २०८०
30 Shares

काठमाडौं । सरकारले कर दिवसको अवसर पारेर विभिन्न १६ विधाका व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सर्वाधिक कर तिर्ने व्यक्ति तथा समूहलाई अर्थ मन्त्रालयले सम्मान गरेको हो ।अर्थमन्त्री डा.प्रकाशशरण महतले सम्मानित भएका व्यक्ति तथा संस्थालाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् । संस्थागततर्फ बढी आय नेपाल टेलिकमले तिरेको छ । वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केटले सर्वाधिक कर तिरेको भन्दै सरकारले सम्मान गरेको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई मन्त्री महतले सम्मान गरेका हुन् । व्यक्तिगत आयबाट धेरै कर तिर्ने उद्यमीमा विजयबहादुर शाह रहेका छन् । उनी हिमालय डिस्टिलरी लिमिटेडका अध्यक्ष हुन् ।त्यसैगरी वित्तीय संस्थाका तर्फबाट ग्लोबल आईएमई, रेमिट्यान्स कम्पनी आईएमईले पनि सर्वाधिक कर तिरेको छ । ग्लोबल बैंकका अध्यक्षसमेत रहेका चन्द्र ढकाललाई सरकारले सम्मान गरेको छ ।

उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पनि हुन् । सबैभन्दा बढी निर्यात गरेकोमा डाबर नेपाल, विशेष उद्योगबाट एसियन पेन्टस्, कृषिबाट ओबिस फुड्स, सहकारी तथा लघुवित्तबाट छिमेक लघुवित्त संस्था, विमा व्यवसायमा लाईफ इन्स्यारेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षामा नेपाल नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायमा मनकामना दर्शनले सर्वाधिक कर तिरेको छ ।

मध्यम स्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोसी पावर कम्पनीलाई सम्मान गरेको छ । निरन्तर पाँच वर्षदेखि सर्वाधिक कर तिर्ने र यस वर्ष पनि अन्तःशुल्क, मूल्य अभिवृद्धि र आय कर तिर्ने सूचीमा गरेर दुई विधामा सूर्य नेपाललाई सम्मान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।